जय नेपाल हलको आगन खोतल्दा भेटियो टुकुचा खोला (तस्वीरहरू)
काठमाडौंको हात्तीसारस्थित जय नेपाल हलको आगन खोतल्दा टुकुचा खोला भेटिएको छ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किने टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब छ। स्थानीय बासिन्दाले टुकुचा खोला मासेर संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकामा जानकारी दिएका थिए। उनीहरूले टुकुचा खोलामा बनेका संरचना हटाउन माग गरेका थिए।
त्यसपछि महानगरले गत साउन १२ गते सूचना प्रकाशित गरी टुकुचा खोलाको अतिक्रमण हटाउन अपील गरेको थियो। महानगरले यसका लागि ३५ दिनको म्याद दिएको थियो।
तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएपछि आज महानगरको टोली डोजर लिएर जय नेपाल हल क्षेत्रमा पुगेको हो।
महानगरले खोलाको बहाव क्षेत्र आकलन गरेर डोजरले खन्न लगाएको थियो। जय नेपाल हलको आगनमा केही फुट खन्दा खोला भेटिएको महानगरपालिकाले जनाएको छ।
अब महानगरले यो क्षेत्रमा खोला अतिक्रमण गरेर बनाएको संरचना हटाउने भएको छ। आजदेखि शुरू भएको काम जारी रहने महानगर प्रवक्ता नवीन मानन्धरले बताए।