पक्राउ परेका कार्यकर्ता नभएको विप्लव समूहकाे दाबी
नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको भन्दै मोरङ प्रहरीले मंगलबार ५ थान बन्दुकसहित सार्वजनिक गरेका व्यक्ति आफ्नाे पार्टीका कार्यकर्ता नभएको सो नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दाबी गरेको छ ।
मोरङ कानेपोखरी ६ का सुदीप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्नो कार्यकर्ता नभएको विप्लव समूहले बुधबार विज्ञप्ति मार्फत जनाएको छ ।
मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारसहित सार्वजनिक गरेको थियो ।
विप्लव समूहका मोरङ सेक्रेटरी आभाषले विज्ञप्ति जारी गर्दै पक्राउ गरेका कंश र केन्द्रलाल धिमालले आफ्नो पार्टीको छवि धुमिल्याउने गरी विगतदेखि गतिविधि गरेको र उनीहरूसँगै जोडेर पार्टीका जिल्ला सदस्य अशोकलाई फसाएको जनाएका छन् ।
धिमालद्वयको विगतसँग जोडेर प्रहरीले पार्टीको छवि धमिल्याउने प्रयास गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेता र कार्यकर्तालाई जसरी पनि अपराधी करार गराउने नियत र विभिन्न प्रकारका अपराधीलाई पनि जबर्जस्ती पार्टीको कार्यकर्ता भएको सावित गर्न खोज्नु नेपाल प्रहरीको राजनीतिक प्रतिशोध भएको विज्ञप्तिमा आरोप लगाइएको छ ।
प्रहरीले भने पक्राउ परेका राई विप्लव समूहको जिल्ला जनपरिषद् प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको दाबी गरेको थियो ।
धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट र उर्लाबारीको सुनचाँदी पसल लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।