‘अग्निपथ’बारे परराष्ट्रले भन्यो- अहिले थाँती राखिएको छ, तत्काल निर्णय हुँदैन
भारतीय सेनाको ‘अग्निपथ’ योजनाबारे नेपाल सरकारले तत्काल निर्णय नगर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय सेनाले ‘अग्निपथ’ मार्फत भर्ना योजना ल्याएको छ। भारत सरकारले नेपालबाट पनि ‘अग्निपथ’ मार्फत नै गोर्खा भर्ती गर्न खोजेको छ।
‘अग्निपथ’ अन्तर्गत भदौ ९ गते बुटवलमा र भदौ १६ गते धरानमा गोर्खा भर्ती गर्ने तय गरेको थियो। तर, नेपालले सरकारले यसलाई रोकेको छ।
नेपालले तत्कालन ‘अग्निपथ’ निर्णय नगरे नेपालीका लागि छुट्याएको सीट फिर्ता गरिने भारतीय सेनाध्यक्ष मनोज पाण्डेले बताएका थिए। उनले ‘अग्निपथ’ मार्फत नै नेपालीलाई पनि गोर्खामा भर्ती गरिने बताएका थिए।
बिहीबार परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा ‘अग्निपथ’बारे तत्काल निर्णय नहुने जनाएको छ। मन्त्रालयकी
प्रवक्ता सेवा लम्सालले भनिन्, “अलिपछि यसमा कुराकानी गर्ने गरेर तत्काल नेपाल सरकारले ‘होल्ड’मा राखेको अवस्था हो।”
सरकारले यस विषयमा छलफल अगाडि नबढाउन पनि मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ थियो। “अग्निपथबारे तत्काल निर्णय हुँदैन,” प्रवक्ता लम्सालले भनिन्, “नेपालको सरकारको म्यान्डेट पनि तत्काल यसमा छलफल अगाडि नबढाऔं भन्ने हो।”
उनले आगामी चुनावपछि आउने सरकारले यस विषयमा निर्णय गर्नसक्ने बताइन्। “अहिले थाँती राखिएको छ,” उनले भनिन्, “नयाँ सरकार आएपछि यस विषयमा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुरा आउला।”
अहिले यस विषयमा कुनै छलफल हुने अवस्था नरहेको उनको भनाइ छ। प्रवक्ता लम्सालले भनिन्, “कुनै निश्कर्षमा पुग्ने गरी, यो वा त्यो भन्ने गरी छलफल हुने अवस्था छैन।”
भारतले अग्निपथ योजना अन्तर्गत छनोट भएका युवालाई चार वर्ष काममा लगाउँछ। त्यसपछि २५ प्रतिशतलाई भारतीय सेनामा भर्ना गर्छ भने बाँकी ७५ प्रतिशतलाई केही रकम दिएर घर पठाउने व्यवस्था गरेको छ।
नेपालले भने यस विषयमा असहमति जनाएको छ। चार वर्ष अग्निपथमा बिताएर फर्किने युवाको भविष्यबारे सोच्नुपर्ने नेपालको भनाइ छ।