मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा पद त्यागको घोषणा
राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीको प्रशिक्षक पद छाडेको घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले मुख्य प्रशिक्षक पद छोडेको घोषणा गरेका हुन्। उनले भनेका छन्, “नेपाली राष्ट्रिय फूटबल टोलीको प्रशिक्षक छाडेको घोषणा गर्दछु।”
उनी डेढ वर्षअघि नेपाल राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि प्रशिक्षक छोड्ने घोषणा गरेका थिए।
त्यसपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले दुबई पुगेर पुनः नेपाली टोलीको जिम्मेवारी सम्हाल्न सहमत गराएका थिए। फेरि उनले पद त्याग गरेको घोषणा गरेका छन्।
यस पटक भने उनको खेलाडीसँग विवाद भएको थियो। बन्द प्रशिक्षणका क्रममा खेलाडीले होटलमा बस्ने व्यवस्था गर्न माग गरेका थिए। त्यसमा उनले असहमति जनाएका थिए। त्यहि विवाद बढ्दै गएपछि अल्मुताइरीले १० जना खेलाडीलाई बन्द प्रशिक्षणबाटै निकालेका थिए।
त्यहि विवादका कारण उनी मुख्य प्रशिक्षकबाट बाहिरिन बाध्य भएका हुन्। उनले यो ५२५ दिनको अवधिमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।