छोराको चौरासी पूजा गर्ने आमाको कथा
छोराको समेत ८४ पूजा गरेकी गुल्मीकी इन्द्रकुमारी सुवेदी भन्छिन्- आयु धेरै ल्याइए छ, दुःख पाइयो। बुढो भएर बाच्न दुःख हुँदोरहेछ।
लठ्ठीको सहारामा घरभित्रबाट निस्केकी वृद्धा पिँढीमा बसिन्। सुस्केरा हाल्दै बोलिन्, “दिन पनि कति ढिलो हो? बल्ल २ बज्यो होला के रे! हैन र बुहारी?”
घडीमा २ बजेर केही मिनेट मात्रै गएको थियो। परिवारका अनुसार उनी ११२ वर्षकी भइन्। उनको आँखाले काम गर्न छाडेको धेरै वर्ष भयो। यस्तै‚ कमै सुन्छिन्। उनले कसरी समय अनुमान गरी होलान्? वृद्धा बोलिन्, “यस्तरी नै दिन बितेको छ, घामको तातोको अनुमान गरेर भनेको नि।”
यी उनै वृद्धा हुन् जसले छोराको ८४ पूजा गरिदिएकी छन्। उनका पछिल्लो केही वर्ष यसरी अन्दाजकै भरमा बितिरहेका छन्। आँखा नदेखे पनि, कान कम सुने पनि गुल्मीको रूरूक्षेत्र गाउँपालिका-१, थोर्गा च्युरेककी इन्द्रकुमारी क्षत्री (सुवेदी) नित्यकर्म आफैं गर्न सक्छिन्। गत असार २९ गते छोरा धनबहादुर सुवेदीको ८४ पूजा गरिदिएकी उनी भन्छिन्, “छोराको ८४ पूजा गर्न पाए हुन्थ्यो सोच्थें, त्यो नि पूरा भयो।”
छोराको ८४ पूजा गर्ने आमाको उमेर कति होला? उनको नेपाली नागरिकताको प्रमाणपत्र अनुसार, ९४ वर्ष दुई महीना भयो। नागरिकतामा इन्द्रकुमारीको जन्म १९८५ असार १० गते भएको लेखिएको छ।
तर, उनी त्यो मान्न तयार छैनन्। किनकि, उनकै छोरा धनबहादुर ८३ वर्ष पाँच महीना पुगे। धार्मिक मान्यता अनुसार, एक हजार पूर्णचन्द्र देखेपछि चौरासी पूजा गरिन्छ। धनबहादुरको नागरिकतामा पनि जन्ममिति १९९५ चैत २ गते उल्लेख छ।
यसका आधारमा इन्द्रकुमारीले १० वर्ष नपुग्दै बच्चा जन्माएको देखिए पनि सत्य नभएको उनी बताउँछन्। उनकी बुहारी तुलसा सुवेदी नागरिकतामा उमेर घटाएको दाबी गर्छिन्। “आमा (सासू)को उमेर नागरिकता अनुसार त कम छ, तर आमाका साथीहरूले भनेको आधारमा हिसाब गर्दा ११२ वर्ष पुग्नुभयो,” तुलसा भन्छिन्।
इन्द्रकुमारीको नागरिकतामा उल्लेख भएअनुसार, ९४ वर्ष हुन्छ। तर, उनका छोरा ८४ वर्षमा टेकेका छन्। नागरिकतामा गलत उमेर लेखिदिँदा इन्द्रकुमारीले १० वर्षकै उमेरमा सन्तान जन्माएको कुरा मिल्दो नभएको उनकी बुहारी तुलसाको तर्क छ।
चिनजानका मान्छेलाई सोधखोज गरेर हिसाब गर्दा इन्द्रकुमारीलाई ११२ वर्ष पुगेको तुलसा बताउँछिन्। अहिले संसारमा सबैभन्दा धेरै उमेर भएका व्यक्ति फ्रान्सकी ल्युसिल र्यान्डन हुन्। उनी ११८ वर्षकी भइन्।
इन्द्रकुमारीलाई भने आफ्नो उमेर ठ्याक्कै थाहा छैन। उमेरबारे साथीसंगीले भनेको सम्झना छ। “डल्ली (संगी)सँग हिसाब गरेर यति वर्ष भएँ भनेपछि मेरो ८४ पूजा गरेको हो,” उनी भन्छिन्, “डल्लीले तिमी बिहान जन्मेकी हौ ठूली, म बेलुकाकी हुँ, हामी त ८४ पुगियो भनेकी थिइन्। अनि दुवैले पूजा गर्यौं। डल्ली त उहिल्यै बिती, म बाँचेकी छु।”
उमेरको अंक तल-माथि भए पनि छोराको ८४ पूजा गरेकी उनी राम्रैसँग बोलचाल गर्छिन्। नित्यकर्म गर्छिन्। टाठै छिन्। यतिका वर्ष आफ्नै बलबुतामा बाँच्नुको अनुभव कस्तो हुँदो हो? इन्द्रकुमारी भन्छिन्, “लेर आएको उमेर भोग्न परो के रे! आयु धेरै ल्याइए छ। दुःख पाइयो। बुढो भएर बाच्न दुःख हुँदो रहेछ। अब त आफ्नो जीउ स्याहार्न पनि नसक्ने भइसकियो। दुःख हुनी रैछ।”
परिवारजनका अनुसार उनलाई खानपिनमा समस्या छैन। बुढेसकालमा थलिएर ओछ्यानमा बस्नु परेको छैन। दिसा-पिसाब गर्न अरूको सहारा लिनु परेको छैन। “लठ्ठी टेकेर शौचालय जाने-आउने आफैं गर्नुहुन्छ, घरभित्र बाहिर गर्ने, आँगनमा बसेर घाम ताप्ने आफैं गर्नुहुन्छ,” धनबहादुर भन्छन्, “हामी घरका जहान र भेट्न आएका आफन्तसँग गफगाफ गर्नुहुन्छ। अलिकति कान सुन्नु हुन्न, अलि जोरले बोल्नुपर्छ।”
बिहान चामलको जाउलो र बेलुकामा दुधमा चोपेर रोटी खान्छिन्। आफैंले उब्जाएर खाएको खान्कीले नै यतिका वर्ष बाँचेको उनको बुझाइ छ। “बिहानदेखि रातिसम्म हात खाली नहुने गरी काम गर्ने र आफैंले उब्जाएको मात्र खाने गरेकाले बाँचियो होला,” उनी लख काट्छिन्।
अहिलेसम्म तन्दुरुस्त नै छिन्। कुनै रोगले गलाएको छैन। सानोछँदा भने बाथ रोगले सताएको थियो। त्यसको औषधि अहिलेसम्म पनि खाने गरेकी छन्। “आजभोलि एक-दुई दिन बिराएर ज्वरो आउँछ। कहिले दिनदिनै आउँछ,” उनी भन्छिन्, “दबाइ खाएपछि हराउँछ। फेरि आउँछ।”
मोहरको तीन पाथी मकै
एउटा युग नै बाँचिरहेकी इन्द्रकुमारीलाई अहिले पनि झल्को आउने भनेको उहिलेको काम र खानपिन नै हो। “ऊ वेलाका मानिस मेहनेतका साथ खेती गर्थे, उब्जाउँथे। सितिमिति किनेर कसैले खाँदैनथे, बरु अन्न बेच्थे,” उनी भन्छिन्, “अहिले त मकैसम्म दोहोरो कसैले खन्दैन, एकोहोरो (एकपल्ट) खनेपछि भयो।”
अहिले खानेकुरा किनेर खानुपर्दा उनलाई बिझाउँछ। “भए आफ्नो (खेतबारीमा) काम गर्नी, नभए अर्काको भए पनि गर्नी। बेसाएर भनेपछि खाँदै नखानी, सबै उब्जाएर खानी चलन थियो,” उनी भन्छिन्‚ “दिउँसोभर कामकाज गर्ने‚ आफ्नै बारीमा उब्जिएको अन्नपात खोन गरिन्थ्यो।”
अहिले खेत बाँझै राख्ने गरेकामा उनी चिन्तित छिन्। उहिल्यै बारीमा मकै छर्ने, कोदो रोप्ने, झिलंगे (मस्याङ) छर्ने, फापर छर्ने, खेतमा धानको साथमा मास लगाउने गरेर अन्न र दालको आवश्यकता आफ्नै खेतबारीबाट पूर्ति हुने गरेको उनी सुनाउँछिन्। “अहिले त मास पनि लाउन्नन्। खेत पनि रोप्दैनन्, बाँझै छन्। उतिखेर त बाँझो कतै रहन्नथ्यो, एउटा फोएटो (गह्रो) पनि,” इन्द्रकुमारी सम्झिन्छिन्।
उनका श्रीमान् पदमबहादुर भारतीय सेनामा जमदार थिए। उनले दुई वटा भैंसी पालेकी थिइन्। श्रीमान् पेन्सरमा आएपछि थप एकहल गोरू, गाई समेत नटुटाई पालेको उनी सुनाउँछिन्। अहिले अन्नपात पनि महँगो भएको उनको गुनासो छ। “एउटा मोहर (५० पैसा) को तीन पाथी मकै त मेरै हातले उब्जाएर बेचेकी हुँ। पछि मोहरको १२ माना भयो। हुँदा हुँदै पाथी भयो। अचेल त कति भयो कति,” इन्द्रकुमारी भन्छिन्।
उनको अर्को दुखेसो धर्मकर्ममा छ। उहिलेका मानिस धर्मकर्ममा धेरै विश्वास गर्ने गरेको उनी सुनाउँछिन्। “उतिवेला धर्मकर्म सबैले गर्थे। महीनैपिच्छे पूजा गर्थे,” उनी गुनासो गर्छिन्, “अहिले कसैले गर्दैन।”
बिहे गर्न जागिर होइन, सम्पत्ति
जन्म जस्तै बिहे भएको उमेर पनि इन्द्रकुमारीलाई याद छैन। सानैमा बिहे भएको भने सम्झना छ। विवाहको कथा भने रोचक छ। उनका श्रीमान भारतीय पल्टनका जागिरे थिए। बिदामा घर आएको बखत इन्द्रकुमारीलाई माग्न आएका थिए। “जागिर त थियो तर सम्पत्ति छैन भनेपछि बाबाले दिएनन्,” इन्द्रकुमारी सुनाउँछिन्, “बाबाले फिर्ता पठाइदिए।”
त्यतिवेला तीन वर्षमा पल्टनबाट छुट्टीमा आउँथे। तीन वर्षपछि फेरि उनी इन्द्रकुमारीलाई माग्न आए। “तीन वर्षपछि फेरि माग्न आएपछि केटाले छोड्ने भएन भनेर, सबैले सल्लाह गरेर दिएका हुन्,” उनी भन्छिन्।
बिहे गरेपछि तीन वर्ष इन्द्रकुमारी गाउँमै बसिन्। त्यसपछि भने श्रीमान्ले भारतको देहरादुन लगे, जहाँ उनी खटिएका थिए। देहरादुनको यात्रा भने झन् रमाइलो भयो। गुल्मीबाट तीन दिन हिंडेर भारतको सुनौली नजिकैको भारतीय शहर नौतनवा पुगे। त्यसपछि भने रेल चढेर देहरादुन पुगेको उनी सुनाउँछिन्।
“मैले भारत जान मानेकी थिइनँ। त्यही भएर पहिलो दिन बनगाई, दोस्रो दिन दोभान बसेर तेस्रो दिन नौतनवा पुगेका रहेछन्,” इन्द्रकुमारी ती दिन सम्झिँदै भन्छिन्, “उहाँको छुट्टी बाँकी नै रहेछ। चार दिन नौतनवामा बस्यौं। अनि रातिको रेल चढेर देहरादुन पुग्यौं।”
देहरादुनमा सुरक्षाकर्मीको परिवारका लागि बनाएका व्यवस्थित घर थिए। कोठैकोठा रहेको उनी बताउँछिन्। फुर्सद हुने भएकाले उनले मोजा बुन्न सिकिन्। “नयाँ भर्ती भएर जाने मान्छेले एकैनासका जुराफ (मोजा) खोज्थे। जति बुनेर राखे पनि बिक्री हुन्थ्यो,” इन्द्रकुमारी भन्छिन्, “जुराफ बेचेर एकजोर ढुंग्री बनाएकी थिएँ, सुनको।”
जेठो छोरा जन्मिएको एक वर्ष भएपछि उनी गाउँ फर्किइन्। त्यसपछि पाँच सन्तान जन्मिए। तिनै जेठा छोरा हुन धनबहादुर जसको दुई महीनाअघि ८४ पूजा गरिदिएकी हुन्। त्यसपछिका कृष्ण, डिलबहादुर, गोपाल र विष्णुमध्ये तीन जनाको मृत्यु भइसकेको छ। धनबहादुर र गोपालले उनको साथ दिइरहेका छन्। सबै छोराका गरेर २० नाति-नातिनी, ५२ पनाति-पनातिनी र ११ जनाति-जनातिनी छन्।
अझै पनि नित्यकर्म आफैंले गर्ने इन्द्रकुमारीलाई बाथ रोगले छोडेको छैन। यो सानैदेखिएको समस्या हो। दुवै हातखुट्टा नचल्ने भएका थिए। छोरालाई उचाल्न र स्याहारसुसार गर्न पनि समस्या भएको थियो।
त्यतिवेला बाथ रोग लागेमा स्यालको मासु खाने चलन थियो। त्यसले निको हुन्छ भन्ने विश्वास थियो। तर, उनलाई मासु मनै पर्दैनथ्यो।
रोग निको हुने भएपछि जेनतेन स्यालको रगत भने खाइन्। स्यालको मासु माटोमा पुरियो। कुहेपछि त्यही माटो उनको शरीरभरि लगाइयो। “घिन लागेर स्यालको मासु खान सकिनँ,” उनी सम्झिन्छिन्, “मासु कुहिएपछि माटो जिउभरि लगाइदिए। त्यसले अलि ठीक भयो।”
अब भने उनलाई कुनै रोगले समात्ला भन्ने चिन्ता पनि छैन। किनकि, बाचुञ्जले गर्नुपर्ने सबै काम गरिसकेको उनी बताउँछिन्। छोराछोरीले आफ्ना लागि केही गरिदिऊन् भन्ने पनि बाँकी नरहेको इन्द्रकुमारी सुनाउँछिन्। “‘बैतरनी गरें। सेज्जे पनि गरें। चार लाख बत्ती पनि बालें। आठ वटा गाईको पुच्छर पनि समाएँ। मेरो मात्रै होइन, छोराको पनि चौरासी पूजा गरें,” उनी भन्छिन्, “कुनै इच्छा छैन, आनन्दले बाँचेको छु।”