खोटाङका सामुदायिक विद्यालयलाई विद्यार्थी पाउनै मुश्किल
खोटाङको सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ। केही विद्यालयका केही कक्षामा विद्यार्थी संख्या शून्य समेत रहेको छ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेस्थित जनजागृति प्रावि पाखाचारीमा कक्षा २ मा विद्यार्थी नै छैनन्। २०७८ मा सञ्चालन गरिएको परीक्षामा कक्षा १ बाट तीन जना विद्यार्थी कक्षा दुईमा उक्लिएका थिए।
तर‚ उनीहरू गत वैशाखमा बसाइँ सरेर गएकाले कक्षा २ रित्तो हुन पुगेको प्रधानाध्यापक (प्रअ) शर्मिला राउत बताउँछिन्। उक्त विद्यालयको बालविकास केन्द्रमा पाँच, कक्षा १ मा दुई र कक्षा ३ मा पाँच जना विद्यार्थी छन्।
दिप्रुङ चुईचुम्मा–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको कक्षा ५ मा तीन विद्यार्थी छन्। कक्षा ४ मा पाँच, कक्षा ३, कक्षा २ र कक्षा १ मा ११/११ जना विद्यार्थी छन्। बाल विकास केन्द्रमा १० जना भर्ना भएको प्रअ जर्ण चाम्लिङले जानकारी दिए।
पञ्चमीबजार नजिकै भएकाले रोशाभञ्ज्याङ प्राविमा विद्यार्थी पर्याप्त थिए। तर‚ व्यवस्थापन फितलो हुँदा कतिपय विद्यार्थी अन्य विद्यालय गए। २०४५ सालमा स्थापना भएको विद्यालयमा केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल शैक्षिक सुधार हुन थालेको अभिभावक खगेन्द्र राई बताउँछन्।
यस्तै, दिप्रुङ चुईचुम्मा–५ सछितापोखरीको जंगदेव प्राविमा पनि विद्यार्थी संख्या कम छ। यस विद्यालयको कक्षा ५ का पाँच‚ कक्षा ४ र कक्षा ३ मा सात-सात जना छन्। कक्षा २ मा ११ र कक्षा १ मा १३ विद्यार्थी भर्ना भएको प्रअ बिवाकुमारी पोखरेलले जानकारी दिइन्। अभिभावकहरू बसाइँ सरेर गएकाले विद्यार्थी कम भएको पोखरेलको भनाइ छ।
“बसाइँ सर्ने क्रम बढ्दो छ। वर्षमा तीन-चार घर बसाइँ सरेर गइरहेका छन्,” पोखरेल भन्छिन्, “अरु कारणले विद्यार्थी संख्या घटेको होइन।”
९ वटा वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालय छन्। तीमध्ये प्रावि र केही आधारभूत विद्यालयमा विद्यार्थी अभाव रहेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनिकुमार गिरीका अनुसार कक्षा ३ सम्म पढाइ भइरहेको भगवती प्रावि बतासेमा १८, चित्रनिकेतन प्रावि रिभु, टेम्मामा २१, शितला प्रावि, लोहोकिल, डाँडागाउँमा २१ जना विद्यार्थी छन्। यस्तै, तीनकन्य प्रावि सछितापोखरी २९, सहकला प्रावि वालिंखामा ४०, जनविकास प्रावि नारांगामा ५५ विद्यार्थी छन्।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मात्र होइन‚ खोटाङका १० वटै स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो छ। कमजोर विद्यालय प्रशासन, प्रभावकारी पठन–पाठनको अभाव, बसाइँ सराइ, न्यून जन्मदर लगायतका कारण विद्यार्थी संख्या घटेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई बताउँछन्।
“कतिपय शिक्षक नियमित विद्यालय नजाने, नियमित क्लास नगर्ने, नियमित होमवर्क नहेरिदिने‚ सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वसनीयता घट्दो छ। अभिभावकमा अंग्रेजी बोल्नु र लेखपढ गर्नु नै गुणस्तरीय शिक्षा हो भन्ने बुझाइ छ‚” ” अध्यक्ष राई भन्छन्‚ “यो पालिकामा चार महीनामा एउटा वडाबाट मात्र १० घरका दरले बसाइँ गएको देखियो। यसले पनि विद्यार्थी संख्या घटाएको छ। स्कूलमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था आएको छ।”
कतिपय शिक्षक तथा प्रअ स्थानीय हुँदा पनि सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समस्या भएको अभिभावक बताउँछन्। विद्यालयमा अनुपस्थित भए वा शैक्षिक क्रियकलाप नियमित नभएको अवस्थामा स्थानीय शिक्षक वा प्रअ विरुद्ध आवाज उठाउन अभिभावकलाई अप्ठ्यारो पर्ने रोशाभञ्ज्याङ प्राविका अभिभावक लक्ष्मीकुमार श्रेष्ठले बताउँछन्।