श्रीलंका विरुद्ध ६ गोल गर्दै नेपाल सेमिफाइनलमा
छैटौं महिला साफ च्याम्पियनशिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध ६-० ले जित हासिल गरेको छ। यो जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो।
नेपालका लागि खेलको आठौं मिनेटमा रश्मीकुमारी घिसिङले, दशौं मिनेटमा सरु लिम्बुले, १७औं मिनेटनमा अमृता जैशी र पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरिन्।
त्यस्तै, दोस्रो हाफमा नेपालले दुई गोल थप्यो। नेपालका लागि ७७औं मिनेटमा र इन्जुरी समयमा अमिषा कार्कीलले दुई गोल गरेकी हुन्। दुवै खेलमा हार बेहोरेको श्रीलंका समूह भने चरणबाटै बाहिरिएको छ।
समूह चरणमा पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो। भुटान भने समूहको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार हुने समूह ‘ए’को भारत र बाङ्लादेशको खेलको विजेताले भुटान र उपविजेताले नेपालसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। साफ महिला च्याम्पियनशिपको पछिल्लो पाँच संस्करणमध्ये चार वटामा फाइनल पुगेको नेपालले उपाधि जित्न सकेको छैन।