औलोको नयाँ खोप तयार, वैज्ञानिक भन्छन्- क्रान्ति ल्याउनेछ
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले विकास गरेको मलेरिया (औलो)को खोपले ‘क्रान्ति ल्याउने’ अपेक्षा गरिएको छ।
अक्सफोर्डका वैज्ञानिकहरूले गरेको परीक्षणमा औलो विरुद्ध विकास गरिएको खोपको सफलता दर ८० प्रतिशतभन्दा बढी पाइएपछि अर्को वर्षदेखि खोप उपलब्ध गराउने तयारी भइरहेको छ।
योे खोप १० करोड डोज उत्पादन गर्ने सम्झौता भइसकेको छ। वैज्ञानिकहरूले खोपको मूल्य सस्तो हुने अपेक्षा गरेका छन्। ‘मलेरिया नो मोर’ नामक सामाजिक संस्थाले जनाए अनुसार वैज्ञानिकहरूले हासिल गरेका पछिल्ला उपलब्धिले तपाईं-हाम्रै जीवनकालमा औलो उन्मुलन हुन सक्नेछ।औलोको खोप विकास गर्न वैज्ञानिकहरूलाई झण्डै सय वर्ष लाग्यो।
यसै पनि लामखुट्टेबाट सर्ने औलोको ‘मायावी’ परजीवीको संरचना बुझ्न जटिल छ। शरीरभित्र औलोले कहाँ घात गर्छ भन्ने यकिन नहुँदा प्रतिरोध शक्ति बढाउने विधिको विकास गर्न वैज्ञानिकहरूलाई चुनौती थियो।
विश्व स्वास्थ्य संगठनले गत वर्ष मात्र पहिलो पटक औलोको खोप बनाउने योजनालाई अनुमोदन गरेको थियो। यो खोप बेलायती फर्मास्यूटिकल कम्पनी ग्लास्को-स्मिथ-क्लाइनले अफ्रिकी महादेशलाई लक्ष्य गरेर बनाउने योजना राखेको थियो।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप अझ प्रभावकारी हुने दाबी गरिएको छ। र, यसलाई एकै पटक ठूलो परिमाणमा उत्पादन गर्न सकिने पनि बताइएको छ। खोपको प्रभावकारितामाथि बुर्किनाफासोका ४०९ बालबालिकामाथि हालै भएको अध्ययन ल्यान्सेट जर्नलमा प्रकाशित भएपछि सम्बद्ध सबै उत्साहित भएका हुन्।
यो अध्ययनमा औलो विरुद्धका तीन वटा खोप र एक वर्षपछि बुस्टर डोज लगाउँदा औलो नियन्त्रणको सफलता दर ८० प्रतिशतभन्दा बढी भएको पाइएको थियो। “औलो नियन्त्रणबारे भएका अध्ययनहरूमा यो परिणाम अहिलेसम्मकै सुखद हो,” अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्यूटका प्राध्यापक एड्रिएन हिलले भने।
खोप टोलीले अबको केही सातामा खोपले स्वीकृत पाउने गरी काम अघि बढाएका छन्। तर, अन्तिम निर्णयका लागि चार हजार आठ सय बालबालिकामाथि भएको परीक्षणको परिणाम कुनुपर्नेछ, जुन परिणाम यस वर्षको अन्त्यसम्म आउनेछ।
विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी, भारतको सेरम इन्स्टिच्यूटले औलो नियन्त्रण गर्ने खोप वार्षिक १० करोड डोज उत्पादन गर्ने गरी काम थालिसकेको छ। ‘आर-२१’ नाम दिइएको खोप केही डलरमै बन्ने सम्भावना प्रोफेसर हिलको छ। “औलो जस्तो घातक रोग नियन्त्रण हुनेछ भन्ने हाम्रो अपेक्षा छ,” प्रोफेसर हिलले भने, “अर्को वर्षको अन्त्यसम्म जीवन बचाउने खोपका रूपमा औलोको खोप उपलब्ध हुने आशा गरौं।”
सयौं वर्षदेखि मानवीय विपत्ति गराउँदै आएको औलोले बालबालिका र नवजात शिशुको ज्यान लिने गरेको छ। पछिल्ला वर्षमा औलो न्यूनीकरण गर्न झुल, विषादी र औषधिको विकास भए पनि औलोकै कारण वर्षमा झण्डै चार लाख मानिसको असामयिक मृत्यु हुने गरेको छ।
प्रोफेसर केट इवरले औलो नियन्त्रणका लागि विकास गरेको यो १४औं खोप हो। औलोको जीवाणुको गतिशीलताका कारण खोपको विकास गर्न सहज थिएन। “यतिसम्मको उपलब्धि हासिल हुनु पनि धेरै नै आत्मसन्तोषको कुरा हो,” प्रोफेसर इवरले भनिन्, “खोपले औलो नियन्त्रणमा क्रान्ति ल्याउनेछ।”
खोप कति प्रभावकारी?
ग्लास्को-स्मिथ-क्लाइनले विकास गरेको खोप अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप जस्तै छ। दुवै खोपले औलोको जीवाणुलाई पहिलो चरणमै नियन्त्रण गर्नेछ। यसो हुँदा औलोको जीवाणुले कलेजोमा पुगेर शरीरभर असर गर्न पाउँदैन।
खोप नियन्त्रणमा औलो परजीवीको प्रोटिनको संयोजन गरिएको छ भने हेपाटाइटिस ‘बी’ भाइरसको रसायन पनि मिश्रण गरिएको छ। अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपमा औलोको प्रोटिनको मात्रा अधिक छ। प्रतिरक्षा प्रणालीलाई हेपाटाइटिस भन्दा पनि औलो नियन्त्रण गर्ने गरी खोपको विकास गरिएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन्।
ग्लास्को-स्मिथ-क्लाइनले बनाएको खोपको सफलताले गर्दा अक्सफोर्डको खोप पनि अर्को वर्षसम्म तयार हुने सम्भावना छ। ग्लास्को-स्मिथ-क्लाइन र अक्सफोर्डले बनाएको खोपको तुलना गर्न भने गाह्रो छ। ग्लास्को-स्मिथ-क्लाइनले औलोको सामाजिक प्रभावलाई अध्ययन गर्दै अघि बढेको छ भने अक्सफोर्ड विश्वविद्यालयको अध्ययन बुर्किनाफासोको औलोको उच्च चपेटाको वेलामा गरिएको हुँदा यसलाई पनि प्रभावकारी मानिएको छ।
इम्पेरियल कलेज लन्डनका महामारीजन्य संक्रामक रोगविज्ञ प्रोफेसर अजरा घानीले खोपको परीक्षण अध्ययनले सकारात्मक परिणाम देखाएको बताए। साथै, खोपका लागि पैसा लाग्ने भएकाले यसले असहज अवस्था आउने हो कि भन्ने उनको चिन्ता छ। “खोपका लागि लगानी जुट्न सकेन भने हालसम्म हासिल उपलब्धि गुम्ने हुन् कि भन्ने डर छ,” घानीले भने, “अर्कातर्फ औलो रोगको बढ्दो संख्याले जोखिम डरलाग्दो हुने देखाएको छ।”
सामाजिक संस्था ‘मलेरिया नो मोर’ का ग्रेथ जेन्किन्स भन्छन्, “अक्सफोर्ड विश्वविद्यालयको जेरन इन्स्टिच्यूटको खोपको सकारात्मक परिणामले के सङ्केत गरेको छ भने यदि सही सहयोग हुने हो भने औलोका कारण हुने बाल मृत्युदर शून्य हुनेछ। त्यो पनि तपाईं हाम्रै पालामा।”
(बीबीसीबाट महेश्वर आचार्यले गरेको भावानुवाद।)