बुद्ध शासन
बुद्ध र बौद्ध धर्म-दर्शनका सम्बन्धमा जति पनि अध्ययन, अनुसन्धान, चर्चा, पूजापाठ आदि भइरहेको छ, यसैलाई बुद्ध शासन भनिएको हो।
बौद्ध समाजमा ‘बुद्ध शासन’ को प्रायः चर्चा भइराख्छ। बुद्ध र बौद्ध धर्म-दर्शनका सन्दर्भमा यस्ता धेरै विषयवस्तु छन् जुन बौद्ध समाजलाई प्रिय, गम्भीर र संवेदनशील लाग्छ। ती अनेक विषयवस्तुमा ‘बुद्ध शासन’ पनि हो। गैरबौद्ध समाजमा खासै जानकारी नहुने र ध्यान पनि नजाने ‘बुद्ध शासन’ सम्बन्धी जानकारीको अभावमा कतिपय व्यक्तिहरू बौद्ध विषयक छलफलमा प्रवाहित हुन सक्दैनन्। यही ज्ञानको अभावमा कहिलेकाहीं अन्टसन्टको कुरा उठ्ने र चर्चाले ठाउँ पनि पाइराखेको हुन्छ।
‘बुद्ध शासन’ को अर्थ र मान्यता तथा यसको महत्त्व बुझ्नु धेरै हदसम्म बौद्ध धर्म-दर्शनसँग नजिकिनु हो। गौतम बुद्धको जन्म ई.पू ५६३ वैशाख पूर्णिमाका दिन लुम्बिनीमा भएको हो। उनले ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन बोधगयामा बुद्धत्वलाभ गरी बुद्ध बनेका हुन्।
बुद्धत्व प्राप्तिको तीन महीनापछि सारनाथको मृगदावनमा पहिलोपल्ट धर्म देशना गरेका थिए। पहिलोपल्टको यो धर्म देशना बौद्ध समाजमा ‘धर्मचक्रप्रवर्त्तन’ शब्दबाट जानिन्छ। धर्मचक्रप्रवर्त्तनपछि स्वभावतः एउटा समाज बन्यो जसलाई बौद्ध समाज भनियो। बौद्ध समाजलाई चतुपरिषद् पनि भनिन्छ। चतुपरिषद्को तात्पर्य भिक्षु, भिक्षुणी, उपासक र उपासिका रहेको संगठन हो। बुद्ध शासन लामो समयसम्म चलाउन चतुपरिषद्को भूमिका निर्धारण गरिएका छन्।
बुद्ध शासनको तात्पर्य गौतम बुद्धद्वारा उपदेशित शिक्षा वा नियम र त्यस अनुसारको जीवनयापन मात्रै होइन। बुद्धको तात्पर्य नै पनि गौतम बुद्ध मात्रै होइन। बुद्ध भनेर गौतम बुद्धभन्दा अघिका अन्य बुद्धलाई पनि बुझ्नुपर्छ। अतीत बुद्धका रूपमा चिनाइने ती असंख्य र अज्ञात बुद्धहरूले आआफ्नो समयमा उपदेश दिएर गएका थिए। ती उपदेशहरूको प्रभाव रहेसम्मको अवधिलाई तत्तत् बुद्धहरूको शासन भनेर चिन्ने र चिनाउने गरिन्छ।
बुद्धको तात्पर्य नै पनि गौतम बुद्ध मात्रै होइन। बुद्ध भनेर गौतम बुद्धभन्दा अघिका अन्य बुद्धलाई पनि बुझ्नुपर्छ।
अतीत बुद्धका ती कुराहरू भौतिक दृष्टिकोणबाट निकै पर र इतिहास अध्ययनको क्षेत्रभित्र पनि पर्दैन। ती अतीत बुद्धहरूको प्रसङ्ग गौतम बुद्धसँग मात्रै सम्बन्धित नभएर अभ्यासको उच्चतम तहमा पुगेका अन्य भिक्षु-भिक्षुणीहरूले पनि अवबोध गरेको कुरा बुद्धवंश, थेरगाथा र थेरीगाथा, जातक, अवदान लगायत बौद्ध साहित्यहरूमा पाइन्छ। सर्वसाधारण बौद्धले यसलाई आस्था, विश्वास, श्रद्धाभन्दा पनि अनुमानको आधारमा बुझ्ने हो।
बौद्धहरू दार्शनिक चिन्तनमै पनि प्रत्यक्ष र अनुमानलाई मात्र मान्दछन्। यस अनुसार‚ वर्तमान गौतम बुद्ध (ई.पू. ५६३-४८३)को शासन अन्तर्गत हो। उनको महापरिनिर्वाण भए पनि उनीद्वारा देसित धर्मको प्रभाव जीवित छ। बुद्ध स्वयंले ‘बुद्ध’ र ‘धर्म’ मा भेद नभएको भनेबाट धर्म भएकै कारण बुद्ध पनि जीवितै रहेको मान्ने गरिन्छ। महायानी बौद्ध धर्मले धर्मकायको कुरा गर्दछ। बुद्ध र बौद्ध धर्म-दर्शनका सम्बन्धमा जति पनि अध्ययन, अनुसन्धान, चर्चा, पूजापाठ आदि भइरहेको छ, यसैलाई बुद्ध शासन भनिएको हो।
एउटा बुद्ध शासनको वेला अर्को बुद्धले प्राधान्य पाउँदैन। फेरि ध्यानमा राख्नुपर्ने कुरा के हो भने सबै बुद्धले दिने उपदेश वा शिक्षा एउटै हुन्छ। एक बुद्धको शासन हुन्जेल अर्कोले बुद्धत्व प्राप्त गर्दैनन् पनि। यस अनुसार, आजभोलि आध्यात्मिक बजारमा हल्ला हुने गरे जस्तो फलाना धर्मगुरु बुद्ध हुन् वा ढिस्कानो व्यक्तिले बुद्धत्व प्राप्त गरी बुद्ध पुरुष बने भन्ने बौद्ध परम्परा अनुकूल छैन।
रामबहादुर बम्जनलाई बुद्ध भनेर जति चर्चामा ल्याइए पनि बौद्धहरूले त्यसमा ध्यान नदिनाको कारण पनि यही हो। यसअघि पनि रजनीश (ओशो) लगायत कतिपयले आफूलाई बुद्ध भनी घोषणा गरेको पाइन्छ। बुद्धको दाबी गर्नेहरू आफूलाई ‘मैत्रीय बुद्ध’ भनेर चिनाउन चाहन्छन्। अहिले तुषित भुवनमा रहेका मैत्रीय बोधिसत्व नै गौतम बुद्धको शासनपछि बुद्धत्वलाभ गरी ‘मैत्रीय बुद्ध’ हुने मान्यता बौद्ध समाजमा पाइन्छ। चर्चित दार्शनिक जे. कृष्णमूर्तिलाई थियोसोफिकल सोसाइटीले मैत्रीय बुद्धका रूपमा घोषणा गर्न तयार गरेकै अवस्थामा उनले आफू त्यस्तो केही पनि नभएको र साधारण व्यक्ति मात्रै रहेको भनी अस्वीकार गर्नुका साथै सोसाइटी नै परित्याग गरेका थिए।
आजभोलि आध्यात्मिक बजारमा हल्ला हुने गरे जस्तो फलाना धर्मगुरु बुद्ध हुन् वा ढिस्कानो व्यक्तिले बुद्धत्व प्राप्त गरी बुद्ध पुरुष बने भन्ने बौद्ध परम्परा अनुकूल छैन।
बुद्ध र बौद्ध धर्म-दर्शनबारे मान्छेहरू प्रायः अनभिज्ञ रहेको अवस्था भन्नु बुद्ध शासनको अभाव हुनु हो। बुद्ध र बौद्ध धर्म-दर्शनबारे पूरै गतिविधि चलिरहेको यस समयलाई गौतम बुद्धको शासन भनिन्छ। यिनै बुद्धले भने अनुसार संसारमा यो शासन पाँच हजार वर्षसम्म निर्बाध रूपमा चल्छ। यो शासनलाई अझ कति लम्ब्याउने भन्ने कुरा यसका अभ्यासीमा भर पर्दछ।
बौद्ध समाजमा नै पनि कतिपय आफ्नो गुरुको प्रशंसा गर्ने क्रममा दोस्रो बुद्ध भनेर विशेषण लगाउने गरेको पनि नपाइने होइन। कसैले आचार्य नागार्जुन (पहिलो शताब्दी)लाई दोस्रो बुद्ध भन्ने गरेका छन् भने कसैले आचार्य मैत्रयनाथ (पाँचौं शताब्दी)लाई। यसरी नै कसैले आचार्य पद्मसम्भव (आठौं शताब्दी)लाई त कसैले आचार्य अतीश दीपंकर श्रीज्ञान (एघारौं शताब्दी)लाई दोस्रो बुद्ध भनेको पाइन्छ। आआफ्ना गुरुसँग प्रभावित भएर वा प्रशंसा गर्ने क्रममा हिजोआज नै पनि शिष्यहरूले यसरी दोस्रो बुद्ध भन्नु बेग्लै हो। तर‚ यस्तो विशेषण शास्त्रसम्मत भने छैन। यसले कुनै अर्थ पनि राख्दैन। बौद्ध समाजमा दोस्रो बुद्ध भन्ने अवधारणा नै गलत र आपत्तिजनक छ।
भिक्षु-भिक्षुणीका लागि निर्दिष्ट मर्यादा र सीमा निर्धारित गरिएको हुन्छ। समाज सञ्चालनका लागि अनेक प्रकारका काम गर्नुपर्छ। यस्ता काममा प्रतिस्पर्धा पनि हुन्छ। गृहस्थहरूसँग प्रतिस्पर्धा गर्नु भिक्षु-भिक्षुणीको मर्यादित कर्म होइन। यही भएर गृहस्थले व्यापार व्यवसाय गर्ने र भिक्षु-भिक्षुणीलाई यथाशक्य दान गर्छन् भने भिक्षु-भिक्षुणीले पनि धर्मको अध्ययन तथा साधना गरी प्राप्त ज्ञान गृहस्थलाई दिन्छन्। बौद्ध समाजको परिकल्पना यही हो। तर‚ आजभोलि आधुनिक शिक्षा प्राप्तिका लागि भिक्षु-भिक्षुणी पनि गृहस्थहरूसँग विद्यालय तथा विश्वविद्यालयमा गई विद्याध्ययन गर्ने गर्छन्। यहाँ प्रतिस्पर्धा हुन्छ। विश्वविद्यालयमा अध्ययनपश्चात् गृहस्थहरू जस्तै रोजगारीका लागि गृहस्थहरूसँगै प्रतिस्पर्धा गर्नुले भिक्षुचर्यामाथि स्वतः संगीन प्रश्न उठ्छ। यस अवस्थामा भिक्षु-भिक्षुणीप्रति हुनुपर्ने श्रद्धाभावमा कमी आउनु स्वाभाविक हो।
भिक्षु-भिक्षुणी कुनै पनि गृहस्थ, समाज तथा राज्यको दूतक बन्नु हुँदैन। दुई गृहस्थ वा समाजको सम्बन्ध सधैं उस्तै प्रकारले सुमधुर रहेको हुँदैन र सम्बन्धमा खराबी आउँदा त्यसको भागीदार दूतक पनि पर्ने हुन्छ। यही भएर भिक्षु-भिक्षुणीले दूतकको भूमिका निर्वाह गर्नु हुँदैन।
बौद्ध समाजमा कतिपय आफ्नो गुरुको प्रशंसा गर्ने क्रममा दोस्रो बुद्ध भनेर विशेषण दिइन्छ। तर‚ बौद्ध समाजमा दोस्रो बुद्ध भन्ने अवधारणा नै गलत र आपत्तिजनक छ।
बौद्ध धर्ममा चार परिषद्को कुरा आउँछ। भिक्षु, भिक्षुणी, उपासक र उपासिका चार वर्गलाई चार परिषद् मानिन्छ। यो परिषद् बलियो हुनुको पर्याय बुद्ध शासन बलियो हुनु हो। बौद्ध समाजमा भिक्षु-भिक्षुणीले मात्रै शील सदाचार पालना गर्नुपर्छ, गृहस्थहरू मुक्त छन् भन्ने होइन। बौद्ध धर्म-दर्शनको मूल जग भनेको शील सदाचार हो र यसैको आधारमा अभ्यास र ज्ञान प्राप्ति हुन्छ जसलाई शील, समाधि र प्रज्ञा भनिन्छ। सामान्यतः सर्वसाधारणले पञ्चशील र भिक्षु-भिक्षुणीले दशशील पालना गर्नुपर्छ, तर यो न्यूनतम मात्रै हो, त्योभन्दा बढी जति सक्छ त्यति गर्नु राम्रो साधना हो।
स्वयं गौतम बुद्धले बुद्ध शासन के कति कारणले लामो समयसम्म टिक्छ र के कति कारणले यसमा ह्रास आउँछ भनेर उपदेश गरेका छन्। यही भएर बौद्धहरू बुद्ध शासनमा ह्रास आउने काममा संलग्न हुन हच्किन्छन्। यस्तो कर्मलाई पाप नै मान्छन्। बुद्ध शासनलाई सकभर लामो समय टिकाउने कार्यमा संलग्न हुनुलाई धर्म कार्य नै मान्दछन्। भिक्षुहरू कालान्तरमा घरगृहस्थ चलाउन पुग्ने तर भिक्षुभाव राखेर चीवरको नाममा शरीरमा सानो धागो मात्रै राखेर बसेको अवस्थामा पनि बुद्ध शासन रहेको मान्नुपर्ने बुद्ध वचन छ। चीवरको रङमा विविधता आउनुलाई पनि बुद्ध शासनको ह्रासको सङ्केत मानिन्छ। आजभोलि यो सङ्केत देख्न पाइन्छ।
बुद्ध शासनप्रति बौद्ध कति सरोकार राख्छन्, संवेदनशील हुन्छन् भन्ने कुराको एउटा दृष्टान्त काठमाडौं बाहिर कुनै एउटा बौद्ध कार्यक्रममा सहभागी हुनेहरूलाई बोकेर हुइँकिरहेका बसमा भएको घटना यहाँ सम्झना हुन्छ। त्यस बसमा म पनि सवार थिएँ। बसको अघिल्लो भाग अर्थात् ड्राइभर क्याबिनमा केही युवा भिक्षु, श्रामणेर, अनगारिका र युवा गृहस्थहरू बसेका थिए। चिया खान वा केही कारणले बीच बाटोमा बस रोकिंदा बाहिरै केही गण्यमान्यहरू बडो रहस्यमय वातावरणमा खासखुस गरिरहेका थिए। भएको के रहेछ भन्दा क्याबिनमा बसेकाहरू मायाप्रीतिजन्य रसरागका गीत गाउने तथा रमाउने उपक्रम चलेको रहेछ। विशेषतः दोहोरी गीत गाएर यात्रा गरिरहेका थिए। यो गृहस्थ युवायुवतीहरूबीच मात्र हुँदो हो त केही थिएन। तर‚ यसमा भिक्षुहरूको सहभागिताले अस्वाभाविक बनाइदिएको थियो।
बौद्ध समाजमा भिक्षुबाट नै शील लिनु र त्यसलाई पालना गर्नुलाई सुअवसरका रूपमा लिइन्छ। शील सदाचारका कुराहरू तिनै भिक्षुहरूबाट प्राप्त गर्ने गरिन्छ। यस्तो समाजमा क्याबिनभित्रको कुराले जोकसैलाई विचलित बनाउनु स्वाभाविक थियो। भिक्षुहरूलाई त्यसरी गीत गाएर रमाउने काम नगरिदिनुहुन अनुरोध गर्ने सल्लाह भयो। यस प्रकृतिका घटनाहरू स्वयं बुद्धकै समयमा पनि हुने गर्दथ्यो र भूल सुधार हुन्थ्यो।