नेपालीभाषी तारालाई अमेरिकाको प्रतिष्ठित पुरस्कार
मोरङको शनिश्चरे शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका तारा दाहालले अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्।
गत अगष्ट १ मा ४८ वर्षीय तारा दाहाललाई एउटा इमेल आयो। इमेलको पेटबोलीमा संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा विभाग (सीडीसी) र एशोसिएशन अफ इम्युनाइजेसन म्यानेजरले संयुक्त रूपमा अमेरिकाभरिबाट समुदायको स्वास्थ्य सेवामा खटिएकामध्ये उत्कृष्ट २८ जनामा परेको व्यहोरासाथ बधाई लेखिएको थियो। अवार्डको नाम २०२२ इम्युनाइजेसन च्याम्पियन अवार्ड थियो।
“यो खबरले ममा उमंगको बेग्लै तरंग ल्यायो‚” तारा भन्छन्, “शरणार्थी हालतबाट उठेर आएको मेरा लागि यो अद्भुत उपलब्धि झैं लाग्यो।” अमेरिकाका हरेक राज्यका एक-एकजनाले प्रत्येक वर्ष यो अवार्ड पाउँछन्। तारा अवार्डका लागि ओहायो राज्यबाट छानिएका हुन्।
आठ वर्षदेखि ओहायो राज्यको सिनसिनाटीमा बस्दै आएका तारा सिनसिनाटीस्थित नेपाली भाषा तथा कला केन्द्रका अध्यक्ष समेत हुन्। त्यहाँको हेल्दी होमकेयर नामक संस्थामा पनि कार्यरत छन्। कोभिड १९ को महामारीका वेला समुदायमा सचेतना फैलाउन र खोप अभियानमा उल्लेख्य भूमिका निर्वाह गरेबापत उनलाई यो सम्मान प्राप्त भएको हो।
“यसबाट आगामी दिनमा समुदायको सेवामा लाग्ने ठूलो प्रेरणा मिलेको छ‚” उनी भन्छन्, “यो मूल्यांकनले आफ्नो कामले सार्वजनिक स्विकृति वा अनुमोदन प्राप्त गरेको पनि महसूस भएको छ।” उनलाई उक्त अवार्डका लागि ओहायो राज्यको ह्यामिल्टन काउन्टीको सार्वजनिक स्वास्थ्य सेवा विभागले सिफारिस गरेको थियो जसलाई ओहायो स्वास्थ्य सेवा विभागले अनुमोदन गरेको थियो।
तारा अध्यक्ष रहेको संस्थाले सिनसिनाटी आसपासका नेपाली बालबालिकालाई नेपाली भाषा पढाउने, महामारीको समयमा खोप सेवा लिन अभियान चलाउने, कोभिड संक्रमण भएर आइसोलेसनमा बसेकाहरूलाई घरैमा अत्यावश्यक सामग्री पुर्याउने लगायत काम गरेको छ। यसै संस्थाले ओहायोको कोल्रेन टाउनशिपसँग समन्वय गरेर नेपाली समुदायका लागि एउटा क्रिकेट मैदान समेत तयार गरेको छ।
उनले स्वयंसेवकको रुपमा अमेरिकी निर्वाचनका लागि मतदाता नाम दर्ता, नागरिकताका लागि आवेदन तयार गर्नेदेखि भाषिक कठिनाइका कारण सेवा सुविधा लिन नसकेकाहरूको सहयोगीको रुपमा पनि काम गरिरहेका छन्। सन् २०१६ देखि २०१९ सम्म क्याथोलिक च्यारिटी अफ साउथ वेस्ट ओहायोमा केश वर्करको रुपमा काम गर्दा उत्कृष्ट सेवा प्रदायक उपाधि समेत पाएका थिए।
दोरोखादेखि सिनसिनाटीसम्म
दक्षिण भुटानको साम्ची जिल्लास्थित दोरोखा ब्लकमा जन्मिएका ताराले कक्षा ८ सम्म भुटानमै पढे। त्यो सन् १९९० आसपासको समय थियो। घर र उनी पढ्ने साम्ची हाईस्कूलको छात्रवासबीच दुई दिनको पैदल दूरी थियो।
सरकारी दमनका कारण अशान्त भुटानमा जताततै आन्दोलनको तातो बढ्दो थियो। छात्रवासमा पनि त्यसको प्रभाव बढिरहेको थियो। दमन र प्रतिरोधका खबर आइरहन्थे। यस्तैमा तारा छात्रावाबाट भागे। “बक्खु, टी-सर्ट र हाफ पाइन्टमै भाग्नु पर्यो‚” भोकभोकै छात्रबासबाट भागेर भारत पसेको दिन सम्झिंदै उनी अगाडि भन्छन्, “ज्यान हत्केलामा राखेर सुक्रेती खोला र जंगल पार गर्दै भारत पसेको थिएँ।”
छात्रबास नजिकैको राष्ट्रिय शिक्षा प्रतिष्ठानमा पढिरहेका दाजु बिरामी छन् भन्ने बहाना बनाएर उनी बिहानै भागेका थिए। भाग्दा लगाएको बक्खु नजिकैको सुक्रेती खोलामा फ्याँकिदिए। त्यसपछि शुरू भयो ताराको संघर्ष। उनी केही महीना भारतको पश्चिम बंगालको गरगण्डामा बसे। त्यहाँ भूटानी सरकारबाट खेदिएकाहरूको शिविर थियो। त्यसैले गरगण्डा भुटानको आन्दोलनको एउटा केन्द्रविन्दु नै थियो। त्यहाँ रहेका नेता र अगुवाहरू भुटानमा आन्दोलन गर्ने योजना बुन्थे। छलफल हुन्थे। उनी भने केही समयपछि पश्चिम बंगालमा चिनारुहरूकहाँ शरण लिएर बसे।
तारा होस्टलबाट हिंडेपछि दोराखामा रहेका उनका परिवारलाई प्रहरीले दमन बढायो। बुवालाई महिनौं प्रहरीले विना पारिश्रमिक भारी बोकायो। छोरो पश्चिम बंगलमा रहेको छ भन्ने खबर पाएपछि आमा (लक्ष्मी) बजार जाने निहुँ गरेर उनलाई खोज्दै दोरोखाबाट हिंडिन्। आमाछोरा भेट भएपछि मोरङको इटहरामा रहेको ताराको मामाघर आए। तारालाई इटहरामा छोडेर लक्ष्मी भुटान फर्किइन्।
तर‚ भुटानको वातावरण झन् विकराल भइसकेको थियो। छोरो नल्याए तुरुन्तै देश छोड्नु भन्ने सरकारी अधिकारीहरूको आदेश पाएपछि ताराको परिवार भुटानमा अडिन सकेन। छिमेकी र आफन्तहरूको लर्को भुटानबाट छुटिरहेको थियो। कहाँ पुग्ने, के खाने, केमा ओतिने कुनै ठेगान थिएन। बाँच्नका लागि घरबारी, खर्क, गोठ, खेत खलियान छोडेर बिरानो ठेगानातिर अघि बढेका थिए।
“बुवाआमा र दिदीबहिनीहरूका आँशु रित्तिसकेको थियो‚” तारा ती दिन सम्झिंदै भन्छन्, “मध्यम वर्गको हाम्रो परिवार एकैपटक घनघोर गरीबीको भावसागरमा फसिसकेको थियो।”
उनलाई नातेदारहरूको साथ रह्यो। उनले इटहरामा रहेको मामाघरबाट एसएलसी उत्तीर्ण गरेपछि मात्र शरणार्थी शिविर गए। शनिश्चरे शिविरको न्यू होराइजन एकेडेमीका केही वर्ष पढाए। शिविरको बसाइ कहाली लाग्दो थियो। एक छाक खाने अन्न हुँदैन थियो। पिउने पानीको अभाव उस्तै। वर्षको झरी मात्र होइन, घाम समेत राम्रोसँग नछेक्ने छानो। बलेंसी जोडिएका छाप्रा‚ भीडभाडको बसाइ। जताततै फोहोर। सामान्य झाडा पखालाले समेत मानिस मरिरहेको अवस्था।
बाँच्नै मुस्किल रहेको वेला तारालाई भने पढ्ने हुटहुटी थियो। तर‚ कलेज पढ्न चाहिने खर्चको मेसो थिएन। त्यसैले रोजगारीको उपाय खोज्दै सुनसरीको इटहरी गएको उनले बताए। त्यहाँ निजी स्कूल पढाए। केही खर्चको बन्दोबस्त मिलाएर सन् १९९७ मा उनी काठमाडौं पसे। काठमाडौंको सुन्दरीजलस्थित चण्डीकाश्वरी इङ्लिस स्कूलमा पढाउँदै चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा स्नातकको पढाइ पूरा गरे। निजी स्कूलमा पढाउँदा पाएको तलबले काठमाडौंमा बस्न र पढ्न पुर्याएर केही रकम शिविरमा रहेका परिवारलाई पठाउँथे। शिविरमा रहेका भाइबहिनीको पढाइ खर्चको स्रोत पनि तारा नै थिए।
काठमाडौंमै रहेका वेला उनको चाबहिलकी सुलोचना न्यौपानेसँग विवाह भयो। सन् २००७ मा छोरो शुभम्को जन्म भयो। त्यो समय झापा र मोरङको भुटानी शरणार्थी शिविरमा पुनर्वासको कार्यक्रम शुरू भइसकेको थियो। उनी परिवारसाथ शिविर फर्किए। शिविरमा शरणार्थीको सहायताका लागि विभिन्न परियोजना चलिरहेका थिए। उनले शरणार्थी महिला मञ्चमा सहायक कार्यक्रम व्यवस्थापक पदमा रही काम शुरू गरे।
हरेक दिनजसो छिमेकीका छाप्राहरू खाली भइरहेका थिए। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)का गाडीले शरणार्थीहरूलाई झापाको चन्द्रगढी विमानस्थलमा ओसारीरहेका हुन्थे। ताराका साथीहरू दिनदिनै पातलिंदै गए। उनको परिवार ३० मे २०१२ मा अमेरिकाका लागि उड्यो। शुरूको दुई वर्ष उनको परिवार कोलोराडोमा बसे। त्यहाँ तारामले होटलमा काम पाए। सन् २०१४ मा ओहायोको सिनसिनाटी बसाइँ सरेको उनले बताए। अमेरिका उड्दा आफूहरूसँग ठूलो सपना नरहेको तारा बताउँछन्। उनी भन्छन्, “नचुहिने छानो भएको घर, अघाउन्जी खाना र बालबच्चाको पढाइ।” मोरङको शनिश्चरे शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका ताराले सन् २०१७ मा अमेरिकाको नागरिकता लिए।
तारालाई भुटान छोडेको र बाँच्नका लागि नेपालमा गरेको संघर्ष सम्झिंदा ऐठन हुन्छ। उनले २० वर्ष शरणार्थी जीवन कटाए। त्यो वेला जीवन अँध्यारो सुरुङभित्र अलमलिएको महसूस गर्थे। तर‚ एउटा जबर्जस्त उम्मेद हृदयमा जीवित रहेकाले नै ‘सबैथोक लुटिए पनि भविष्य बाँकी रहन्छ’ भन्ने लागिरहने तारा बताउँछन्। त्यही विश्वासको मसिनो धागोमा उनिएर उनी यहाँसम्म आए।
श्राद्धमा तर्पण पाउने झिल्कु गाई
सिरक नमिलाई अलपत्र छोडेको छात्रवासको ओच्छ्यान, टेबलमा मिलाएर राखेका किताब‚ कापी, कलम‚ पेन्सिल, काँटीमा झुण्ड्याइएका कपडा, घरमा आफूले खाने थाल‚ कचौरा, हतारमा हिंड्दा छुटेका आफन्त र दौतरी उनको सम्झनामा अझै ताजा छन्।
दोरोखाका बासिन्दाले नुन—भुटुनदेखि काँटी—काँक्रोसम्म किन्न दुई दिनको पैदल यात्रापछि साम्ची बजार पुग्थे। बजारमा भारतीय व्यापारीको एकछत्र राज थियो।
दोरोखामा ताराहरूको बाह्रैमास पानी लाग्ने खेत र बगान थियो। गोठमा गाईवस्तु भरिभराउ थियो। त्यसमध्ये एउटा गाई थियो, झिल्कु नाम दिइएको। झिल्कु र ताराकी काहिंली बहिनी खेमुको जन्म एकै वेला परेको थियो। त्यो साह्रै सुवानी गाई थियो। चराउन खर्कमा गएका वेला निवारोको पातमा दुहेर झिल्कुको दूध पिएको उनी कहिल्यै भुल्दैनन्।
घर छोडेर हिंड्दा अरु वस्तुका घाँटीका दाम्ला खोलिदिए पनि झिल्कुलाई भने बाटामा पर्ने बुधुने गाउँका एकजना चिनारुकहाँ छोडियो। धेरैपछि झिल्कु मरेको कतैबाट उनीहरूले सुने। हिजोआज तारा आफ्ना स्वर्गीय बुवा वेणुप्रसाद दाहाललाई श्राद्धमा तर्पण दिंदा झिल्कु गाईको पनि नाम उच्चारण गर्छन। भन्छन्, “हृदयको छेउमा बसेका मान्छे, चौपाया र सामग्री भुल्न नसकिने रहेछ।”