एक्लै उम्मेदवार सिफारिश हुने महिला आठ मात्रै
आगामी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबाट आठ जना महिला मात्रै सर्वसम्मत सिफारिशमा परेका छन्।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला राजनीतिक दलहरूले उम्मेदवार छनोट कार्यलाई तीव्रता दिएका छन्। तर, प्रत्यक्ष सिफारिश हुने महिलाको संख्या भने न्यून छ।
देशभरबाट सबै राजनीतिक दलका प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक गरी २० हजारभन्दा बढी उम्मेदवार सिफारिश भएका छन्। यस पटक प्रमुख दलहरूले समानुपातिकमा कडाइ गरेका छन्।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)ले र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले समानुपातिकबाट यसअघि सांसदको सुविधा लिइसकेका व्यक्तिलाई नदोहोर्याउने निर्णय गरेको छ। जसका कारण यो निर्वाचनमा विगतमा समानुपातिकबाट सांसद भइसकेका नेताहरूले प्रत्यक्षमा रुचि देखाएका छन्।
ठूला दलहरूको यस्तो निर्णयले बहालवाला महिला सांसदलाई आगामी प्रतिनिधि सभामा प्रवेश पाउन कठिन हुने देखिएको छ। किनकि, प्रत्यक्ष निर्वाचनका लागि पनि नेत्रीहरूले अवसर पाउने सम्भावना न्यून देखिएको छ। त्यसो त प्रत्यक्ष निर्वाचनमा महिलालाई ५० प्रतिशत सीट छुट्याउनुपर्ने भनी महिला सांसदहरूले गत साउनमा संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव समेत दर्ता गरेका थिए। तर, त्यो प्रस्तावले आगामी निर्वाचनमा प्रभाव पार्ने सम्भावना छैन।
राजनीतिक दलहरूले उम्मेदवार सिफारिश गर्दा नै अत्यन्त न्यून संख्यामा मात्र महिला उम्मेदवारलाई प्रत्यक्षतर्फ सिफारिश गरेका छन्। एकल सिफारिश हुने महिलाको संख्या आठ मात्रै छ। जसमा कांग्रेसबाट दुई, एमाले र माओवादीबाट तीन-तीन जना छन्।
कांग्रेसमा मकवानपुर-२ बाट महालक्ष्मी उपाध्याय र कैलाली-५ बाट आरजु राणा देउवा सर्वसम्मत उम्मेदवार सिफारिश भएका छन्। एमालेमा सुनसरी-३ बाट भगवती चौधरी, धनुषा-३ बाट जुली महतो र डोल्पाबाट बदमीकुमारी बोहोरा एकल उम्मेदवार सिफारिश भएका छन्।
त्यस्तै, माओवादीमा कञ्चनपुर-१ बाट विना मगर, सुनसरी-२ बाट रामकुमारी चौधरी र रुपन्देही-१ बाट ओनसरी घर्तीको नाम सर्वसम्मत सिफारिश भएको छ। नेत्री घर्ती भने काठमाडौं-२ बाट पनि सिफारिशमा परेकी छन्।
अन्य निर्वाचन क्षेत्रबाट पनि महिला सिफारिशमा परेका छन्। तर, सिफारिश सूची हेर्दा औपचारिकताका लागि मात्र नाम पठाए जस्तो देखिएको छ।
यी हुन् प्रमुख तीन दलबाट सिफारिश महिला
ठूला दलले प्रत्यक्षतर्फ सकभर सर्वसम्मत र नभए बढीमा तीन जनाको नाम सिफारिश गर्न निर्देशन दिएका थिए। त्यसरी सिफारिश हुनेमा पनि महिलाको संख्या कमै रहेको छ।
कांग्रेसमा अर्घाखाँचीबाट पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, सिरहा-१ बाट चित्रलेखा यादव, काठमाडौं-३ बाट अम्बिका बस्नेत, महोत्तरी-२ बाट किरण यादव, मोरङ-२ बाट सुजाता कोइराला, बाँके-२ बाट किरण कोइराला, इलामबाट सुजाता परियार र बागलुङ-१ बाट चम्पादेवी खड्का सिफारिश भएका छन्।
त्यस्तै, धनुषा-२ बाट मुक्ताकुमारी यादव, झापा-२ बाट सरिता प्रसाईं, झापा-५ बाट महेन्द्रकुमारी सुब्बा, मोरङ-६ बाट डिला संग्रौला, काठमाडौं-२ बाट प्रतिमा गौतम, काठमाडौं-९ बाट नानु बास्तोला, सुनसरी-१ बाट लक्ष्मी खतिवडा, सुनसरी-१ बाट मिना सुब्बा, ललितपुर-२ बाट धना खतिवडा, सिन्धुली-२ बाट सुशीला थिङ, चितवन-३ बाट अञ्जली श्रेष्ठ, काठमाडौं-८ बाट सपना जोशी, कैलाली-१ बाट ईश्वरी न्यौपाने र बाँके-३ बाट आशा विक प्रत्यक्षतर्फ उम्मेदवार सिफारिश भएका छन्।
एमालेका दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, कञ्चनपुर–३ बाट निरु पाल, काभ्रे–१ बाट विन्दा पाण्डे र नवीना लामा, काठमाडौं–७ बाट इन्दिरा पन्त, कास्की–२ बाट विद्या भट्टराई, कास्की–३ बाट सीता गिरी वली, बागलुङ–१ बाट मनकुमारी केसी (मना) सिफारिश भएका छन्।
त्यस्तै, स्याङ्जा २ बाट पद्मा अर्याल, झापा २ बाट पवित्रा निरौला, दोलखाबाट रचना खड्का, उदयपुर–१ बाट मञ्जु चौधरी, खोटाङबाट उषाकला राई र बारा–३ बाट ज्वालाकुमारी साह उम्मेदवार सिफारिश भएका छन्।
माओवादीमा ललितपुर-३ बाट पम्फा भुसाल, रुकुम पूर्वबाट कमला रोका, झापा-४ बाट धर्मशिला चापागाईं, रोल्पाबाट जयपुरी घर्ती, काठमाडौं-२ र रुपन्देही-१ बाट ओनसरी घर्ती, काठमाडौं-१० बाट अञ्जना विशंखे, कञ्चनपुर-१ बाट वीना मगर, दाङ-२ बाट रेखा शर्मा, स्याङ्जा-१ बाट अमृता थापामगर, बाँके-२ बाट पूर्णकुमारी सुवेदी, डोल्पाबाट सत्या पहाडी र मनाङबाट यशोदा गुरुङ सुवेदीको नाम प्रत्यक्षतर्फ सिफारिश भएको छ।
गठबन्धनको मारमा महिला
प्रत्यक्षमा एकल सिफारिश भएका बाहेक केही क्षेत्रमा महिलाले दाबी गरेको भए पनि गठबन्धनका कारण अधिकांशले टिकट पाउने सम्भावना कम छ। कतिपयले सिफारिश समेत नगरेको गुनासो गरेका छन्।
सांसद पार्वता डिसी चौधरी २०७० को निर्वाचनमा प्रत्यक्ष चुनाव जितेकी थिइन्। उनी २०७४ सालमा भने समानुपातिक सांसद बनेकी थिइन्। आगामी निर्वाचनका लागि दाङ-१ बाट उनको सिफारिश भएन। उम्मेदवार सिफारिश गर्ने बैठकमा आफूलाई खबर समेत नगरेको भन्दै उनले सामाजिक सञ्जाल मार्फत विरोध जनाइन्।
गठबन्धनका कारण आफूले टिकट पाउने सम्भावना नरहेपछि उनले संसद्को बैठकदेखि सामाजिक सञ्जालमा नेतृत्वको विरोध गर्दै आएकी छन्। “नेपाली कांग्रेसलाई बचाऔं । किन कुनै नेताहरू कांग्रेसले चुनावी अपवित्र गठबन्धन गर्न हुँदैन भनेर बोल्नु हुँदैन? माओवादी पार्टीलाई पनि काँग्रेससँगको चुनावी गठबन्धनले हित गर्दैन । कांग्रेसलाई त झनै गर्दैन,” उनी भन्छिन्। गठबन्धनका कारण उनको क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरीले टिकट पाउने पक्का जस्तै छ।
२०७० र २०७४ मा समानुपातिक सांसद बनेकी रेखा शर्मा पनि यस पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन्। उनको निर्वाचन क्षेत्र दाङ-२ बाट उनीसँगै माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सिफारिश भएको छ। यो क्षेत्रबाट अघिल्ला निर्वाचन महराले जित्दै आएका कारण यो पटक पनि उनले नै टिकट पाउने सम्भावना छ। तर, शर्मा भने आफूमा प्रत्यक्ष चुनाव लड्न चाहना भएको बताउँछिन्।
पूर्व सभामुख एवं माओवादी नेत्री ओनसरी घर्ती मगरको नाम रुपन्देही १ बाट एकल रूपमा सिफारिश भएको छ भने काठमाडौं २ बाट समेत सिफारिश भएको छ। माओवादीले काठमाडौं-२ बाट घर्ती सहित झक्कुप्रसाद सुवेदीको नाम पनि सिफारिश गरेको छ।
उनले यस पटक प्रत्यक्ष निर्वाचन लड्न चाहेको बताइन्। “काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीले मेरो नाम सिफारिश गरेको छ। यो क्षेत्रबाट अरू साथीहरूको नाम पनि सिफारिश भएको छ,” नेत्री घर्ती मगर भन्छिन्, “यो निर्वाचनमा मैले प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेकी छु। यो कुरा पार्टीमा राखिसकेकी छु।”
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ चैत २८ गते भएको पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् भएकी नेत्री घर्ती मगर २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा रोल्पा-२ बाट निर्वाचित भएकी थिइन्। २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक सांसद बनेकी उनले यो निर्वाचनमा भने प्रत्यक्षतर्फ लड्ने चाहना रहेको बताइन्। “पार्टीले जताबाट निर्णय गर्छ, म त्यहींबाट निर्वाचन लड्छु,” उनी भन्छिन्।
माओवादीबाट रोल्पा निर्वाचन क्षेत्रबाट सिफारिश भएकी जयपुरी घर्ती महिलाहरू प्रत्यक्ष निर्वाचन मार्फत राजनीतिमा आउनुपर्ने बताउँछिन्। प्रत्यक्ष निर्वाचन लड्ने चाहना अन्तर्गत रोल्पाबाट आफ्नो नाम सिफारिश भएको बताउँदै उनले यो निर्वाचन मार्फत विगतमा भन्दा धेरै महिलाहरू प्रत्यक्ष निर्वाचन लड्ने विश्वास गरिन्।
पहिलो पटक २०६४ सालको निर्वाचनमा रोल्पा-१ बाट निर्वाचित भएकी उनी २०६७ मा महिला बालबालिका मन्त्री समेत भएकी थिइन्। २०७० सालको निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेकी उनी त्यसपछि पुनः माओवादीमै फर्किएर २०७४ मा समानुपातिक सांसद बनेकी थिइन्।
रोल्पाबाट आफू सिफारिश भएको बताउँदै उनले पार्टीले गरेको निर्णयका आधारमा अगाडि बढ्ने बताइन्। “समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सांसदहरूलाई लिएर प्रश्न पनि उठेका छन्। समानुपातिकको अवमूल्यन हुने गरेका कारण हुन सक्छ; अहिले धेरै महिलाले प्रत्यक्ष निर्वाचनमा दाबी गर्नुभएको छ,” उनी भन्छिन्, “मलाई लाग्छ, यो निर्वाचनमा बढीभन्दा बढी महिला साथीहरू प्रत्यक्ष निर्वाचन लड्नुहुनेछ। गठबन्धनले त्यसमा ध्यान दिनेछ भन्ने विश्वास छ।”