बाल बिठ्याइँबाट खतरामा खेत खलियानका चरा
मानवीय क्रियाकलापहरूका कारण प्रकृति नै विनासोन्मुख भइरहँदा खेतबारीमा आउने चरा पनि मारमा परेका छन्।
चरा मन नपर्ने को नै होला र! सबैलाई मन पर्ने र खेती किसानीको काममा सहयोगी भूमिका निर्वाह गर्ने चराको आयाम खोतल्ने प्रयास गरेका छन् पन्छी अनुसन्धानकर्मी हेम कटुवालले। उनले कपिलवस्तु, चितवन, सर्लाही र सुनसरीका ७४३ किसानसँग वार्ता गरी चरा सम्बन्धी ज्ञानको उजागर गर्ने जमर्को गरेका हुन्।
कटुवालले १६ देखि ८७ वर्षसम्मका किसानसँग विभिन्न चराबारे जिज्ञासा राखेका थिए। उनीहरूले चरा चिने पनि त्यसको प्रजातिको नाम भने थाहा नपाएको हेमको अनुभव छ।
साधारण लेखपढ गर्न सक्ने किसानलाई चरा मार्नु हुँदैन भन्ने जानकारी नभएको अध्ययनका क्रममा पाइएको कटुवाल बताउँछन्। कतिपय किसान भने चराको रूपरङ र आवाजले मोहित हुने गरेका रहेछन्।
धेरै किसानलाई खेतबारीमा आउने चराको संख्या घट्नुमा चोरी शिकारी, विषादीको अनियन्त्रित प्रयोग, बारीका डिलमा चरालाई गुँड लगाउने ठूला रूख नभएकाले हो भन्ने लाग्दो रहेछ। नेपालको परम्परागत खेती गर्ने अभ्यास चरामैत्री छ। चराले बालीनालीमा लाग्ने किरा खाएर सघाउँछ भन्ने केही किसानले बुझेका छन्। तर, आम किसान चराप्रति नकारात्मक धारण राख्छन्।
“चरा जोगाउने हो भने किसानहरूलाई चरा सम्बन्धी ज्ञान तथा जानकारी दिन जरुरी छ,” कटुवाल भन्छन्, “पर्यावरण र चराको महत्त्वबारे जानकारी प्रसार गर्न जरुरी छ।”
विकसित मुलुकमा पर्यावरणमैत्री कृषि कार्यक्रम लागू भए पनि विकासोन्मुख मुलुकमा भने त्यस्ता कार्यक्रम छैन। “नेपालमा त खेतबारीमा आउने चरा जोगाउनुपर्छ भन्ने सूचना, जानकारी कहीं कतैबाट प्रसार हुन सकेको छैन। चरा जोगाउने कुरा त झन् परको कुरा,” कटुवाल भन्छन्।
नेपालमा संरक्षण प्रयास ठूला प्रजातिमा केन्द्रित छ। ती प्राणी संरक्षण क्षेत्रमा हुन्छन्। संरक्षण क्षेत्रबाहिरका क्षेत्र र खेत खलियानमा संरक्षणका जानकारी र सूचना पुग्न सकेको छैन। वन विभागले वन क्षेत्र हेर्छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षित क्षेत्र। अन्य क्षेत्रका लागि संरक्षण क्रियाकलाप गर्ने कुनै निकाय छैन।
खेतबारीमा चरा मात्र होइन‚ कृषि जैविक विविधता जोगाउन किसानहरूको ठूलो महत्त्व हुन्छ। पुस्तौंदेखि देखेको चराबारे किसानहरूलाई ज्ञान हुने गर्छ। चराको प्रजनन‚ जोखिम र स्थानीय पर्यावरणको ज्ञान उनीहरूलाई हुन्छ। नेपालमा खेती र बालीसँग सम्बन्धित कृषि अनुसन्धान भए पनि कृषि क्षेत्रको चराबारे अध्ययन नभए बराबर नै छ। “खेतबारीका चराबारे अध्ययन विश्वव्यापी प्राथमिकतामा पनि परेको छैन‚ नेपालमा भने आधारभूत सूचना पनि नभएको अवस्था छ,” कटुवाल बताउँछन्।
भूमि व्यवस्थापन र चराको विविधताबारे दक्षिणएशियमा नै कम अध्ययन भएका छन् भने नेपालमा त यसबारे अध्ययन नै भएको छैन। दक्षिणएशियामा पाइने चरामध्ये २०-२५ प्रतिशत प्रजातिले खेतबारीमा पाइन्छन्। नेपालमा पाइने कुल चरा प्रजातिमा २५ प्रतिशत चरा खेतबारीमा पाइन्छन्, तीनमा २० प्रजाति विश्वव्यापी जोखिममा परेका चरा प्रजाति छन्। त्यस्ता चरामा बगाले बगेडी, भुँडीफोर गरुड र सारस लगायत पर्दछन्।
“नेपालमा चरा घटेको भनिन्छ तर के कति घट्यो भने अध्ययन भएको छैन‚” कटुवाल भन्छन्‚ “खेतबारीमा आउने चराको संख्याबारे पनि यसै हो भन्न सकिने अवस्था छैन।”
यद्यपि‚ कटुवालले कपिलवस्तु, चितवन, सर्लाही र सुनसरीमा गरेको अध्ययनले किसानको चरा सम्बन्धी ज्ञान, चराले दिने पर्यावरणीय सेवा सम्बन्धी ज्ञान, चराको प्रवृत्ति, चरालाई भइरहेका चुनौतीबारे बुझ्ने आधार दिएको छ। कटुवाल भन्छन्‚ “हामीले पश्चिममा कपिलवस्तु, मध्य क्षेत्रमा चितवन र सर्लाही र पूर्वमा सुनसरीमा गरेका थियौं।” अध्ययन क्षेत्रमा दुईवटा संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष छन् भने अन्य दुई जिल्ला कपिलवस्तु र सर्लाहीमा संरक्षित क्षेत्र छैनन्। यी क्षेत्रको मौसम उष्ण प्रदेशीय छ। मुख्य वनस्पतिमा साल, सिसौ, सिमल, खयर छन्।
अध्ययनका क्रममा किसानहरूलाई चराको फोटो देखाएर त्यसबारे सोधिखोजी गरेको उनी बताउँछन्। “चराबारे किसानको ज्ञानको परख गर्न हामीले १५ चरा प्रजातिको पोस्टकार्ड आकारको फोटो किसानहरूलाई देखायौं। त्यसमा पाँच प्रजाति आइयूसीएनको विश्वव्यापी जोखिम (ग्लोबल थ्रिटेन्ड) मा परेका प्रजाति थिए,” उनी भन्छन्, “जसमा बगाले बगेडी (यल्लो ब्रिस्टेड बन्टिङ) पनि थिए।”
बगाले बगेडी हिउँदे आगन्तुक चरा हो। बसाइँसराइको क्रममा नेपालमा आउने यो चरा ५० देखि एक हजारसम्मको बथानमा आउँछन्। यी चरा नेपालमा कात्तिकदेखि जेठसम्मको झन्डै ६ महीनासम्म देखिन्छन्। अध्ययनमा समावेश अन्य १३ प्रजाति तराई क्षेत्रमा बच्चा कोरल्न आउने चरा थिए। किसानहरूले ती चरा देखेका छन् कि छैनन्, गुँड बनाउने चराको आनीबानी थाहा छ कि छैन, तिनको संख्या र संरक्षणको अवस्थाबारे थाहा छ कि छैन भन्ने अध्ययन गरिएको कटुवाल बताउँछन्।
अध्ययन क्रममा कपिलवस्तुमा १९७, चिवनमा २१०, सर्लाहीमा १६५, सुनसरी १८० जनालाई प्रश्न सोधिएको थियो। तीमध्ये ७२ प्रतिशत पुरुष थिए जसमा ६६ प्रतिशतले औपचारिक शिक्षा हासिल गरेका थिए। अध्ययनमा के देखियो भने जोखिममा परेको प्रजातिमा भुँडीफोर गरुड (लेसर एडजन्ट) धेरै देखिएको र चिनिएको चरा प्रजाति थियो। त्यस्तै, सुगा प्रजातिमा ‘प्लम्प हेडेड पाराकेट’ धेरै देखिने र सबैले चिन्ने प्रजाति थियो।
खेतबारीमा आउने चरा त किसानहरूले देख्ने नै भए। देखिएको चराहरूको गुँड देख्नुभएको छ भनी प्रश्न गर्दा ३० प्रतिशतले मात्रै देखेको बताएका थिए। चराको फोटो देखाउँदै अध्ययन गरिहँदा एक ठाउँमा त किसानले उनीहरूलाई चरा खोज्न आएको भन्ठाने छन्। तपाईंलाई चाहिएको चरा ल्याइदिन्छौं भनेर प्रस्ताव गरेछन्। यसबाट संरक्षणको सूचना जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्नै सकेको रहेनछ भन्ने देखिएको कटुवाल बताउँछन्।
“नीतिगत तहमा, केन्द्रमा हामी संरक्षणको कुरा गर्छौं तर स्थानीय बासिन्दालाई ती कुरा वास्ता हुँदो रहेनछ,” कटुवाल भन्छन्, “त्यसैले चरा मार्नु हुँदैन भन्ने जानकारी स्थानीय तहसम्म पुर्याउन सेचतन अभियान चलाउनु पर्ने देखिन्छ।”
अध्ययनमा सहभागीमध्ये करीब ५८ प्रतिशतले चरा कृषि कर्मका लागि उपयोगी हो भन्ने बुझेका रहेछन्। त्यस्तै‚ ९४ प्रतिशत किसानले खेतबारीमा आउने चराले किरा खाएर कृषि कर्मलाई सघाउने बुझेका रहेछन्। धेरैजसो किसानले सुगा प्रजातिको प्लम हेडेड पाराकिट मन परेको बताएको कुटवाल बताउँछन्। यद्यपि‚ बाली खाइदिने यसको बानीले गर्दा धेरै किसानलाई सुगा टाउको दुखाइ बन्ने गरेको रहेछ। सुगाले खेतमा हुने धान, मकै, गहुँ, खान रुचाउँछ। केही किसानलाई भने घरमा पालेको कुखुरा खाइदिने चिल (र्याप्चर) सँग रिस उठेको रहेछ।
अध्ययनका क्रममा भेटिएका ९० प्रतिशत किसानले शिकार, विषादी, गुँड बनाउने रूखको अभावमा चरा जोखिममा परेको बताएका थिए। “बस्ती विकास र खानाको अभावले पनि चरा घटेको उनीहरूको राय थियो,” कटुवाल भन्छन्।
बालबालिकाको बिठ्याइँले चरालाई मार
अध्ययनमा सहभागीमध्ये १९ प्रतिशतले केटाकेटी उमेरमा आफूले चरा मारेको बताएका थिए। चरा मार्नेमा सबै समुदायका रहेको पाइएको कटुवाल बताउँछन्।
“४८ प्रतिशतले किसानले बालबालिकाले धेरै चरा मार्ने बताए, ४० प्रतिशतले भने सबै उमेर समूहका मान्छेले चरा मार्ने गरेको बताए‚” उनी भन्छन्‚ “खासमा सबै समुदायका बालबालिकाले चरा मार्ने गरेका छन्, संरक्षण शिक्षा दिन सकियो भने चरा मार्ने काम बन्द हुन्छ।”
फिरन्ते समुदायको सदस्य तथा आर्थिक रुपमा विपन्न समुदायका मान्छेले बढी चरा मार्ने गरेको किसानहरूको बुझाइ रहेछ। नवलपरासीको अमलटारी र अन्य केही जिल्लामा त गुलेली प्रतिबन्धित नै छ। त्यहाँका बच्चाहरूलाई चरा मार्न हुन्न भन्ने थाहा छ। जहाँ चरा हेर्न मान्छे पुग्छन्, पर्या-पर्यटन फस्टाएको हुन्छ, त्यहाँका मान्छेले चराबारे बढी जानकारी भएको कटुवाल बताउँछन्।
कृषि भूमिमा चराको राम्रो बासस्थान हो। मिश्रित बाली र रुख धरै भएको ठाउँमा चराको संख्या राम्रो हुने गर्दछ। मिश्रित खेती चराको संरक्षणका लागि राम्रो हुने कटुवाल बताउँछन्। “चराका लागि सबभन्दा राम्रो उखु हो,” उनी भन्छन्, “खेतीबारीको एक खण्डमा अलिकति उखु लगाइयो भने केही ठाउँमा धेरै राम्रो।”
भूमिको आकार र सिंचाइको उपलब्धताले पनि कुन खेती लगाउने निर्धारण गर्दछ। मनसूनमा प्रायः धान लगान्छ। हिँउदमा तोरी, दालहन, गहुँ, तरकारी र सूर्यमुखी, कहिले काहीं मकै लगाएको पाइन्छ।
कटुवालले अध्ययन क्रममा खेतबारीमा २०१ चरा प्रजातिको अभिलेख गर्न सकेको बताए। खेतबारीमा भेटिएका ती चरामा आधाउधी वनमा बस्ने चरा थिए भने आधाउधी पानीमा बस्ने चराहरू थिए। अध्ययन क्रममा हिउँदको मौसममा धेरै चरा प्रजाति भेटिए। चराको संख्या भने मनसुनयाममा अधिक पाइए।
सुनसरीमा १७७ प्रजाति, चितवनमा १६६ प्रजाति कपीलवस्तुमा १५० प्रजाति, सर्लाहीमा १३८ प्रजाति चरा भेटिए। धेरै प्रजाति चितवनमा भेटिए भने अधिक संख्या सुनसरीमा। खेतबारीमा धरै आउने चराहरूमा कालो चिबे, आली चुइँया र डांग्रे (रुपी) छन्।
चराहरू ओम्निभोरस, कार्निभोरस र इन्सेक्टिभोरस हुन्छन्। इन्सेक्टिभोरसको मुख्य आहारा विभिन्न खालका किरा हुन्। यस्तो चराको प्रचुरता र विविधता हिउँदमा देखिन्छ। ओम्निभोरस वर्गका चराको मुख्य आहारा दाना हुने बिउबिजन हुन्। यी प्रजातिको चराको विविधता र प्रचुरता गर्मीयाममा हुन्छ, विषेशगरी मनसुनमा। कार्निभोरसको विविधता र प्रचुरता मनसुनमा हुन्छ। इन्सेक्टिभोरस र ओम्निभोरसको विविधता मिश्रित खेतीमा बढी हुने गरेको छ। कार्निभोरसको प्रचुरता एकल खेतीमा हुने गरेको छ। “मिश्रित बालीमा एकल बालीमा भन्दा बढी चरा प्रजाति भेटिन्छ,” उनी भन्छन्।
आधारभूत अध्ययन
चिनियाँ विज्ञान प्रतिष्ठानबाट चरामा विद्यावारिधी गरेका कटुवालले सन् २०१८ देखि खेतबारीमा पाइने चराहरूको अध्ययन गरिरहेका छन्। उनको यस अध्यय चार जिल्लामा सीमित भए पनि यस अध्ययनले बदलिंदो कृषि अभ्यास र त्यसले चरामा पारेको प्रभावबारे प्रभावकारी संकेत दिने चराविद् कृष्ण भुसाल बताउँछन्।
“आधुनिक तथा व्यावसायिक कृषि चराका लागि राम्रो नहुने देखिन्छ। किनभने टनेल खेती, पोखरीलाई जालीले जोगाउँदा चराले चारा नपाउने अवस्था छ। आफ्ना पोखरीमा भएका माछापालन जोगाउने किसानहरूले जलेवा, मलाहा चिल, बसाइँ आउने हाँसलाई मार्ने पनि गरेको पाइन्छ,” भुसाल भन्छन्।
चराहरू परिवर्तित पर्यावरणबारे संकेत गर्न सक्ने प्राणी हुन् तर विषादीले चराहरूलाई कस्तो प्रभाव परेको छ भन्ने नेपालमा अध्ययन भएको छैन। “खासमा विषादीको अनियन्त्रित र जथाभावी प्रयोगले समग्र पर्यावरणमै असर परेको छ भने त्यसको असर चरामा पनि परेको छ,” उनी भन्छन्। उदाहरणका लागि एक जोडी लाटोकोसेरोले आफ्नो बच्चा कोरल्ने समयमा झन्डै तीन हजार वटा मुसा खान्छ।
पछिल्ला वर्ष एशिया क्षेत्रको खेतबारीमा पाइने चरा पनि तीव्र गतिमा संकटमा पर्दै गइरहेको पाइएको आइयूसीएन र बर्डलाइफ इन्टरन्याशनलको चराको रातो सूची निर्धारण कार्यमा नेपालबाट सहभागी हुने पन्छीविज्ञ भुसाल बताउँछन्। बर्डलाइफ इन्टरन्याशनलका अनुसार‚ विश्वमा चरा लोप हुँदै जानुको पाँच कारण छन्। जसमध्ये प्रमुख कारण तीव्र आधुनिक कृषि प्रणालीको विकास हो। विश्वमा पाइने ११ हजारभन्दा बढी प्रजातिका चरामध्ये हाल करीब १५ सय प्रजाति लोपोन्मुख अवस्थामा छन् जसमध्ये ७४ प्रतिशत प्रजाति बदलिंदो खेती प्रणालीको विस्तारबाट प्रत्यक्ष मारमा परेका छन्। कृषि क्षेत्रको विस्तारको कारण प्राकृतिक वातावरण नासिंदा चराको बासस्थान पनि हराएको छ।
लुम्बिनी लगायतका ठाउँमा भारतमा जस्तै भुसलाई आगो लगाइदिने चलन आउँदैछ। त्यसले पनि किरा, सर्प, सरिसृपहरू नासिंदा चराको आहारा नासिन्छ। खेतबारीका चराबारे खासै अध्ययन नभएकाले कटुवाललाई खेतबारीमा धेरै चरा पाइँदैन कि भन्ने लागेको थियो। तर, अध्ययनमा त्यो अनुमान गलत भएको उनी बताउँछन्।
“नत्र त ती ठाउँमा पनि धेरै अध्ययन हुन्थ्यो होला भन्ने लाग्थ्यो,” कटुवाल भन्छन्, “तर खोज्दै जाँदा त खेतबारीमा धेरै चरा आउने रहेछन्।”