किरात: शब्द, वंश र बसाइँसराइ
मेसोपोटामिया-बेबिलोन सभ्यतामा विविध समयमा देखापरेका अहुर, सुमेरियाली, कासी र किरेतिते जातिहरू विभिन्न कारणले पूर्वतिर फैलँदै आउँदा यिनैबाट किरातको कासी (कास्सी) र लासा वंश तथा खुम्बू, लेप्चा, धिमाल आदि नयाँ जाति बनेको सङ्केत मिल्दछ।
वैदिक कालमा हिमालयको दक्षिणी पाखोमा रहेका सबैजसो गैरआर्य जातजातिलाई किरात भनिएको पाइन्छ (‘को हुन् किरात?’, हिमाल २०७८ फागुन)। हाल नेपालका पूर्वी पहाडी तथा भावर-तराई खण्ड र त्यसभन्दा पूर्वका देशमा रहेका, भोट-बर्मेली परिवारका आआफ्नै भाषा बोल्ने, मङ्गोल रूपाकृतिका खुम्बू, लिम्बू, याक्खा, धिमाल, सुनुवार, जिरेल, थामी, राजवंशी, मेचे, कोचे, हायू, लेप्चा लगायतलाई किरात मानिन्छ।
सम्भवतः गोपालराजवंशावलीमा किरातले पूर्वबाट आई नेपाल खाल्डोमा राज्य गरेको र हारेपछि पूर्वै लागेको उल्लेख भएकाले यो जाति हिमालयपारिबाट आई पूर्वबाट पश्चिम सरेको धारणा व्यापक देखिन्छ। यो वंशावली इसाको चौधौं शताब्दी (लगभग १३८९) मा मूलतः नेपालका राजवंशको प्रशस्तिका लागि लेखिएको हो भने किरातको बसाइँसराइ इसापूर्व वैदिक आर्यको आगमनभन्दा अगाडिको। थप त्यसमा, नेपालका वंशावलीहरूका सबै विवरण इतिहाससम्मत छैनन्, यसलाई निकै मथेर इतिहास पर्गेल्नुपर्छ भन्नाका लागि इतिहासले मान्न छोडेका वंशावलीका नानाविधि कुरा सबुद छन्।
प्राग्-इतिहासलाई बिन्दा किरातका प्रचलित दुई वंश पश्चिमबाट पूर्व सरेको र एक वंश उत्तरबाट आई थोरै पूर्वतिर आएको देखिन्छ। इमानसिं चेमजोङले किरात इतिहासमा किरातका कासी (मुनाफेन), लासा (खामबोङबा) र ताइस्यान वंशको सङ्केत गरेका छन् जुन हाल पनि प्रमुख किराती जातिमा पाइन्छ।
इमानसिं हिस्ट्री एन्ड कल्चर अफ किराती पिपलमा मोअबाइट भाषा (ताम्रयुग-ईपू ३३००-१२०० लगभग-देखि भूमध्यसागरको पूर्वी तट, मेसोपोटामिया, एशिया माइनर क्षेत्रमा बोलिने सेमाटिक भाषाको त्यति वेला अस्तित्वमा रहेको एक शाखा) मा किल्ला वा शहरको अर्थ दिने कर्यात, किर्जाथ वा किर्यातबाट किरात शब्द बनेको सङ्केत गर्छन्। संस्कृत स्रोतमा रहेका किरात शब्दको व्युत्पत्तिका अनेक अड्कलबारे त बहुजनलाई थाहै छ।
इमानसिंले भूमध्य सागरको भित्री मैदानका किरिआत-हिमे, कर्यात-यरिम, किर्जाथ-अर्बा किर्यात हुज्रो, किर्यात सान्ना, किर्यात सापहेर आदि शहरबासीले आफूलाई करेते भन्ने गरेको जो पछि करेतिते (करेथिते) कहलाइएको र हिब्रुहरूबाट पराजित भएपछि यायावरीय जीवन बिताउँदै लाखापाखा लाग्ने क्रममा एक शाखा ईपू २४०० तिर मेसोपोटामिया पुगी अहुरहरूसित मिसिएको कुरा पुरानो टेस्टामेन्ट र लियोनार्ड डब्लू. किङको हवाला दिएर लेखेका छन्।
इमानसिंको सङ्केत अनुसार, हिन्द-उपमहाद्वीप प्रवेश गरेपछि दक्षिण मैदानतिर गएकाहरूले गङ्गा किनारमा काशी राज्य खडा गरे र उत्तर हिमालय लागेकाहरू जङ्गल फाँडेर स्वराज खडा गरी पहाडै पहाड डोटी, प्यूठान हुँदै पूर्व इलामसम्म फैलिए।
केरेते जातिलाई बाइबलमा केरेथिते, खेरेथिते वा खेरेथिम (अंग्रेजी: खेरोथाइज) भनिएको पाइन्छ जसको अन्तिम उल्लेख सिरिया-इज्रायेलका राजा डेभिड (ईपू १०४९) को सेनाका लडाकु जातिका रूपमा पाइन्छ (इन्साइक्लोपेडिया अफ बाइबलः खेरेथिम, खेरिथते/मेलेतिते)। यिनीहरू मिली एक राज्य स्थापना गरे, उत्तरी इन्डिया बसाइँ जाने क्रममा निसा भन्ने ठाउँमा खाम्बोङ्बा वा खाम्बो कहलाइए। इमानसिंले यिनीहरूलाई निसा आइपुग्दा नै ‘किरात-अहुर’ सम्बोधन गरेको पाइन्छ।
अर्थात्, त्यतिखेरै यिनीहरूलाई किरात लगायत खाम्बोङ्बा वा खाम्बो भन्न थालिसकिएको थियो। निसा भन्ने ठाउँ हाल तुर्कमेनिस्तानमा पर्छ जुन प्रागैतिहासिक कालमा महाफारस (ग्रेटर पर्सिया) मा पर्दथ्यो। निसामा किरात र खाम्बो/खाम्बोङ्बा कहलाइएकाहरू एकै जाति वा नश्लका मानिस थिएनन्। ईपू दोस्रो सहस्राब्दीको उत्तरार्धअघि नै मेसोपोटामिया-बेबिलोनबाट अहुरहरू सिन्ध पुगिसकेको कुरा त सिन्ध सभ्यताको इतिहासले सकारेकै छ। अहुर, सुमेरियाली, कासी र किरेतिते मेसोपोटामिया-बेबिलोन सभ्यतामा विविध समयमा देखा परेका जाति हुन् जो विभिन्न कारणले अन्यत्र फैलने क्रममा पूर्व सिन्धतिर पनि बढे। यिनैबाट किरातको कासी (कास्सी) र लासा वंश तथा खुम्बू, लेप्चा, धिमाल आदि जाति बनेको देखिन्छ।
कासी वंशका सम्बन्धमा इमानसिंको सङ्केत ईपू १२औं शताब्दीमा बेबिलोनको राज्य गुमेपछि हिन्द-उपमहाद्वीपतिर लागेको कुनै सत्ताधारी हुद्दातर्पm छ (किरात इतिहास)। इतिहास खण्डित रहेको अवस्थामा सत्ताधारी जाति सत्ता गुमेपछि छड्केर आएको अनुमान गर्नु सहज भए तापनि बसाइँ सर्नाको कारण एउटै मात्र हुँदैन।
सत्तामा कुनै पनि जातिको सानो टुकडी, थर-घर वा समूह मात्र हुने गर्छ। तिनीहरू प्रायः सत्ता गुमेपछि अन्यत्र जान्छन्। तर, कुनै पनि सत्तावंश वा जातिका आम मानिस सत्तासीन हुँदैनन्। त्यस कारण कासीहरूले बेबिलोनमा शासन गरिरहेकै वेला वा त्यसअघि नै सत्तासित सरोकार नभएका उक्त जातिका मानिस नयाँ भाग्यको खोजीमा हिन्द-उपमहाद्वीप प्रवेश गरेनन् होला भन्न सकिन्न।
मेसोपोटामियाको इतिहास अनुसार, यहाँ उल्लिखित कासी हालको इरानको इलामस्थित जाग्रोस पहाडमा सर्वप्रथम देखा परेको त्यहाँका गैरआदिवासी अनेक समूहको संयुक्त नाम हो। अङ्ग्रेजीमा कास्साइट भनिने यिनीहरूलाई उतिवेला अक्कादहरूले सुस्सी, बेबिलोनियालीहरूले कास्सी र युनानीहरूले कोस्साएन भन्थे। ‘एन’ र ‘इट’ ल्याटिन मूलमा विशेषण जनाउने उपसर्ग भएकाले यस जातिजन्य नाम कास्सा, कास्सी, कोस्सा आदि रहेको र सिन्ध उपत्यका काटेर यता लाग्दा यिनीहरूलाई कासी/काशी भन्ने गरिएको बुझिन्छ।
यिनीहरूको टुकडी उत्तरी बेबिलोनमा ईपू १८औं शताब्दीमा देखा परिसकेको थियो। शुरूमा नयाँ ठाउँमा जीविकाका लागि अन्य शरणार्थीका साथ कृषि-श्रम र घोडापालन गरे पनि यो कृषक जाति थिएन। यिनीहरूले शुरूदेखि बेबिलोनी भूमिमा आँखा गाडेको प्रतीत हुन्छ किनभने त्यहाँ पटक पटक हमला गरे। श्रमबाट उचित फल, सम्भवतः पारिश्रमिक नपाएकाले यिनीहरू बेबिलोनी शासनबाट टाढिएर हिट्टेलीहरूसित नजिक भए।
शिव प्रागैतिहासिक कालदेखि यहाँका मानिसले मानेका अनार्य देव हुन्। दुःखको कुरा, आर्य देवतामा समाहित हुनुपूर्व अनार्य शिवको पूजन प्रणाली के थियो भन्ने अहिले अज्ञात छ।
हिट्टेलीहरूले बेबिलोनलाई लुटेर कमजोर बनाएपछि यिनीहरू बेबिलोनको सत्तामा आरूढ भए र ईपू १६औंदेखि १२औं शताब्दीसम्म शासन गरे। फारसी स्रोतमा बेबिलोनको राज्य गुमेपछि यी फेरि जाग्रोस क्षेत्रमा सक्रिय भए। ईपू पाँचौंदेखि प्रथम शताब्दीमा यी इरानको हामादान-केरमनशा-लुरिस्तान क्षेत्रमा राज्य गर्थे।
इमानसिंको सङ्केत अनुसार, हिन्द-उपमहाद्वीप प्रवेश गरेपछि दक्षिण मैदानतिर गएकाहरूले गङ्गा किनारमा काशी राज्य खडा गरे र उत्तर हिमालय लागेकाहरू जङ्गल फाँडेर स्वराज खडा गरी पहाडै पहाड डोटी, प्यूठान हुँदै पूर्व इलामसम्म फैलिए। तर, उनीहरू काश्मीर, सिमला, गढवाल, कुमाउँमा अडेनन्? यसबारे इमानसिंको स्पष्ट सङ्केत नभए पनि उनले जनाएका प्रसङ्गहरू त्यता किरात अडेका थिए भन्ने ऐतिहासिकताको विपरीत छैनन्। अहिले पनि इन्डियाका हिमाचल र उत्तराञ्चल राज्यका कतिपय पिछडिएका जाति किरात छन्।
कास्सी यता आउँदा पहिल्यैदेखि हिमालय पहाडमा जङ्गली जीवनयापन गरिरहेकासित खासै भीषण संघर्ष नभएको अनुमान हुन्छ। कास्सी आफैं मूलमा पहाडिया धनुर्धारी शिकारी जाति थियो। बेबिलोनमा राज गर्न नगएका जाग्रोस निवासी कोस्सायनहरूबारे भनिन्छ- ती जङ्गली जनावर र च्याउ, कटुस आदि जङ्गली उत्पादन मुख्य आहार भएका लडाकू-छापामार थिए (इन्साइक्लोपेडिया इरानिका, कोस्साएन)।
त्यस कारण कोस्सायन अर्थात् कास्साइट/कास्सीहरू हिमालय पहाडमा सम्भवतः नियोलेथिक कालदेखि बसिरहेका आदिम जातिसित मिल्दाजुल्दा थिए। कास्सी कृषक जाति नभए पनि मेसोपोटामियाको उर्वर भूमिमा कृषि लगायत विकसित सभ्यता देखेकाले यिनले वन फँडानी गरी पहाडमा अर्धजङ्गली ग्राम सभ्यताको विकास गर्दा घुमन्ते, खोरिया, पूर्व मन्सुनी आदि आफ्नै खाले कृषि प्रणाली पनि अवश्य विकास गरे। यिनीहरूको सीप कपडा बुनाइमा थियो (इन्साइक्लोपेडिया इरानिका, कास्साइट)।
इमानसिंले काशीवंशीहरूले गङ्गा किनारमा स्थापना गरेको भनेको काशीको कपडा बुद्धकालमा मिहिनपन र नरमपनका लागि उपल्लो कोटिको मानिन्थ्यो। यसबाट काशी कास्साइट अर्थात् कास्सीहरूले खडा गरेको कुरालाई टेवा पुग्छ। प्रागैतिहासिक काशीका जुलाहा जातिका महिला जहाँसुकैको कपडा बुनाइ कत्ति फरक नपर्ने गरी नकल गर्न सक्थे। यहाँका नानाखाले कपडा प्रसिद्ध थिए। सुती र रेसम कपडाका लागि पनि यो ठाउँ प्रसिद्ध थियो।
यहाँ सुन-चाँदीका सूतले पनि कपडा बुनिन्थ्यो जसलाई किन्का भनिन्थ्यो र विशेष तानमा बुनिन्थ्यो (राजकुमार, ‘लेदर-वर्कर्स एन्ड विभर्स अफ अर्ली पिरिएड’, इन्साइक्लोपेडिया अफ अनटचेबल्स् एन्सेन्ट, मिडिइभल एन्ड मोडर्न)। किन्का वर्तमानमा किन्काब नामले प्रसिद्ध छ। किन्का जस्तै खासा वा कोस्सा कपडाले पनि काशीको सम्बन्ध कास्सीसित भएको आभास दिन्छ। उक्त बुट्टेदार सुती कपडा इन्डियाको मुगलकालसम्मै निकै प्रसिद्ध थियो। काशीकट्टा भनिने लास छोप्ने निकै महँगो कपडा पनि यहाँ तयार हुन्थ्यो।
प्रसङ्गवश, बाराको गढीमाई मेलामा देवीलाई तान्त्रिक पञ्चबलि चढाएपछि काशीका राजाको भनी चढाइने राँगा बली डोम जातिको हुनु, नेवार जातिमा आपूmलाई किरात भन्ने एक वर्ग पोडे हुनु, जुलाहा जाति प्रायः अछूतमा पर्नु, गढीमाईका पुजारी थारू हुनु, थारूलाई किरात पनि भनिनु, बुद्धकालमा काशीको कालिगडी वाणिज्य गौरव भए पनि यससित सामरिक शक्ति शून्य हुनु, किराती कहलाएका नेवारको ज्यापू समुदाय र धिमालहरूमा आफ्नै विशेषताको पटासी र पटानी जस्ता विशेष कपडा हुनु, हायु किरात जुलाहा हुनु तथा लिम्बू र खुम्बूका अनेकानेक लोककथा तानबुनाइसित सम्बन्धित हुनु केवल काकताली मात्र हुन् त?
ताइस्यान र लासा वंश नेपाल आउँदा कासी किरातले पहिल्यै पूर्वी भेग आवाद गरिसकेको र नवागन्तुकहरूसित शुरूमा केही संघर्ष भए पनि छिटै बिहेबारी चलाई एकै वंश भएर बसेको सङ्केत उनको छ।
मुन्धुमी पुराकथामा सृष्टिकर्ता देव तागेरा निङ्वाफुमा माङको आदि देवीरूप युमा साम्माङ सुन र चाँदीका धागा कोसौं फिँजाएर तान बुन्थिन् र उनले त्यही सीप सृष्टिको आदिकालमा खेतीभन्दा पहिले याक्थुम्मा तरुनीहरूलाई सिकाइन्। देवीले बुनेकी हुँदा धागा सुन र चाँदीका भएका हुन् अथवा यो सीप पहाडमा विकास हुन नसकेर कथा बनेको हो? कदाचित् यी काकताली नभएर यिनमा वंशानुगत ऐतिहासिक सम्बन्ध छ कि भन्ने चस्का पस्छ।
बेबिलोनको इतिहासमा कास्सी पहाडबासी थिए। बेबिलोनको सत्तापछि उनीहरू जाग्रोस पहाडमै फर्के। यता हिन्द उपमहाद्वीपतिर चाहिं पहाड मन पराउने यिनीहरूको एक हाँगा काशी हुँदै श्रीलंकातिर लागेर जुलाहाका रूपमा त्यतैका अन्य जातिमा विलयन भए पनि पहाड खण्ड रोजी सिन्ध सभ्यताका देवता शिव-लिङ्ग सकार्दै भित्री हिमाल अर्थात् महाभारत पर्वतमाला पछ्याई पूर्व लम्कनेहरू किरात हुनामा गर्व गरिरहेका छन्।
उदाहरणार्थ- पहाडैपहाड कोशी तर्ने दुई किरातको बसाइँसराइको खाका फेला पर्छ। योगी नरहरिनाथले अनेक खसहरूको उद्गम कर्णाली क्षेत्र रहे जस्तै थामीको उद्गम कर्णालीको जुम्लाको अशीदरा दनुबा, तिला नदीको उत्तरपट्टिको थामी गाउँलाई सङ्केत गरेका छन् (बेन्नु: दोस्रो सामयिक सङ्कलन, २०२७ असोज)। थामी जातिको उत्पत्ति सम्बन्धी लोककथामा पनि उनीहरू सप्तगण्डकी तरेर काठमाडौंका थानकोट, थिमी, साँगा हुँदै हाल बसोबासको क्षेत्रमा पुगेको सङ्केत पाइन्छ (कविराज थामी, सयपत्री, पूर्णाङ्क २०, २०६२ वि.)।
धिमाल जाति आफूलाई कासीवंशी भन्छन् (तुलसी दिवस, धिमाल लोकधर्म र संस्कृति)। सोम धिमालले यस लेखकलाई धिमालहरू पहिला वागमती दुनको गोकर्ण वरपर बस्ने गरेको र पछि लडाइँमा हार्दैहार्दै पूर्व कोशी तरेर सुनसरी-झापा पुगेको कुरा बूढापाकाले सुनाउने गरेको बताएका छन्।
महाफारसमै खाम्बोङ्बा वा खाम्बो कहलाइसकेकाहरू हिमालयको उत्तरबाट अझ् पूर्व सर्ने क्रममा खाँटी खाम्बो भए जसको विस्तार तिब्बततिर भयो। हिमालयको दक्षिण महाभारत पछ्याएर पूर्व लाग्नेहरूमध्येका केहीले आफूलाई खुम्बू भन्न रुचाए होलान्। खुम्बू (राई) किरातमा आफूलाई शिवमार्गी मान्नेहरूको कमी छैन। शिव प्रागैतिहासिक कालदेखि यहाँका मानिसले मानेका अनार्य देव हुन्। दुःखको कुरा, आर्य देवतामा समाहित हुनुपूर्व शुद्ध अनार्य शिवको पूजन प्रणाली के थियो, अहिले अज्ञात छ। अनार्य शिव-पद्धति किरातपछि खस सभ्यताको विस्तार हुँदा त्यसमा समाहित भएको देखिन्छ।
किरात खस सभ्यतामा मिसिएकाले प्रागैतिहासिक कालमै कोशी पश्चिममा किरात जातिको लोप भयो।
मष्टोपूजनमै शिवगणको प्रवेश पाइन्छ। किरात खस सभ्यतामा मिसिएकाले प्रागैतिहासिक कालमै कोशी पश्चिममा किरात जातिको लोप भयो। खस सभ्यता आर्य संस्कृतिको प्रभावमा परेपछि यस क्षेत्रमा किरात संस्कृतिको झन् निशाना रहेन।
यसै सन्दर्भमा संस्कृत पुराण साहित्यले कौशिक ऋषिसित साइनो जोड्ने गरेको ‘कोशी’ नदीको नाम भोटबर्मेली भाषाका ‘डी’, ‘सी’ आदि पानीजन्य शब्दसँग पनि मिल्ने भएकाले त्यस क्षेत्रमा सर्वप्रथम फँडानी गरेर आवादी गर्ने कासी वंशी किरातको बसाइ क्षेत्र जनिने गरी रहन गएको दरिलो आभास समेत हुन्छ। वर्तमानमा कोशीदेखि नै किरात क्षेत्र खुम्बुवान शुरू हुन्छ, यही सीमा सङ्केतक हो। कासी वंशीहरूको दूर-अतीतको एक नाम कोस्सा पनि थियो भन्ने कुरा यहाँनिर बिर्सनुहुन्न।
किरेथिते (खेरेथिते, खेरोथाइज) र कास्सी (कास्साइट) दुवैले चर्चेको भूगोल एकै छ, समय केही फरक। कास्सी, कोस्सा, सुस्सीहरू मेसोपोटामियाली-बेबिलोनियाली ऐतिहासिक क्षेत्रको उत्खननमा विभिन्न स्थानमा पाइएका, किलाक्षरी लिपिमा माटाका संरचनामा लेखिएका स्थानभेदजन्य एकै जातिका विविध नाम हुन् भने किरिथिते चाहिं कास्सीहरूको पतनपछि हिब्रुकालमा यसै क्षेत्रका मानिएका जातिका रूपमा पुरानो टेस्टामेन्टमा थोरै स्थानमा चर्चा भएको समूह हो।
कास्सी र किरियात (किरेथिते) एकै जाति वा समूह भए वा नभए पनि कास्सीहरूले फारसको इलामबाट आई बेबिलोनमा राज गरेको समयमा बेबिलोन नगरको नाम ‘कर-डुनैस’ राखेबाट यस क्षेत्रका शहर वा नगरका नाम किरेथिते, किरिते, किर्यात आदि हुने क्रमको सङ्केत मिल्छ। अहिलेसम्म इज्रायेलमा किजार्थ-हिजर्फ, किर्यात-सेफर, किरिआथ-जहारिम आदि नामका अनेक शहर छन्।
लासा वंश प्राचीनतम सौमर वंशको एक हाँगो हो। सौमरबाटै कोच, पल्लव, यौवन, पुलिन्द आदि छुट्टिएको सङ्केत पनि पाइन्छ, तर दक्षिणी मैदानमा फैलेकाहरू अहिले किरातमा दरिँदैनन्। इमानसिंको सङ्केत अनुसार, कामरूप (आसाम) मा धेरै पहिलेदेखि राज गरिरहेका सौमरवंशी किरातहरू महाभारतकालभन्दा अघि कारणवश सो ठाउँ त्यागेर तिब्बतको खाम प्रदेश पुगी पछि ताप्लिजोङ (ताप्लेजुङ) आएर त्यहाँका कासीवंशी किरातसित शुरूमा द्वन्द्व गरी पछि मिलेर बसे र आफूलाई लासा वंशी भने (किरात इतिहास)।
तिब्बतमा बौद्ध धर्मको प्रचारपछि यता आएका मानिस पनि लासा वंशमै सामेल भएको बुझिन्छ।
यिनीहरू ज्यादै पश्चिम लाग्नुभन्दा पूर्वी नेपाल र त्यसभन्दा पूर्वी सेरोफेरोमै छरिएका देखिन्छन्। लासा वंशको उत्पत्ति उत्तर-वैदिक कालतिर भए जस्तो देखिन्छ। इमानसिंले यही वंशका राजा उबाहाङले प्रजालाई ऋग्वेद पढाएका र उनका छोरा माबोहाङले प्रजालाई युमा (यासोकेनी) धर्म सिकाएको उल्लेख गरेका छन्।
लासा वंशीको पुर्खा महाभारतकालअघि नै तिब्बत गएको र पुस्तौंपछि फर्केर नेपाल आई ऋग्वेद सिकाएको प्रसङ्गले यो घटना अघिल्लो वैदिक कालभन्दा पछिको बुझिन्छ। अतः स्वामी प्रपन्नाचार्य प्रभृति विद्वान्ले किरात वैदिक हुन् भन्नुमा ऋग्वेद पढेका लासा वंशी किरातलाई आधार मानेको प्रतीत हुन्छ। ऋग्वेद पढाउने राजाका छोराले युमा धर्म सिकाए भनिएबाट ‘हाम्रो धर्म त युमा पो हो, वेद होइन’ भन्ने चेतना आएको अनुमान हुन्छ। तिब्बतको पुरानो बोन धर्मबाट प्रभावित युमा धर्म माथि उल्लिखित लोककथाकी युमा साम्माङ देवीलाई मूल देवी मान्ने मुन्धुम धर्म हो।
तिब्बतमा बौद्ध धर्मको प्रचारपछि यता आएका मानिस पनि लासा वंशमै सामेल भएको बुझिन्छ। इमानसिंले माबोहाङको पाँच पुस्तापछि मुदाहाङ राजाको पालामा तिब्बतको चाङ प्रदेशबाट काटक लामाको नेतृत्वमा अरुण नदी किनारबाट दक्षिण झरी तामाकोशी, सुनकोशी, टिस्टा नदी क्षेत्र लगायत सिक्किम र भुटानतिर फैलेको चर्चा गरेका छन्। ‘काटक लामा’ नामले गर्दा यो समूह इसाको आठौं शताब्दीपछिको देखिन्छ।
सौमर किरातबारे इमानसिंले सर जोन हाम्मेर्टनको हवाला दिएर भनेका परसिया खाडी उत्तरको सम्म भूमिमा बसेका, नदीमा बाँध बाँधी खेती गर्ने, मङ्गोलवंशी, आआफ्ना सहरका एक-एक राजा हुने, आपसमा झगडा गरी बस्ने, ठूल्ठूला ढुङ्गामा ऐन-कानून लेखेर राख्ने, लडाइँका मिलापत्र ढुङ्गामा लेखी दुई गाउँबीच राख्ने इत्यादि कुरा मेसोपोटामिया सभ्यता बसाल्ने सुमेरियाली-अहुरियालीहरूसित हुबहु मिल्छ। अतः सुमेरियालीबाट सौमर वंश बनेको देखिन्छ।
यसरी कासी र सौमर मिसिएर सिन्ध क्षेत्र अथवा हिन्द उपमहाद्वीपमा किरात जाति बन्यो र सौमर वंश कासीभन्दा भिन्न कृषिकर्ममा रुचि राख्ने सुमेरियाली-अहुरियाली सन्तति भएकाले यिनीहरू बाह्य हिमाल अर्थात् शिवालिक पर्वतमाला वरपरका समथर मलिला दुन र फेदी मैदान पछ्याई पूर्व बढे, नेपालका तराई र भित्री मधेश क्षेत्र हुँदै इन्डियाको आसामसम्म पुगे। यिनीहरू त्यस इलाकाबाट दक्षिणतिर पनि लागेका देखिन्छन् जो शायद किरात नाममा रहेनन्।
ताइस्यानका सम्बन्धमा इमानसिंले चिनियाँ इतिहासको हवाला दिँदै ईपू २६९८ मा चीनमा राज्य स्थापना गर्ने जातिको एक पराक्रमीले ईपू २२०० मा खडा गरेको ताइचाउ वंश छरिने क्रममा पश्चिम जानेले उत्तरी बर्मामा स्थापना गरेको ताइस्यान वंशको वृद्धिका कारण एक हाँगो आसाम गई त्यहाँबाट ७०० प्रजा सहित पश्चिम मुङमोरङबा (हालको मोरङ) हुँदै उत्तर चैनपुर र इलाम पुग्यो भनी उल्लेख गरेका छन्। ताइस्यान र लासा वंश नेपाल आउँदा कासी किरातले पहिल्यै पूर्वी भेग आवाद गरिसकेको र नवागन्तुकहरूसित शुरूमा केही संघर्ष भए पनि छिटै बिहेबारी चलाई एकै वंश भएर बसेको सङ्केत उनको छ।
ताइस्यान वंश चीनबाट ब्रह्मपुत्रको गल्छी पछ्याई दक्षिण झरेको धारणा व्यापक भए पनि वास्तवमा यो हिमालयभन्दा पूर्वको तिब्बती पठारमा रहेको हेङडुआन हिमपर्वत-समूह पार गरी उत्तर-पश्चिमी बर्मा हुँदै ब्रह्मपुत्रको मालभूमिमा फैलेको मङ्गोल जाति हो जो पूर्व आई नेपाल पनि पस्यो। यिनीहरू यहाँ पहिले नै मौजुद कासी, लेप्चा आदि किरातसित मिसिए। लासा र ताइस्यान वंशी किरातहरूले मूलतः तिब्बतमा बौद्ध धर्म फैलनुअघि नै प्राकृत बोन धर्मको प्रभाव रहेको मुन्धुम धर्म आफूसँग ल्याए।
यो धर्म यस क्षेत्रमा पहिले नै स्थापित कासी, सौमर, खुम्बू, लेप्चा आदि किरातको पक्कै थिएन, किनभने सप्तकोशी पुग्न नसकेका, शिव-लिङ्ग सकारेका किरातहरू सुदूरातिसुदूरदेखि पूर्व सर्ने क्रममा अनेक सांस्कृतिक प्रभावमा विलयन भएको संरचना देखिन्छ। सप्तकोशीपूर्व पुगेकाहरूले चाहिं लासा र ताइस्यान वंशीको प्रभावमा आवाहविवाहका साथ सबै एकै जाति बन्दा मुन्धुम धर्म अपनाए।
किनभने, सुदूरातिसुदूर पश्चिमदेखि हिमालयको दक्षिणतिरको पहाडैपहाड पूर्व बसाइँ सर्ने क्रममा कासी, खुम्बू, लेप्चा आदि किरातले आफ्नो झाँक्रीवाद संस्कृति सँगाल्दै सप्तकोशी र त्यसपूर्व पुर्याएका थिए। सौमरले ब्रह्मपुत्रै पुर्याएर अझ् तिब्बती संस्कार पनि सँगाल्दै बोन प्रभावित युमा धर्म यहाँ ल्याइपुर्याए।
यी सबै किरातको हेङडुआन पर्वत छिचोली आएका चिनियाँ मङ्गोलसित पनि भेट भई आवाहविवाहका साथ घुलमिल भएपछि किरात जातिको बाहुल्य अझ् बढ्यो। उनीहरू वर्तमान मुन्धुमी संस्कृतिका साथ त्यहाँबाट अझ् पूर्व म्यानमार, थाइल्यान्ड, कम्बोडिया, मलेशिया आदि देशमा पनि नाना जात-थरमा फैलिए। यही कुरा प्रष्ट्याउने गरी मुन्धुम-पुराकथामा सृष्टिकर्ता तागेरा निङ्वाफुमा माङको स्त्रीरूप युमा साम्माङ आफूले मानव सृष्टि गरेको ठाउँ मुनातेम्बे (मुताम्बे, जाम्बिया?) मा आफ्नो सृष्टि खोज्दै चीन, तिब्बत हुँदै नेपालको तमोर आइपुगेको जानकारी मिल्छ।
(प्रधान लेखक एवं समालोचक हुन्। हिमालको २०७९ भदौ अंकबाट।)