कसरी गर्ने नेपाली भाषाको प्रवर्द्धन?
नेपालीहरूले पहिचानका लागि टोपी लगाएर वा खुकुरी भिरेर मात्रै पुग्दैन, नेपाली भाषा पनि जानेको हुनुपर्छ। नेपाली भाषालाई अजासु (अति जान्ने-सुन्ने) नेपालीहरूबाटै खतरा छ।
नेपाली भाषाको श्रीवृद्धिबारे वेला वेला नेपालभित्र र बाहिर चर्चा परिचर्चा भइरहन्छ। खासगरी असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती वा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मतिथि लक्ष्मीपूजाको छेको पारेर गरिने यस्ता चर्चा परिचर्चा अति नै कर्मकाण्डी लाग्छन्।
किनभने त्यस्ता कार्यक्रमहरूमा नेपाली भाषा वा साहित्यमा फलानोको योगदानको चर्चा, उहाँका रचनाहरू पाठ गरेर वा आफ्नै कविता आदि वाचन गरेर नेपाली भाषा नेपालभित्रै समृद्ध हुन र अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान बनाउन सक्दैन। कुनै पनि भाषाको श्रीवृद्धिका लागि स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यनीति हुनुपर्छ।
नेपालको सम्पर्क भाषा र सिक्किम, आसाम लगायत भारतका विभिन्न प्रान्त, बर्मा, थाइल्यान्ड एवं विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलबासीका तीन करोडभन्दा बढी सन्तानले मातृभाषाका रूपमा बोल्ने नेपाली भाषा संकटमा परेकै हो त? किन चाहियो नेपाली भाषाको अन्तर्राष्ट्रियकरण? यो प्रश्न सबैका मनमा उठ्नु स्वाभाविकै हो।
तर, साहित्य सिर्जना, पठनपाठन र व्याकरण आदिमा समेत अति समृद्ध र व्यापक हुँदाहुँदै पनि संस्कृत भाषा जनजिब्रोबाट हटेको करीब हजार वर्ष भइसकेको छ। जबकि, प्राध्यापक थोमस बरोका अनुसार, संस्कृत भाषा ईसापूर्वको पहिलो सहश्राब्दीमा पूर्वमा इन्डोनेसियादेखि पश्चिममा अफगानिस्तनसम्म, उत्तरमा हिमालय शृंखलादेखि दक्षिणमा श्रीलंकासम्म प्रचलनमा थियो। तर, ईश्वी संवत्को पहिलो सहश्राब्दी पूरा नहुँदै संसारमा संस्कृत भाषा बोल्ने मानिस हराइसकेका थिए। यसले के देखाउँछ भने निरन्तर प्रयोग र स्तरीकरण भएन भने त्यो भाषा हराउँछ र मृत भाषाको रूपमा सूचिकृत हुन्छ।
नेपाली भाषा संस्कृत जस्तो पुरानो, व्यापक र समृद्ध होइन। उत्पत्तिका हिसाबले एक सहश्राब्दी उमेर भए पनि नेपाली भाषा नेपालको सम्पर्क भाषाका रुपमा विस्तार भएको पनि करीब अढाई शताब्दी मात्रै भएको छ। अझ औपचारिक पठनपाठनको भाषा भएको त पुगनपुग एक शताब्दी मात्रै भयो। अझ भनौं नेपाली भाषा विकासकै चरणमा छ।
तर, अचेल नेपाली भाषामा अंग्रेजीकरण यति धेरै छ ‘पढे–लेखेका’ मानिसहरू एक–दुई अंग्रेजी शब्द नघुसाई एउटा नेपाली वाक्य बोल्न असमर्थ हुँदैछन्। फेरि इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले नेपाली युनिकोड हुँदाहुँदै रोमन लिपिमा नेपाली लेख्ने चलन बढ्दो छ जसको कुनै मानक छैन। अर्थात्, जस्तो लेखे पनि हुन्छ। यस्तो अवस्था हुनु भनेको भाषामा प्रदूषण बढ्दै जानु हो जसले भाषालाई क्रमशः विषाक्त बनाउँदै लान्छ र अन्त्यमा प्रयोग हुनै नसक्ने अवस्थामा पुर्याउँछ।
निरन्तर प्रयोग र स्तरीकरण भएन भने त्यो भाषा हराउँछ र मृत भाषाको रूपमा सूचिकृत हुन्छ।
संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्मा परामर्शदातृ संस्थाको मान्यता पाएको द ल्याङ्वेज कन्सर्भेन्सी संस्थाको तथ्याङ्क अनुसार‚ सन् १७९५ ताका मातृभाषाको रुपमा बोलिने संसारका ६१ प्रतिशत भाषा हिजोआज हराइसके वा पुनः बोलीचालीमा आउनै नसक्ने भइसके। गत जुन महीनामा नेचर इकोलोजी एण्ड इभोलुसन जर्नलमा प्रकाशित अध्ययन अनुसार‚ संसारमा अहिले ६ हजार ५११ भाषा प्रचलनमा छन्। तीमध्ये आधा भाषामा अन्य भाषाको प्रभाव बढ्दो छ। करीब १५ सय भाषाको अवस्था यति नाजुक छ कि सन् २१०० सम्ममा ती हराइसक्ने छन्।
अचेल हरेक वर्ष १२ भाषा समाप्त भइरहेका छन्। अर्थात्‚ हरेक ३० दिनमा संसारबाट एउटा भाषाले बिदा लिन्छ। तर‚ भविष्यमा भाषा हराउने रफ्तार अझै बढ्नेछ किनभने अंग्रेजी, चाइनिज, स्पेनिस जस्ता ठूला भाषाहरूले साना भाषालाई अझ बढी संकुचित बनाउने छन्। परिणाम स्वरुप सन् २१०० सम्ममा हरेक वर्ष संसारबाट ३६ भाषा हराउने छन्। अहिले संसारमा जति भाषा बाँकी छन्, अबको १०० वर्षभित्र आधा भाषा हराइसक्ने छन्। जब बोल्ने मान्छे सकिन्छन्, जति नै समृद्ध भए पनि त्यो भाषा सकिन्छ। दक्षिण–पूर्वी एशियामा संस्कृत र यूरोपमा ल्याटिन भाषाको नियति हाम्रो सामु छ। तसर्थ, नेपाली भाषाको उत्थान र प्रवर्द्धनका लागि हरेक पुस्ताले केही न केही रणनीतिक प्रयासहरू जारी राख्नु पर्दछ।
नेपाली भाषाको प्रयोगकर्ता, नेपाली लेखक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाको पूर्व अध्यक्ष एवं क्यानडामा नेपाली भाषाको औपचारिक शिक्षाको तत्कालीन पाठ्यक्रम निर्माण समितिको एउटा सदस्यका हैसियतले नेपाली भाषालाई नेपालभित्र र बाहिर कसरी प्रवर्द्धन गर्ने भन्ने सन्दर्भमा मैले देखेका केही रणनीतिक उपायहरू थप छलफल र बहसका निम्ति यहाँ प्रस्तुत गरेको छु।
१. नेपाली भाषामा अंग्रेजीकरण यति बढेको छ कि उच्च शिक्षा हासिल गरेका मानिसहरूले बोलीचालीमा हरेक वाक्यमा अंग्रेजी शब्द घुसाइहाल्छन्। अझ नेपाली शब्द थाहा हुँदाहुँदै अंग्रेजी शब्द घुसाएर आफूलाई ‘सभ्य’ देखाउनेको संख्या बढ्दो छ। बढ्दो अंग्रेजीकरणले गर्दा झर्रो नेपाली भाषाको स्वाद खोज्न कि नेपालका दुर्गम गाउँबस्तीमा पस्नुपर्छ अथवा सिक्किम–दार्जीलिङ जानुपर्ने अवस्था छ।
सञ्चारमाध्यममा अंग्रेजीकरण बढेकाले पाठक र स्रोतामा पनि त्यस्ता शब्दको प्रयोग बढेको हुनसक्छ। उदाहरणका लागि एक्लाएक्लै भेटवार्ताको सन्दर्भमा ‘वन-अन-वन’ भेटवार्ता वर्णशंकर शब्दावली प्रयोग गरियो। जबकि‚ नेपालीमा चलनचल्तीका शब्दहरू पहिल्यै उपलब्ध छन्। अब उप्रान्त भाषा सम्पादकले यस्ता द्विविधाहरू सहजै निराकरण गर्न सकून् भन्ने अभिप्रायले नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा विदेशी शब्दको सट्टामा के–कस्ता नेपाली शब्दहरू प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धी शब्दसूची प्रकाशन गर्न सक्छ। नेपालका सञ्चारमाध्यमले नेपाली भाषामा प्रयोग गर्न सकिने अवस्था रहेसम्म नेपाली भाषा नै प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्छ। त्यस्तै‚ भाषा सम्पादक एवं शुद्धि परीक्षकहरूका लागि अल्पकालीन कार्यशाला सञ्चालन गर्न सकिन्छ। यस्तो प्रयासले नेपाली भाषाको मौलिकता जोगाइराख्न सघाउँछ र विदेशी भाषाको अतिक्रमणबाट बचाउँछ।
अंग्रेजी, चाइनिज, स्पेनिस जस्ता ठूला भाषाहरूले साना भाषालाई अझ बढी संकुचित बनाउने छन्। परिणाम स्वरुप सन् २१०० सम्ममा हरेक वर्ष संसारबाट ३६ भाषा हराउने छन्।
२. नेपालका विश्वविद्यालयमा पढाइ हुने अंग्रेजी, नेपाली, नेपाल जस्ता भाषा विषय बाहेक अन्य जुनसुकै विषयमा नेपाली भाषामा पढ्न, परीक्षा दिन र थेसिस गर्न पाउने कानुनी व्यवस्था हुनु आवश्यक छ। उदाहरणका लागि नेपालका अधिकांश विश्वविद्यालयले स्नातक तहको भाषा विषय बाहेकका जुनसुकै प्रश्नपत्रहरू तयार पार्दा अंग्रेजीमा मात्रै तयार पार्ने गरेका छन्। नेपालको राष्ट्रभाषा एवं सम्पर्क भाषा नेपाली हो। अंग्रेजी भाषालाई नेपालको संविधानले चिन्दैन। अंग्रेजीमा मात्रै प्रश्न सोध्ने कामले धेरैजसो विद्यार्थीले प्रश्नलाई सही ढंगले बुझ्न सक्दैनन्। तसर्थ‚ नेपालभित्र अध्ययन–अध्यापन हुने जुनसुकै तहको प्रश्नपत्र तयार पार्दा नेपाली भाषामा अनिवार्य गरिनुपर्छ। अंग्रेजीमा पनि लेख्न मन भए त्यही प्रश्नको लगत्तै अंग्रेजी अनुवाद पनि थप्न सकिन्छ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालको आमसञ्चार र पत्रकारिता विभाग लगायत कतिपय विभागमा नेपालीमा अध्ययन–अध्यापन भए पनि थेसिस अंग्रेजीमा लेख्नै पर्ने बाध्यता थोपरिएको छ। परिणाम स्वरुप कतिपय विद्यार्थीले अंग्रेजीमा थेसिस लेख्न नसकेर बीचैमा अध्ययन छाड्नु परेको छ। नेपालका विद्यार्थीलाई नेपालभित्रै यो हदको विभेद र अपमान अक्षम्य छ र कारबाहीयोग्य छ। नेपाल सरकार, शिक्षा मन्त्रालयले यस विषयमा नेपालका सबै विश्वविद्यालयमा नेपाली भाषामा अध्ययन–अध्यापन गर्न सहजै पाउनुपर्ने अवस्था सिर्जना हुने गरी दिर्नेशन दिन आवश्यक छ।
३. नेपालको सरहदभित्र सञ्चालन भएका सबै शैक्षिक संस्था वा (कूटनीतिक नियोग बाहेकका) कार्यालयमा नेपाली भाषामा गरिने बोलीचालीलाई प्रोत्साहन गर्नुपर्छ। तर, नेपालका कपितय आईएनजीओ वा निजी विद्यालयमा नेपाली बोल्न निषेध गरिएको पाइन्छ। अझ विद्यार्थी वा शिक्षकले अंग्रेजी बाहेकको भाषा बोलेमा उनीहरूलाई सार्वजनिक रूपमा अपमान र दण्डित गरिन्छ। साथै, बालबालिकालाई विद्यालयमा विद्यार्थीले आपसमा नेपाली वा मातृभाषामा बोल्न निषेध गर्ने शैक्षिक संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।
नेपालको सम्पर्क भाषा नेपाली भएकाले कुनै सेवाग्राहीले नेपाली भाषामा सेवा लिन चाहे नेपाली भाषामै सेवा दिनुपर्ने नीति तत्कालै लागु गर्नुपर्छ। नेपालमा सञ्चालित म्यानपावर लगायतका संस्थाहरूले सेवाग्राहीलाई अंग्रेजी कागजमा कुरै नबुझी/नबुझाई हस्ताक्षर गर्न लगाएर भएका ठगीहरू अनेक छन्। कुनै पनि सार्वजनिक निकाय (सरकारी वा गैरसरकारी)ले कुनै पनि दस्तावेज वा लिखत तयार पार्दा नेपाली संस्करण तयार पार्नैपर्ने नीति सरकारले लागू गर्नुपर्छ।
नेपालको सरहदभित्र सञ्चालन भएका सबै शैक्षिक संस्था वा (कूटनीतिक नियोग बाहेकका) कार्यालयमा नेपाली भाषामा गरिने बोलीचालीलाई प्रोत्साहन गर्नुपर्छ।
४. नेपालको सरहदभित्र सञ्चालनमा भएका वा हुने संघसंस्था, उद्योग–व्यापार आदिका कार्यालयमा राखिएका साइनबोर्ड वा सूचना पाटी नेपाली भाषामा अनिवार्य लेख्नैपर्ने र त्योभन्दा ठूलो अक्षरमा अंग्रेजीमा लेख्न नपाइने नियम लागू हुनुपर्छ। अंग्रेजीमा धेरै सूचना लेखेर नेपालीमा झारा टार्ने मात्रै प्रवृत्तिलाई पनि रोक्नुपर्छ। कुनै पनि संस्थाको नेपाली नाम र त्यसको अंग्रेजीकरण सही अनुवाद भयो कि भएन भनेर त्यो संस्था दर्ता गर्ने निकायले ठहर्याउनु पर्दछ। नेपालभित्र बोलिने भाषामा लेखिएका साइनबोर्डहरूलाई माथिको नियम अनिवार्य गर्न आवश्यक नपर्ला किनभने तिनले नेपाली मौलिकताको प्रतिनिधित्व गर्दछन्। नेपालीमा मात्रै हुने लेखिने साइनबोर्ड/सूचनापाटी आदिमा सरकारी वा औपचारिक कागजात बनाउँदा अन्य जुनसुकै भाषामा लेखिएको भए पनि नेपालीमा समेत लेख्नैपर्ने कानून निर्माण गरी नेपाली भाषालाई वास्तविक सम्पर्क भाषा बनाउन आवश्यक छ।
५. नेपालभित्रका विश्वविद्यालय वा अन्य शिक्षण संस्थामा नेपाली भाषा वा नेपालभित्र बोलीचालीमा रहेका अन्य भाषाको अध्ययन–अध्यापन वा प्रवर्द्धन गर्न आउने विदेशी विद्यार्थी, शोधार्थी आदिलाई नेपाल सरकार वा मातहतका निकायले प्राथमिकता हेरी भाषा उत्थान सम्बन्धी छात्रवृत्ति उपलब्ध गराउनुपर्छ। नेपालभित्र अन्य विषय पढ्न आएका विद्यार्थीहरूले एउटा विषय नेपाली वा स्थानीय भाषा अध्ययन गरे पनि त्यस्तो छात्रवृत्ति उपलब्ध गराउन सकिन्छ।
उदाहरणका लागि अमेरिकी नागरिकहरू लिन्डा इलटिस र जेसिका वान्थाइन विरकेन्होल्जले नेपालको स्वस्थानी व्रतकथामा केन्द्रित भएर विद्यावारिधि अध्ययन पूरा गरेका थिए। उनीहरूलाई नेपाल सरकार वा माताहतका निकायबाट कस्तो सहयोग वा प्रोत्साहन गर्न सकियो? त्यसबारे समीक्षा गर्दै नेपाली भाषा, संस्कृति र साहित्यको प्रवर्द्धन हुने गरी विदेशी विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने नीति सरकारको हुनुपर्छ। विदेशी विद्यार्थीहरूले गरेका अध्ययनहरू अन्तर्राष्ट्रिय पिअर–रिभ्युड जर्नलमा प्रकाशन भएमा थप प्रोत्साहन गर्ने व्यवस्था गर्नुपर्छ। यसले नेपाली भाषाको विस्तार एवं सुदृढीकरणमा मद्दत पुर्याउँछ।
६. धर्मका आधारमा विभाजित भएकाले हिन्दुस्तान भनिए पनि भारत संविधानतः हिन्दु राष्ट्र होइन। तर‚ सन् २०११ मा रूसमा श्रीमद्भागवत गीता निषेध गर्ने स्थानीय अदालतको निर्णयप्रति विरोध जनाउँदै भारतले तत्कालै त्यस्तो निषेध फुकुवा गर्न दबाब दियो। लगत्तै कूटनीतिक तवरले आपत्ति जनायो। भारत श्रीमद्भागवत गीता लगायतका धार्मिक, सांस्कृतिक र साहित्यिक सम्पदामा अपनत्व देख्छ। हामी छिमेकी मुलुक भूटानमा नेपाली भाषाको विनाश भएको देख्दा समेत बोल्न सक्दैनौं। नेपाली मूलका एक लाख भूटानीलाई सन् १९८९ मा देश निकाला गरेलगत्तै भूटानले विद्यालयमा नेपाली भाषाको अध्ययन अध्यापनमा प्रतिबन्ध लगायो। त्यहाँ जोङ्खा र अंग्रेजी पढ्न पाइन्छ तर नेपाली भाषामा लगाइएको प्रतिबन्ध अझै जारी छ। नेपाली मातृभाषी बालबालिकाले औपचारिक रुपमा नेपाली भाषा पढ्न पाएका छैनन्.
परिणाम स्वरुप सन् १९८९ फेब्रुअरी यता विद्यालय गएका पुस्ताले नेपाली भाषा क्रमशः बिर्संदै गइरहेका छन्। प्रतिबन्ध फुकुवा गर्न नेपाल सरकार र नागरिक तहबाट समेत कूटनीतिक पहल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) लगायतका अन्तर्राष्ट्रिय संस्थालाई त्यहाँका नेपाली मूलका बालबालिकाको मातृभाषाको अधिकार स्थापनाका लागि दबाब दिन जरुरी छ। नागरिक स्तरबाट समेत विश्वका विभिन्न फोरमहरूमा बोल्न, झक्झक्याउन र दबाब दिन जरुरी छ। केही परिवर्तन गर्न सकिएला नसकिएला तर कम्तीमा बोल्न त बोलौं। फेरि पनि भन्छु- बेलाबखत आदिकवि र महाकविका कविता पाठ गरेर मात्रै नेपाली भाषा बचाउन सकिन्न।
७. सन् २०१९ मा स्पेनमा एउटा कार्यक्रममा जाँदा मैले के थाहा पाएँ भने स्पेन संसारभरिका स्पेनीभाषीहरूको तीर्थ हो। मेक्सिकोदेखि तलका (ब्राजिल बाहेक) सबै दक्षिण अमेरिकी राष्ट्रहरूको सम्पर्क भाषा स्पेनिस हो। ती मुलुकमा बस्ने बहुसंख्यक मानिस आफ्नो कला, संस्कृति र भाषाको मूल थलो मान्दै स्पेन घुम्न वा अध्ययन गर्न आउन लालायित हुने रहेछन्। त्यसले स्पेनको आन्तरिक र वैदेशिक अर्थतन्त्रमा ठूलो सहयोग गरेको रहेछ।
नेपाली भाषाको न्यूनतम अध्ययन नगरी नेपालमा काम गर्न आउने विदेशीलाई काम गर्ने अनुमति दिइनु हुँदैन। दिइहाले पनि नेपाल आएको निश्चित अवधिमा नेपाली भाषाको कुनै मानक तह उत्तीर्ण गरेको हुनैपर्ने व्यवस्था राख्न सकिन्छ।
नेपाल बाहेक भारत, भूटान, थाइल्यान्ड, मलेसिया, बर्मा, कम्बोडिया, फिजी, बेलायत लगायतका देशहरूमा बसाइँसराइ, अंग्रेज शासकका कृषि मजदूर वा विश्वयुद्ध लड्ने सिपाहीका रूपमा नेपालीहरू पुगेका छन्। उनीहरूले लेख्ने‚ बोल्ने औपचारिक मानक भाषा नेपालमा बोलीचाली एवं अध्ययन–अध्यापनमा प्रयोग हुने भाषा हो। तर‚ नेपालमा बोलिने, लेखिने नेपाली भाषा आफैं क्षीण हुँदै गइरहेको छ। भाषाको लहरो नेपाली भए पनि शब्दहरू विदेशी छन्। एउटा शहरीया युवाले अचेल ‘म एउटा कार्यक्रममा पुगेर आएँ’को सट्टा ‘म एउटा प्रोग्राममा एटेन्ड गरेर आको’ भन्न थालेका छन्। नेपाली भाषामा अंग्रेजी नघुसाइ बोल्ने मान्छे खोज्न अचेल सिक्किम धाउनुपर्ने अवस्था छ। नेपालका गल्ली गल्लीमा ‘जर्मन’, ‘फ्रेन्च’, ‘स्पेनिस’, ‘कोरियन’, ‘अरेबिक’, ‘जापानिज’ भाषा सिकाउने ठाउँ भेटिन्छ। तर‚ विदेशीहरूलाई सहजै स्तरीकृत नेपाली भाषा सिक्ने ठाउँ पाउन मुस्किल छ। संसारभरिका नेपालीमूलका मानिसले नेपाली भाषा सिक्न नेपाल आउने र त्यस अनुसारको पाठ्यक्रम तयार गरेर विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठानहरूले यथाशीघ्र लागू गर्न आवश्यक छ।
८. यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा नेपालीमूलका बालबालिकालाई उनीहरूका अभिभावक र स्थानीय संघसंस्थाको पहलमा हप्ताको एक/दुई दिन नेपाली भाषा सिकाउने गरिएको छ। क्यानडाको ओटावा लगायत कतिपय देशका राज्य वा शहरमा नेपाली भाषालाई माध्यमिक वा स्नातक तहमा ऐच्छिक भाषा विषयमा समावेश पनि गरिएको छ। क्यानडामा नेपाली भाषा कक्षा सञ्चालनका लागि ‘प्रवासी नेपाली शिक्षा’ नामको पुस्तकै तयार पारी नेपाली भाषा कक्षामा अध्ययन–अध्यापन भइरहेको छ। यस्तो अभ्यास अन्य देशहरूमा पनि होला। तर, विभिन्न देशमा नेपालीमूलका बालबालिकालाई पढाइने ती पाठ्यक्रम, पाठ्यभार र पाठ्यपुस्तकको एकरूपता र स्तरीकरण भएको छैन। उदाहरणका लागि अस्ट्रेलियमा प्राथमिक तहमा नेपाली भाषा पढ्ने नेपालीमूलका विद्यार्थीले क्यानडा वा अमेरिकामा उही तहमा पढ्ने नेपालीमूलका बालबालिकाको भन्दा कम वा बढी पढ्नुपर्छ। तसर्थ, पाठ्यक्रम, पाठ्यभार र पाठ्यपुस्तकमा एकरूपता ल्याउन, त्यस्तो अध्ययन अध्यापनलाई नेपालमा समकक्षता प्रदान गर्न नेपाल सरकारका सम्बन्धित निकायले पहलकदमी लिनुपर्छ।
त्यसमा प्रवासी नेपालीहरूको अन्तर्राट्रिय सञ्जाल गैरआवासीय नेपाली संघले सहजीकरण गर्न सक्छ। साथै, फिजी, म्यानमार, थाइल्यान्ड जस्ता देशमा रहेका नेपालीमूलका विद्यार्थीलाई नेपाली पठनपाठन गराउन आवश्यकता र माग अनुसार नेपालबाट प्रशिक्षित शिक्षकहरू पठाउन नेपाल-प्रज्ञा प्रतिष्ठान जस्ता नेपाल सरकारका सम्बन्धित निकायले तत्कालै पाठ्यक्रमको खाका निर्माण गर्ने, शिक्षकलाई तालिम प्रदान गर्ने र सम्बन्धित देशमा उनीहरूलाई सहजै पठाउने चाँजोपाँजो मिलाउनुपर्छ। यसले नेपाललाई नै नेपाली भाषाको केन्द्र बनाइरहन्छ। साथै‚ नागरिकस्तरमा भाषिक सम्बन्ध बढाएर नेपालको पर्यटनमा समेत टेवा पुर्याउँछ।
९. अचेल संसारमा अनुवाद साहित्य निकै प्रभावशाली छ। स्मरण रहोस्, एशियाकै पहिलो नोबेल पुरस्कार विजेता भारतका रवीन्द्रनाथ टेगोरले बंगाली भाषामा लेखिएको उनको गीताञ्जली कविता संग्रहलाई अंग्रेजी अनुवाद गरेपछि सन् १९१३ मा नोबेल साहित्य पुरस्कार पाएका थिए। अंग्रेजीमा मात्रै होइन, चाइनिज, स्पेनिस, फ्रेन्च, हिन्दी, अरेबिक जस्ता बढी बोलिने भाषाहरूमा नेपाली साहित्यको अनुवाद गर्न सके मात्रै नेपालको मौलिक पहिचान नेपालबाहिर पुग्छ। नत्र फेरि बुद्ध जन्मेको देश, सगरमाथाको देश, गोर्खा लडाकूको देश भन्ने बाहेक अरु कुरा हामीसँग हुँदैन।
अन्तर्राष्ट्रिय साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई अंग्रेजी लगायत बढी बोलिने अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गर्न अभियानकै रुपमा नेपाल सरकार र नागरिक स्तरको पहलकदमी आवश्यक छ। त्यसले नेपाली भाषालाई समृद्ध पार्छ एवं नेपाली मौलिकताको अन्तर्राष्ट्रियकरण गर्न मद्दत गर्छ।
१० अचेल भाषा प्रवर्द्धनका लागि भाषाका विभिन्न पक्षहरूमा आधारित भएर विभिन्न देशमा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने गरिएको छ। अंग्रेजी, स्पेनिस, फ्रेन्च, चाइनिज जस्ता ठूला भाषाले त सम्मेलन गर्ने नै भए, नेपाली जस्ता मझौला वा साना भाषाहरूले पनि त्यस्ता सम्मेलनहरू आयोजना गर्नुपर्छ। नेपाली भाषाको मानक पहिल्याउन, स्तरीकरण गर्न, आनुनिकीकरण गर्न र भाषामा देखा परेका चुनौतीहरूलाई निराकरण गर्न त्यस्ता सम्मेलनहरू महत्त्वपूर्ण हुन्छन्।
नेपालभित्र पनि पूर्वेली, मधेशी, मध्यपहाडी, पश्चिमी, खस लगायतका भाषाका आञ्चलिक स्वरुपहरू छन्। नेपालबाहिर दार्जीलिङ, सिक्किम, आसाम, मणिपुर, बर्मा, थाइल्यान्ड, कम्बोडिया, मलयसिया, ब्रुनाई, बेलायत लगायतका नेपालीमूलका मानिस भएको ठाउँमा बोलिने, लेखिने नेपाली भाषाको प्रकारहरू भिन्नभिन्न छन्। उच्चारण, प्रयोग, शब्द संयोजन, शाब्दिक रूपान्तरण आदिका हिसाबले नेपाली भाषा पनि यौटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भाषा नै हो। तसर्थ, नेपाली भाषाभित्र भएका विभिन्नताहरूलाई पहिचान गर्न, चुनौतीहरूलाई सुल्झाउन, व्याकरणीय एकरूपता कायम गर्न वा भाषिक आञ्चलिकतालाई अंगीकार गर्न वेलावेला विभिन्न देशमा अन्तर्राष्ट्रिय नेपाली भाषा सम्मेलन आयोजना गर्न सकिन्छ। त्यसले हाम्रो भाषाको आयतन, स्तर र खँदिलोपनलाई बढाउँछ। यसका लागि नेपाल सरकार, नेपाल प्रज्ञा-प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैरआवासीय नेपाली संघहरूले सहकार्य गर्न सक्छन्।
नेपाली भाषाको मानक पहिल्याउन, स्तरीकरण गर्न, आनुनिकीकरण गर्न र भाषामा देखा परेका चुनौतीहरूलाई निराकरण गर्न अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्नुपर्दछ।
११. हामी काठमाडौं उपत्यकाका गल्लीगल्लीमा विभिन्न भाषा पढाइ हुने सूचनाहरू देख्छौं। नेपाल मात्रै यस्तो देश होला जहाँ संसारका प्रायः सबै मुख्य भाषाको पढाइ हुन्छ। अरु त अरु संसारभरि एक करोडले समेत नबोल्ने हिब्रु भाषाको समेत नेपालमा पढाइ हुन्छ। जागीर खान पाइन्छ भनेपछि हामी कोरियन, क्यान्टोनिज, थाई, बंगाली, तमिल वा जुनसुकै भाषा पढ्न तयार छौं। तर, के नेपालमा काम गर्न आउने विदेशी कामदारहरूले न्यूनतम नेपाली भाषा जान्नैपर्ने व्यवस्था छ? छैन। बरु उनीहरूले हिन्दी बोले हामी नै हिन्दी बोलिदिन्छौं, अंग्रेजी बोले अंग्रेजीमै बोल्छौं। मानौं हाम्रा लागि आफ्नो भाषामा गर्व गर्नुपर्ने कुनै कारण छैन।
अझ कुनै योग्य नेपालीले ‘आफूलाई अंग्रेजी आउँछ, अंग्रेजीमै स्नातकोत्तर गरेको हुँ, यो पुस्तक पनि लेखेको छु’ आदि इत्यादि भनेर प्रमाण जुटाउँदा समेत अंग्रेजका सन्तानले हामीलाई आईएलटीएस वा टोफल गर्न बाध्य पार्छन्। यसको भित्री कारण भनेको उनीहरूको भाषाको व्यापार बढाउनु नै हो। उप्रान्त नेपाली भाषाको न्यूनतम अध्ययन नगरी नेपालमा काम गर्न आउने विदेशीलाई काम गर्ने अनुमति दिइनु हुँदैन। दिइहाले पनि नेपाल आएको निश्चित अवधिमा नेपाली भाषाको कुनै मानक तह उत्तीर्ण गरेको हुनैपर्ने व्यवस्था राख्न सकिन्छ। यसले नेपाली भाषाको स्तरीकरण, रोजगारी सिर्जना र विश्वव्यापीकरणमा मद्दत पुग्छ।
१२. नेपालको पर्यटनमा नेपालबाहिर बसेका नेपालीहरूको उल्लेख्य योगदान छ। कहिले काहीं हामी यति हजार अमेरिकीले नेपाल भ्रमण गरेछन् भनेर त्यो तथ्यांक हेरेर मक्ख पर्छौं। तर‚ ती बहुसंख्यक अमेरिकन भनेका अमेरिकी पासपोर्टधारी नेपाली मूलका मानिस हुन्। उनीहरू नेपाल आइरहने विभिन्न कारणहरू होलान्, जस्तैः आफन्त भेटघाट, सम्पत्ति व्यवस्थापन, तीर्थाटन आदि। तर, एउटा महत्त्वपूर्ण कारण हो, आफ्ना बालबालिकाले नेपाल, नेपाली भाषा र नेपाली संस्कृति नबिर्सिऊन् भन्ने अभिप्राय। नेपालको बर्खायाममा यूरोप अमेरिकातिरबाट नेपाल घुम्न गएका बालबालिका प्रायः एउटा कक्षा सकाएर अर्को कक्षा शुरू नहुँदाको खुला समयमा नेपाल पुगेका हुन्छन्। उनीहरूले नेपाली मात्रै बोलिने परिवेशमा एकाध महीना बसेर निश्चय नै धेरथोर नेपाली भाषा बोल्न सिक्छन्। तर‚ त्यो औपचारिक शिक्षा होइन र उनीहरूले बोल्न मात्रै जान्ने हुन्, लेख्न जान्ने होइनन्। तसर्थ, नेपालीमूलका विदेशी बालबालिकालाई लक्षित गरेर छोटो अवधिका (जस्तैः एक-दुई हप्ते वा एक महीने वा दुई–तीन महीने) भाषा कक्षा सञ्चालन गरी नेपालमा पर्यटन प्रवर्द्धन र विदेशमा नेपाली भाषा प्रवर्द्धन गर्न सकिन्छ।
हिजोआज नेपालबाहिर पनि मातृभाषाका रूपमा नेपाली भाषा बोल्नेको संख्या उल्लेख्य छ। तर, त्यो भाषा बालबच्चामा स्थानान्तरण हुने क्रम कम छ। किनभने‚ बाबुआमा आफैं पनि बच्चाहरूसँग अंग्रेजी वा सम्बन्धित देशको भाषा बोल्दिन्छन्। परिणाम स्वरुप अभिभावकहरूको मृत्युसँगै भाषा पनि मर्छ। उदाहरणका लागि मरिसस, ट्रिनिड्याड जस्ता धेरै देशहरू छन् जहाँ भारतीयमूलका कामदारहरूलाई अंग्रेजी उपनिवेशका क्रममा स्थानान्तरण गरिएको थियो। त्यहाँ पुगेका भारतीयहरूले समयक्रममा अंग्रेजी र स्थानीय भाषा अपनाए। हिन्दी भाषा बिर्से।
अन्त्यमा‚ भाषासँग प्रयोगकर्ताहरूको संस्कृति र मौलिकता जोडिएको हुन्छ। नेपालीहरूले नेपाली पहिचानका लागि टोपी लगाएर वा खुकुरी भिरेर मात्रै पुग्दैन, भाषा पनि जानेको हुनुपर्छ। नेपाली भाषालाई अजासु (अति जान्ने-सुन्ने) नेपालीहरूबाटै खतरा छ। जो अंग्रेजी सिक्नुलाई सभ्यता र मानक ठान्छन्। जो नेपाली बोल्नै नपाइने विद्यालय खोजेर बच्चा भर्ना गर्छन्। जो आफ्ना बालबच्चाहरूसँग अंग्रेजी वा त्यस्तै साम्राज्यवादी भाषामा बोलीचाली गर्न रुचाउँछन्।