मकवानपुर २ मा गुरुलाई चेलाको चुनौती!
मकवानपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडा र एमालेका महेश बर्तौलाबीच प्रतिस्पर्धा हुने देखिएको छ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले तयारी तीव्र पारेका छन्। सबै दल उम्मेदवार छनोटमा जुटिरहेका छन्।
उम्मेदवार छनोट र नेताहरूको आकांक्षा हेर्दा आगामी निर्वाचन रोचक हुने देखिएको छ। सत्ता गठबन्धनसँग प्रतिपक्षी एमालेलाई निर्वाचनमा सहज भने छैन। त्यसैले एमालेले बलियो उम्मेदवारलाई अगाडि बढाउने नीति बनाएको केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजाल बत्ताउँछन्। सोही नीति अनुसार जित्ने आधार रहेका युवा नेतालाई टिकट दिने तयारी गरेको छ।
जस अन्तर्गत एमालेले मकवानपुर क्षेत्र नं २ मा एमाले बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलालाई उठाउने तयारी गरेको छ। गठबन्धनले भने उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित विरोध खतिवडा उठाउने तयारी गरेको छ। खतिवडा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा गएका हुन्। पाँच दलीय गठबन्धनको तर्फबाट खतिवडा यस क्षेत्रमा चुनाव लड्ने लगभग पक्का जस्तै छ।
खतिवडालाई टक्कर दिने उम्मेदवार बर्तौला नै हुने भएकाले एमालेले लगभग उनलाई टिकट दिने पक्का भएको एमालेका एकजना नेता बत्ताउँछन्। “यो निर्वाचनमा एमालेका लागि विशेष निर्वाचन हुने देखिन्छ। किनभने यो निर्वाचन सबै पार्टी एकातिर र हामी एक्लै अर्कोतिर भएर लड्न गइरहेका छौ,” ती नेताले भने‚ “यस हिसाबले पनि पार्टीले बलियो उम्मेदवार उठाउने तयारीमा छ। त्यस कारण मकवानपुर २ मा महेश बर्तौलाको टिकट लगभग टुङ्गिएको जस्तै छ।”
मकवानपुर २ विगतमा एमालेको प्रभाव भएको क्षेत्र हो। यस पटक भने पूर्व एमाले र एमालेका उम्मेदवारबीच चुनावी भिडन्त हुने देखिएको छ। खतिवडा मकवानपुर २ का बलियो उम्मेदवार हुन्। २०४८ पछिका चार वटा निर्वाचनमा जितेर सांसद भइसकेका खतिवडाको यो पाँचौं चुनावी प्रतिस्पर्धा हो।
विगतमा एमालेबाट नै विजयी भएका खतिवडालाई यो पटक भने एमालेलाई नै हराउनुपर्ने चुनौती छ। खतिवडा २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका हुन्।
एमालेलाई पनि लामो समयदेखि आफ्नै पार्टीबाट चुनाव जित्दै आएका खतिवडालाई हराउने चुनौती छ। एमालेबाट बर्तौला सहित संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्ध रत्न मानन्धरको नाम सिफारिस भएको छ। एकीकृत समाजवादीबाट खतिवडाको मात्र नाम सिफारिस भएको छ।
खतिवडालाई टक्कर दिन बर्तौलाले मात्र सक्ने भएकाले उनलाई टिकट दिने तयारी रहेको एक नेता बताउँछन्। उम्मेदवारको अन्तिम निर्णय भने अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
गुरूलाई चेलाको चुनौती!
महेश बर्तौला विद्यार्थी राजनीतिबाट आएका हुन्। त्यसैले पार्टीका युवामाझ उनी लोकप्रिय छन्। अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष भइसकेका बर्तौला र खतिवडा भने राजनीतिमा गुरु-चेला हुन्। उनै चेला आगामी निर्वाचनमा खतिवडाका लागि चुनौती बनेका छन्।
अहिलेको राजनीतिक दबाब र जनताले चाहेको परिवर्तनका कारण आफूले चुनाव जित्ने सम्भावना रहेको नेता बर्तौला बताउँछन्। पार्टीको संगठन र युवाका कारण आफ्नो जित हुने उनको दाबी छ।
गठबन्धनकै दल माओवादी केन्द्रले पनि यस क्षेत्रमा दाबी गर्दै आएको छ। प्रतिनिधि सभातर्फ मकवानपुर २ नछोड्ने माओवादी केन्द्रको अडान छ। यस क्षेत्रमा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य कुमारी मोक्तान र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण बिडारीले दाबी गर्दै आएका छन्।
गएको स्थानीय चुनावमा गठबन्धन पूर्णरुपमा लागू नभएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि व्यक्त गर्दै आएको छ। आगामी निर्वाचनमा पनि स्थानीय तह निर्वाचनमा झैं गठबन्धन पूर्ण रूपमा लागू नभए एमालेका उम्मेदवारलाई हराउन खतिवडालाई चुनौती हुने देखिन्छ।