महाअभियोग समितिले बोलायो जबराले नाम लिएका न्यायाधीश र वकील
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीसँग प्रतिनिधि सभाको महाअभियोग सिफारिश समितिले छलफल गर्ने भएको छ।
बुधबार बिहान बसेको समितिको बैठकले सर्वोच्चका न्यायाधीश र कानून व्यवसायीसँग छलफल गर्ने निर्णय भएको समितिका सदस्य सचिव लक्ष्मी गौतमले बताए। उनका अनुसार, न्यायाधीश र कानून व्यवसायीलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय भएको छ।
महाअभियोग सिफारिश समितिले बयान लिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका विभिन्न न्यायाधीश र कानून व्यवसायीको पनि नाम लिएका थिए। जबराले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको नाम लिएका थिए।
त्यस्तै, जबराले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलको पनि नाम लिएका थिए। यसै गरी, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र अधिवक्ता ओमप्रकाश अर्याललाई पनि जबराले आरोप लगाएका थिए।
उनीहरू सबैलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय भएको महाअभियोग सिफारिश समितिका सदस्य सचिव गौतमले बताए। जबराले आरोप लगाएका राजनीतिक दलका नेताका विषयमा भने केही निर्णय भएको छैन। जबराले दलका नेताहरूलाई पनि विभिन्न आरोप लगाएका थिए।
सत्तारूढ गठबन्धनका ९८ सांसदले गत फागुन १ गते जबरा विरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्तासँगै जबरा निलम्बनमा छन्।
उनीमाथि महाअभियोग लगाउन प्रतिनिधि सभाले महाअभियोग सिफारिश समिति गठन गरेको छ। समितिले पाँच दिन लगाएर जबराको बयान लिइसकेको छ।