हँसिया हथौडामा मत नदिन भूइकटहर समूहको अपील
नेपाली कांग्रेस चितवनको विद्रोही समूहले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नमा भोट नदिन अपील गरेको छ।
गत स्थानीय निर्वाचनमा भरतपुर महानगरमा पार्टीको निर्देशन विपरीत भूइकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएको यो समूहले भदौ २६ गते पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो।
“हामी तमाम कांग्रेसका नेता तथा कार्यकर्ता साथीहरूले कांग्रेस कै पक्षमा उभिन र हँसिया हथौडामा भोट नहाली खुला विद्रोह गर्न आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “आजको दिन यही नै बीपी कोइरालाप्रति वास्तविक सम्मान र श्रदाञ्जली हुन्छ।”
भरतपुरको मेयर पदका उम्मेदवारी दिएको काँग्रेस चितवनको जगन्नाथ पौडेल पक्षले आउँदो मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनका विरोध गर्ने जनाएको छ। चितवनको तीन वटै संघिय क्षेत्र र ६ वटा प्रदेश क्षेत्रमा उम्मेदवारी दिने तयारी भएको पूर्व सांसद जगन्नाथ पौडेल बताउँछन्।
काँग्रेसले गठबन्धनको नाममा उम्मेदवारी नदिए गठबन्धनको विपक्षमा रहेका काँग्रेसका समर्थकले उम्मेदवारी दिने उनले बताए। स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउँदा त्यसको विरोध गर्दै उनी भूँइकटहर चिन्हबाट निर्वाचनको उम्मेदवार भएका थिए । स्थानिय तहको चुनावको तुलनामा अहिले गठबन्धनको विरुद्धमा जनमत बढेको उनको दाबी छ । ‘हरेक पार्टीलाई जनताको जनमत लिएर सरकारमा जान अधिकार दिएको छ’ भरतपुरमा आयाेजित पत्रकार सम्मेलन गरेर उनले भने,‘गठबन्धन नगरीकन सरकारमा जान सकिदैन भन्ने होईन । हामी जनतामा जानुपर्छ । अधिकतम जनताको समर्थन लिएर सरकारमा जान किन प्रयास भईरहेको छैन।’
बागी उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेसले गरेको कारबाही अहिलेसम्म फुकुवा गरेको छैन। पूर्व शर्त राखेर कारबाही फुकुवा गरिए त्यो मान्य नहुने उनले बताए। कांग्रेस शुद्धिकरणका लागि एकिकृत बनेको चितवन कांग्रेसी यो समूह गठबन्धन कांग्रेसको सर्तहरुमा नअटाउने उनको दाबी छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र रहेको र यसमा गठबन्धनको विपक्षमा रहेका काँग्रेसका उम्मेवार दिन रणनीतिक तयारीमा रहेको उनले बताए ।