‘मेरा कविता अध्ययन गरेर लेखिदिने सुधी समालोचक देखा परेनन्’
‘भद्रगोल किसिमले चलाइरहनुभन्दा प्रतिष्ठानहरूलाई खारेज नै गरिदिए पनि नेपाली कला र वाङ्मयको क्षेत्रलाई खासै फरक नपर्ला।’
कवि-समीक्षक हरि अधिकारीबारे बढाइचढाइ गर्नुपर्ने कुनै आवश्कता छैन। उनी जे छन्, स्पष्ट छन्।
एक समयका चर्चित कवि, अझ कठोर समीक्षक अधिकारी केही समयदेखि गुमनाम जस्तै छन्। लामो समय अमेरिका बसेर फर्किएका उनै कवि अधिकारीसँग हिमालखबरका लागि राजकुमार बानियाँले गरेको कुराकानी:
तपाईं अमेरिकाबाट फर्केको १० महीना नाघिसक्यो। तर, सार्वजनिक सभा-समारोहमा खासै देखिनुभएको छैन। गुमनामै हुन चाहनुभएको हो कि?
लुकेर, छेलिएरै बस्न चाहेको त होइन। केही वर्ष बाहिर बसेको हुनाले साथीहरूको सम्झनाको दायराबाट बाहिरिएको हुन सक्छु। म विदेशबाट फर्किएको कुरा पनि धेरैलाई थाहा नभएको हुन सक्छ। नेपाल टेलिकमले मेरो पुरानो फोन नम्बर अर्कैलाई दिइसकेकाले पनि मलाई निम्त्याउन चाहने साथीहरूले सम्पर्क गर्न नसकेका होलान्।
त्यसो त म काठमाडौंमा हुने साहित्यिक कार्यक्रममा नियमित रूपले उपस्थित हुने व्यक्ति पनि होइन। मेरा लागि त्यस्ता अधिकांश कार्यक्रम पट्यारलाग्दा हुन्छन्। भाँती नमिलेका पुस्तकहरूको विमोचन, ‘बार्टर सिस्टम’ मा बाँडिने पुरस्कार वितरण समारोहको तमासाले मलाई आकर्षित गर्दैनन्।
नेपाली वाङ्मयको एक दीर्घकालीन साधकका रूपमा मेरो कदर गरेर एकेडेमीमा लगेको भए राम्रै सन्देश जान्थ्यो होला सत्तासीनहरूका पक्षमा। त्यो भएन। अहिले म कमलादीको त्यो विशाल भवन बाहिरै रमाइरहेको छु।
अमेरिकाबाट फर्किएको केही दिनपछि नै मैले योजनाबद्ध किसिमले तीन वटा पुस्तक तयार गर्ने परियोजना शुरू गरेकाले फुटकर रचनाहरू त्यति कम्पोज गर्न सकेको छैन।
अब अमेरिका फर्कन्नँ भन्नुभएको रहेछ। तपाईंले त अमेरिकाको ग्रीनकार्ड नै लिएको र एनआरएनएद्वारा स्थापित दुई लाख राशिको ‘अरनिको पुरस्कार’ नै पाएको होइन र?
मैले अमेरिकामा बस्न र काम गर्न अनुमति दिने पीआर (ग्रीनकार्ड) लिएको हो। ग्रीनकार्डधारी नेपाली लेखकले विदेशी भूमिमै बसेर रचेका र वर्षभरिमा प्रकाशित पुस्तकलाई दिइने गैरआवासीय नेपाली संघ, भाषा साहित्य तथा सम्पदा समितिले राखेको अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको पहिलो संस्करण २०७७ पाएको पनि सही हो।
म अमेरिका हुँदै छापिएको मेरो सङ्कलित गद्यरचना पुस्तकलाई प्रतियोगितामा पठाउनुपर्छ भनेर जोड गर्ने शुभचिन्तकहरूले सो पुरस्कारको नियमावली अनुसार दुई वर्ष लगातार विदेशमा बसेको वा पीआर लिएर विदेशी मुलुकमा बसेको कुनै पनि नेपालीले लेखेको पुस्तक प्रतियोगितामा सामेल हुन सक्छ भनेकाले मैले हुन्छ त भनेको हुँ। यस बीचमा मैले अमेरिकी ग्रीनकार्ड त्याग गरिसकेको छु।
झण्डै चार वर्ष अमेरिकामा कामकाज विना बस्न तपाईंलाई गाह्रो भएन? रचनात्मक लाभ उठाउनुभयो कि?
शुरूको डेढ वर्ष जति अमेरिकी-नेपाली समुदायमा घुमफिर भेटघाट, एकल कविता वाचन आदि गरेर रमाइलैसँग बिताइयो। अमेरिकाका धेरै ठाउँमा हाम्रा इष्टमित्र रहेछन्, उनीहरूकहाँ पनि गइयो। बोस्टन, न्यू ह्याम्सर, न्यूयोर्क, भर्जिनिया, नर्थ क्यारोलाइना, कोलोर्याडो आदि राज्यमा बसोबास गर्ने नेपालीले साहित्यकारका रूपमा राम्रो स्वागत सत्कार गरे। तर, अमेरिकामा कोभिड-१९ को प्रकोप बढ्न थालेपछि मेरा दुर्दिन पनि शुरू भए जस्तो भयो।
छोराको अपार्टमेन्टको एउटा कोठामा कैदीको जस्तो जीवन बिताउन बाध्य भएको मैले आफूलाई डिप्रेशनमा जानबाट रोक्न, बहुलाउन नदिन र बाँचिरहन जुन मानसिक संघर्ष गर्नुपर्यो त्यो फगत अनुभवसिद्ध हुन सक्छ। म सिनेमाको, गीत-गजलको र पुस्तकको प्रेमी भएको खूब काम आयो त्यतिवेला। तिनै सुरुचिपूर्ण व्यसन र सिर्जनात्मक लेखनको हुटहुटीले मलाई त्यस गहिरो सङ्कटबाट बाहिर निकालेका हुन् भन्दा हुन्छ।
त्यही क्रममा भुटानी नेपालीको संघर्षबारे लेखेको छु। भुटानका नेपाली मूलका नागरिकमाथि त्यहाँको सत्ताले गरेको अन्यायप्रति म स्वभावत: संवेदनशील रहँदै आएको छु। भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा बसोबास गराएपछिको स्थितिमा मैले अमेरिका पुर्याइएका उनीहरूको समाजका अगुवा र वरिष्ठ सदस्यहरूसँग कुराकानी गरी हाम्रो समयमा घटित त्यो अति अप्रिय राजनीतिक दुर्घटनाको अभिलेख रहने गरी एउटा ग्रन्थ तयार गर्ने जमर्को गरें।
प्राज्ञिक क्षेत्रमा सत्तासीन नेताहरूका झोले, हुक्के, बैठके, चमर डोलाउने भृत्य र मुन्सीहरूको हालिमुहाली भएको धेरै वर्ष भयो।
त्यही सिलसिलामा भुटानीलाई बाक्लै संख्यामा बसोबास गराइएका अमेरिकी राज्यहरू ओहायो, पेन्सिल्भेनिया, जर्जिया, न्यू ह्याम्सर आदि विभिन्न शहरहरूमा गएँ। उनीहरूको स्नेहपूर्ण सहयोग प्राप्त भयो। अलि ढिलो भए पनि भुटानी नेपालीको संघर्षको कहानी भन्ने त्यो पुस्तक लगभग तयार भएको छ।
३० वर्षअघि नै तपाईंले केही अनुहार केही क्षणमा परशु प्रधानसित भन्नुभएको रहेछ, ‘नेपाली साहित्यमा कसैको पनि सही वा यथार्थ मूल्याङ्कन भएको छैन’ स्थिति त अहिले पनि त्यही छ, होइन?
मलाई अहिले पनि लाग्छ, त्यो बयान अर्थपूर्ण थियो र छ। तपाईंले भन्नुभए जस्तो आज पनि साहित्यको क्षेत्रमा काम गरिरहेका इमानदार सर्जकहरूको वस्तुपरक मूल्याङ्कन र कदर हुने स्थिति बनेको देखिंदैन, हाम्रो देशमा। म देखिरहेको छु- नेपालको राजकाज तीन-चार वटा राजनीतिक दलहरूको नियन्त्रणमा गएपछि त योग्यता, क्षमता र अनुभवको कदर हुने कुरा सपनातुल्य भएको छ। प्राज्ञिक क्षेत्रमा सत्तासीन नेताहरूका झोले, हुक्के, बैठके, चमर डोलाउने भृत्य र मुन्सीहरूको हालिमुहाली भएको धेरै वर्ष भयो।
पछिल्लो दशकमा साहित्यको जमानत जफत भएको स्थिति हो कि केही श्रीवृद्धि भएको भन्न सकिने स्थिति छ?
साहित्यको जमानत जफत नै त सम्भवत: कुनै कालखण्डमा पनि हुँदैन। हो, कुनै समयमा कुनै भाषाको साहित्यमा उत्कृष्ट सिर्जनाको खडेरी जस्तो देखिने र निम्न वा निम्न-मध्यम कोटिका सिर्जनाले वाहवाही लुटिरहेको हास्यास्पद स्थिति पैदा हुन सक्छ। त्यस्तो स्थिति धेरैजसो प्रायोजित किसिमले पैदा गरिन्छ।
नेपाली साहित्यको पछिल्लो दशकमा आएका अधिकांश कृतिले मलाई पाठकीय आनन्द दिन नसकेको पक्कै हो। तिनले साहित्यको श्रीवृद्धि गरेको भए कति गरे भन्ने कुराले भने गहिरो अनुसन्धानको माग गर्ने हुनाले म यसै भन्न सक्दिनँ।
तपाईं पाँच दशकसम्म अनवरत कविता आराधना गरिरहनुभएको छ। पाठकको रुचि बढाउने कविता लेखिरहनुभएको छ कि घटाउने? तपाईंको दोहोर्याएर पढिने कविता कति छन्? कवित्वलाई थाम्ने कविता कति छन्?
कविका रूपमा मैले २०२५ सालदेखि नै एउटा निश्चित स्तरलाई लगातार कायम गर्दै आएको छु। मलाई लाग्छ, म झुक्यानमा एउटा-दुइटा राम्रा कविता रचेको, बहुधा बिर्सिनयोग्य लेखोट तयार गरेको र प्रचारका भरमा टिकिरहेको कवि होइन। मेरा दोहोर्याएर पढिने कविताहरूबारे पाठकले मात्र भन्न सक्छन्।
विचारको मुखर हस्तक्षेपले कविता अलमलिएको, घाइते जस्तो देखिए पनि अन्तत: कविताले ‘सर्भाइभ’ गर्छ।
आजसम्म मैले लेखेका एक सयभन्दा बढी कवितामध्ये अलिक कमजोर जस्ता लाग्ने अत्यन्त थोरै मात्र छन् भन्ने कुरा भने म पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु। मेरो समस्या के हो भने मेरा कविताको अध्ययन अनुशीलन गरी लेखिदिने सुधी समालोचक कोही देखा परेका छैनन्।
अहिलेका कवितामा कविता छ कि राजनीति मात्रै? यति धेरै नारा, मुद्दा, आन्दोलन झेलेर कविता सकुशल रहन सक्छ?
कविताको बेइज्जत गर्नुपर्यो भने आन्दोलनमा लगेर हालिदिनुपर्छ। कविता ‘ओभर पोल्टिसाइज’ भयो। दलित, पहिचान लगायत सांस्कृतिक इस्यूमा कविता लेख्न त सकिएला, तर राजनीतिक मानिसले जस्तो बोलेपछि कविताको गरिमा घट्छ। यूट्युबर र कविमा फरक देखिंदैन।
विनोदविक्रम केसीको कविता र पुण्य प्रसाईंको यूट्युबको भाषा र भङ्गिमा एउटै भयो भने कविको बेइज्जत भयो नि। कवितामा राजनीतिको चास्नी बढी नै घोल्नेहरू धेरै छन् जस्तो लागेको मात्र हो। चूपचाप कवितालाई कविताकै रूपमा ‘ट्रीट’ गरेर मनोहारी कविता लेख्नेहरू पनि छन् नेपाली कविताको दुनियाँमा। विचारको मुखर हस्तक्षेपले कविता अलमलिएको, घाइते जस्तो देखिए पनि अन्तत: कविताले ‘सर्भाइभ’ गर्छ।
तपाईंले कुनै वेला ‘मै हुँ भन्ने लेखकहरूलाई उदाङ्गो बनाइदिएको छु’ भनेर अन्तर्वार्ता दिनुभएको थियो। यसकाे मतलब तपाईं कसैलाई उदाङ्गो बनाउनकै लागि लेख्नुहुन्छ?
मेरो त्यो बयान एउटा खास प्रश्नको उत्तर दिने क्रममा आएको थियो, जसलाई अलि बढी नै उत्साहका साथ बुझिएको जस्तो लागेको छ। म न कसैलाई उदाङ्गो बनाउन लेख्छु, न त कसैलाई नयाँ पोशाक पहिर्याइदिएर चिटिक्क पार्न नै। आलोचनामा मेरो सीमा कुनै पनि कृतिमा उभारमा आएको सम्बन्धित लेखकको गुण र दोषले खिच्ने रेखा मात्र हो।
कतिपय कवि-लेखक हरि अधिकारीले समीक्षा नगरिदेओस् भन्ने चाहन्छन्। तपाईंकहाँ समीक्षा गरिदेऊ भनेर कवि-लेखकहरू किन आउँदैनन्? आफूले लेखेका कुरामा कुनै ग्लानि वा आत्मभर्त्सना छ?
कतिपय कवि-लेखकले चाहने कुराबारे मलाई थाहा छैन। अनुमान गर्न सक्छु, उनीहरू हरि अधिकारीले प्रशंसा गरिदेओस् भन्ने चाहँदा हुन्। मैले नियमित रूपमा पुस्तक समीक्षा गरिरहेका समयमा मेरो कृतिबारे लेखिदिनोस् भनेर आउनेहरू थुप्रै थिए।
तपाईंलाई मकहाँ कवि-लेखकहरू आउँदैनन् जस्तो किन लागेको हो, भन्न सक्दिनँ। मलाई आफूले लेखेको कुनै एउटा टुक्रालाई लिएर पनि कहिल्यै ग्लानि भएको छैन। म पूरा सचेत भएर आत्मविश्वासका साथ लेख्ने व्यक्ति भएकाले ग्लानि वा आत्मभर्त्सनाको सवाल नै उठ्दैन।
“कुमार नगरकोटीजीको कथासंग्रह मोक्षान्त काठमाण्डु फिभर मुश्किलले ४०-५० कपी बिकेर थन्किरहेका वेलामा त्यस पुस्तकबारे तपाईंको कडा नकारात्मक समीक्षा आएपछि ‘हट केक’ झैं बिक्यो। दोस्रो संस्करणको तयारी गर्दै छु।”
कतिपयले तपाईंलाई आलोचनाको नाममा व्यक्तिगत आक्षेप लगाउने समीक्षक पनि ठान्छन्। आफ्ना नकारात्मक समीक्षाले पुस्तकको बजार बढेको जस्तो लाग्छ तपाईंलाई?
आलोचनाका नाममा व्यक्तिगत आक्षेप लगाउने समीक्षक भन्ने आरोप लगाउनु ममाथि अन्याय गर्नु हो जस्तो लाग्छ। म पुस्तक समीक्षा पुस्तकको परिधिभित्रै रहेर गर्छु। व्यक्तिगत आक्षेपलाई कुनै ठाउँ दिन्नँ। कतिपय फटाहाहरूले लेखेका आत्मकथा वा आत्मवृत्तान्त नाम दिइएका अर्धसत्य र झूटका पुलिन्दाहरूबारे लेख्दा भने उनीहरूको वास्तविक तस्वीर पनि देखाउनुपर्ने हुँदो रहेछ। त्यस्ता सन्दर्भहरूले मलाई व्यक्तिगत आक्षेप केन्द्रित भयो भन्नलाई केही ठाउँ दिएको हुनुपर्छ।
मैले जमेर शल्यक्रिया गरिदिएको पुस्तकप्रति मानवीय स्वभाव अनुसार पाठकहरूको उत्सुकता बढेका कारण पुस्तकको बिक्री बढेको र मैले गरेको नकारात्मक टिप्पणी झनै बिकेको ठानिएको होला। रत्न पुस्तकका गोविन्द श्रेष्ठले एक पटक मसँग भन्नुभएको कुरा कोट गर्न चाहन्छु, “कुमार नगरकोटीजीको कथासंग्रह मोक्षान्त काठमाण्डु फिभर मुश्किलले ४०-५० कपी बिकेर थन्किरहेका वेलामा त्यस पुस्तकबारे तपाईंको कडा नकारात्मक समीक्षा आएपछि ‘हट केक’ झैं बिक्यो। दोस्रो संस्करणको तयारी गर्दै छु।”
यसको सत्यापन गोविन्द श्रेष्ठजीबाट गराउन सकिन्छ।
‘हार्ड हिटिङ’ समीक्षाले तपाईंलाई ‘हाइलाइट’ पनि गराएको छ। तर, पछिल्लो समय त्यस्ता गर्जन सहितको आलोचना आउन छाडेका छन्। यसको छुट्टै किताब निकाल्न पनि जाँगर चलाउनुभएको छैन नि!
म सन् २०१७ को डिसेम्बरदेखि २०२१ को अगस्टसम्म देश बाहिर भएकाले पुस्तक समीक्षाको क्रम टुटेको हो, जुन अहिले पनि जोडिन सकेको छैन। पछिल्लो समयमा तीन वटा पुस्तक निर्माणको परियोजनामा व्यस्त छु। पुस्तक समीक्षा मात्र होइन, अरू विधाका फुटकर रचना पनि तयार गर्न पाएको छैन।
एक पटक तपाईंले भनेजस्तो चर्चित पुस्तक समीक्षाहरू सङ्कलन गरी पुस्तक निकाल्ने भन्ने सोच पनि आएको थियो मनमा। तर, त्यसलाई व्यवहारमा उतार्न सकिनँ।
समीक्षकको अधिकतम प्रयास कमजोर रचनाको प्रशंसा गर्ने पाठकीय जमातलाई बदल्नु हो। त्यसमा तपाईं कति सफल हुनुभएको छ?
यकिन गरेर भन्न सक्दिनँ। तर, पुस्तकप्रति पाठकको अभिरुचि बढाउनमा भने मेरो समीक्षाले सकारात्मक योगदान गरेको थियो भन्ने विश्वास गर्छु। पुस्तक समीक्षकका रूपमा मेरो दबदबा भएका समयमा एकथरी पाठकहरू मेरो समीक्षा पढेर अमुक पुस्तक किन्ने वा नकिन्ने निर्णय गर्ने गरेका छौं पनि भन्थे। मलाई खुशी पार्न मात्र भनेका हुन् कि!
नेपाली साहित्यमा लालची समालोचकको बिगबिगी छ। काम चलाउ रचनालाई प्रशंसा मात्र होइन, पुरस्कृत नै गर्ने चलन पनि छ। खासमा आलोचनाप्रतिको बुझाइ किन सङ्कीर्ण भएको हो? पाठकलाई खुशी बनाउने कि लेखकलाई? कि समीक्षक आफैं खुशी हुने हो?
तपाईंले आफ्नो प्रश्न मार्फत स्थापना गर्न खोज्नुभएको सङ्कथनप्रति मेरो पूर्ण समर्थन छ। नेपालमा असल आलोचना र समालोचना लगभग मरेको अवस्था छ अहिले। समीक्षाले कसैलाई पनि खुशी पार्ने होइन, समीक्ष्य कृतिको गहन अन्तर्दृष्टिका साथ विवेचना गरी त्यसको पठनीयतामा अभिवृद्धि गर्ने हो।
हरेक मानिसको जीवनमा खेद लाग्ने विषयहरू आएका हुन्छन्। मेरोमा पनि आएका छन्। तर, ती सम्झेर उल्लेख गर्नुपर्ने तहका छैनन्।
नेपाली साहित्य बजारमा आत्मकथाको पनि आतङ्क नै छ। जीवनमा कसैलाई नभनेको वा भन्न नसकेको लुकुवा कुरा भन्न सकेका कुनै किताब छन्?
प्राय: छैनन्। सयौं वन विनाशकारी फोहोरको डङ्गुरमा केही असाध्यै राम्रा आत्मसंस्मरणात्मक ग्रन्थ प्रकाशित छन् नेपाली भाषामा। ती थोरै पुस्तकहरूले त्यो विधाको लाज बचाइरहेका छन्। म नयाँ पुस्ताका नेपाली पाठकलाई हर्क गुरुङको मैले देखेको नेपाल, गणेशमान सिंहको मेरो कथाका पानाहरू भाग-१ र २, बीपी कोइरालाको आफ्नो कथा, आत्मवृत्तान्त, जेल जर्नल-१ र २, कुमारमणि आचार्य दीक्षितको फाटफुट सम्झना, तीर्थमान ज्यापूको मेरो जीवनको कथा, हिमालयशमशेरको सिर्जना र अनुभूति आदि पुस्तक पढ्न सुझाउँछु।
नेपाली गद्यमा लालित्य, भाव र भङ्गिमा हराउँदै गएको छ। नेपाली लेखकले भाषिक विशिष्टता, सौष्ठव र लालित्यको शान र मान राख्न सकेका छन्? अनि पत्रकारिताले साहित्यलाई मद्दत गर्छ कि घाटा लगाउँछ?
आज छापिने अधिकांश नेपाली गद्यरचना कमजोर हुने गरेको कुरा सही हो। यति भनिसकेपछि नेपाली लेखकहरू नेपाली भाषाको विशिष्टता, सौष्ठव र लालित्यको शान र मान राख्न असमर्थ बन्दै गएका छन् भनिरहनु परेन।
पत्रकारिताले साहित्यलाई मद्दत गर्छ कि घाटा लगाउँछ भन्ने कुरो पत्रकारिता समेत गर्ने पत्रकारको रचनात्मक सामर्थ्य र सीमामा भर पर्छ जस्तो लाग्छ। साहित्यमा स्थापित भइसकेपछि पत्रकारितामा आएर जमेको म आफूलाई भने यसले खासै नोक्सान पारेको जस्तो लाग्दैन।
तपाईंले लेख्नुभएको छ, ‘दुनियाँको नजरमा स्थापित हुने, प्रशंसा, आदर, सम्मान, पुरस्कार पाउने हिसाबले एकदमै पिछडिएको मानिसमध्ये पनि सबैभन्दा पिछडिएको हुँ। साथीहरूबाट के सिफारिश गराउने? उनीहरूको आफ्नै समस्या छ, पाए भने आफैं पुरस्कार थाप्छन्। मलाई किन दिलाउँछन् र?’ तपाईंलाई नै आफ्नो प्रचार गर्न नसकेर ओझेल परेको मान्ने हो भने ‘स्पटलाइट’ मा को छ?
मैले आफ्नाबारे भनेका कुरा शतप्रतिशत सही हुन्। आजका घडीमा पनि ती त्यत्तिकै ज्वलन्त छन् भन्ने मेरो मान्यता छ। अब स्पटलाइटमा को छ त भनेर पनि मैले नै खुलाउनुपर्ने कुरा नगर्नोस्! तपाईंले पनि त देखिरहनुभएकै छ।
तपाईंले कथा संग्रह रामलालको आकाश (२०४०) मा काका रामचन्द्र अधिकारी र प्रथम प्रेमिका सरोजा उदासलाई समर्पण गर्नुभएको छ। खासमा तपाईंले किन यस्तो विचित्र समर्पण गर्नुभयो? तपाईंको पहिलो प्रेम दुर्घटित भएको हो?
त्यो समर्पणमा कुनै विचित्रता छ जस्तो लाग्दैन। मेरो व्यक्तित्व निर्माणमा काका रामचन्द्र अधिकारीको ठूलो भूमिका भएकाले आफ्नो प्रथम कृति उहाँलाई समर्पण गरेको हुँ।
काकासँगै राखेर सरोजालाई पनि समर्पण गर्न शायद त्यति वेलाको युवाप्रेमी हरि अधिकारीको मनमा उठेको भावुकताको तरङ्गले उत्प्रेरित गरेको हुँदो हो। रामलालको आकाश छापिनुभन्दा सात-आठ वर्षअघि नै हाम्रो प्रेमसम्बन्ध टुटिसकेको थियो।
लेखकमा प्रत्युत्पन्नमति कति चाहिन्छ? आफ्नो जीवनमा तपाईंलाई खेद लाग्ने विषय के के छन्?
सामर्थ्यवान् लेखकको एउटा गुण प्रत्युत्पन्नमति हुनु पनि हो। प्रत्युत्पन्नमतिसँग जोडेर यो प्रश्न किन सोधेको हो, मैले बुझिनँ। मैले आफूलाई प्रहार गरिहाल्नुपर्ने स्थितिमा नपाएकाले हुन सक्छ। हरेक मानिसको जीवनमा खेद लाग्ने विषयहरू आएका हुन्छन्। मेरोमा पनि आएका छन्। तर, ती सम्झेर उल्लेख गर्नुपर्ने तहका छैनन्।
संसद्मा एक दिन, हरि अधिकारीका कविता र गार्मेन्टकी गायत्रीका कविता भनौं वा साठी वर्षपछि र संकलित गद्यरचनामा रचनाहरू दोहोरिनु तपाईंको कमजोरी भन्ने कि विशेषता मान्ने? हरेक पुस्तकमा पुरानै खुराक पस्कँदा पाठकलाई अन्याय भएन र? म झुक्किएको हुँ कि?
हरि अधिकारीका कविता संग्रहमा पृथक् कविताहरू छन्। गार्मेन्टकी गायत्रीमा मेरा कविताहरूको प्रतिनिधि सङ्कलन बनाउने सोचले पुराना कविताहरू पनि समेटिएका छन्। संकलित गद्यरचनामा ६० वर्षपछिबाट केही निबन्ध साभार गरिएका छन्। मैले लेख्ने गद्यको प्रामाणिक बान्की पाठक समक्ष राख्ने सोचले यस्तो भएको हो। सङ्कलित गद्यरचना मात्र पढ्ने अवसर पाउने पाठक त खुशी नै होलान् जस्तो लाग्छ।
बीपी कोइरालाप्रति तपाईंमा अतिरिक्त अनुराग छ। प्रत्येक वर्ष सामाजिक सञ्जालमा सरकारी जागीर भएका वेला साहित्यिक पत्रकार संघका तर्फबाट बीपी कोइरालाको सार्वजनिक अभिनन्दन गराएको लेखिरहनुहुन्छ। तर, बीपी कोइरालाको नामकै पुरस्कार दिएनन् नि तपाईंलाई?
यो प्रश्नमा अलिकति अतिरेक भयो है। मैले प्रत्येक वर्ष त्यस्तो पोस्ट गरे जस्तो लाग्दैन। त्यो राम्रो काम भएकै हुनाले मैले लेखिहाल्दा पनि गलत चाहिं हुँदैन। जहाँसम्म बीपीको नामको पुरस्कार मलाई नदिएको भन्ने सवाल छ, त्यसको जवाफ त्यो पुरस्कारको पेटीमाथि कुण्डली जमाएर बसेकाहरूले दिन सक्छन्।
मैले प्रजातन्त्रका पक्षमा काम गर्दा, बीपीको अभिनन्दन गर्दा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट भई सघाउँदा एक चुनदाम बराबर लाभको पनि गुञ्जायश थिएन। मैले त्यो सब अन्तरात्माको आवाज सुनेर स्वान्त: सुखाय गरेको थिएँ। त्यसैले पुरुषोत्तम बस्नेतहरूले बीपीको नामको पुरस्कार घोर प्रतिगामीहरूलाई दिंदा मन खिन्न त हुन्छ, तर चित्त दुख्दैन।
तपाईंले आफूलाई कुनै दल निकट अझ प्रजातन्त्रवादी लेखक-पत्रकारका रूपमा चिनाउँदै आउनुभएको छ। तर, नेपाल प्रज्ञा-प्रतिष्ठान वा सञ्चार माध्यममा नियुक्ति पाउनुभएन। अझै केही आशा छ कि?
मैले आफूलाई प्रजातन्त्रवादी लेखक भनेर चिनाउँदै आएको मात्र होइन, म हुँ नै त्यही। तर, एकेडेमी जाउँला, जागीर खाउँला भनेर म विद्यार्थी हुँदादेखि नै प्रजातन्त्रवादी भएको चाहिं होइन है। नेपाली वाङ्मयको एक दीर्घकालीन साधकका रूपमा मेरो कदर गरेर एकेडेमीमा लगेको भए राम्रै सन्देश जान्थ्यो होला सत्तासीनहरूका पक्षमा। त्यो भएन। अहिले म कमलादीको त्यो विशाल भवन बाहिरै रमाइरहेको छु।
अहिले तीन वटा प्रज्ञा-प्रतिष्ठान (नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) छन्। तपाईं हुनुपर्ने मान्छे २५ प्रतिशत नै छैन भनिरहनुभएको छ। त्यो सुध्रिने कुनै लक्षण देख्नुभएको छ? छानीछानी पार्टी कार्यकर्तालाई लैजाने संस्था कसरी प्रज्ञा-प्रतिष्ठान हुन्छ?
तीन वटै प्रज्ञा-प्रतिष्ठानमा योग्यतम व्यक्तिहरूलाई असल असल काम गराउने हो भने केही फरक पर्दैन। अहिले त लाजै मर्नु छ। यस्तै भद्रगोल किसिमले चलाइरहनुभन्दा यी प्रतिष्ठानहरूलाई खारेज नै गरिदिए पनि नेपाली कला र वाङ्मयको क्षेत्रलाई खासै फरक नपर्ला।
एउटा अनुमानित प्रश्न- तपाईं कवि नभएको भए के बन्नुहुन्थ्यो?
मैले बीएल पहिलो वर्ष पूरा गरी बीचमा नछोडेर पास गरेको र वकालत गर्न गएको भए म दह्रै वकिल हुन्थें जस्तो लाग्छ।