भारतले लगाएको चामल करको नेपालमा असर
दशैंको मुखमा भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा नेपालमा पनि चामलको मूल्य बढ्ने भएको छ।
भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ भने कनिका निर्यात रोकेको छ। बासमती र उसिना बाहेक अन्य चामलमा भदौ २४ गतदेखि कर लगाएको हो।
पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादन घटेकाले चामल निर्यातमा कर लगाएको जनाइएको छ। मौसम प्रतिकूलका कारण भारतभर यो वर्ष चामल उत्पादन करीब ७० लाख टन घट्ने अनुमान छ। संसारमा सबैभन्दा बढी धान उत्पादन गर्ने चीनपछि दोस्रो देश भारतले कर लगाएसँगै यसको असर नेपालमा पर्ने भएको छ।
भारतले कर लगाउँदा दशैंको मुखमा नेपालमा चामलको मूल्य बढ्नसक्ने व्यवसायी बताउँछन्। यससँगै नेपालका चामल महंगो हुने चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुवोध गुप्ता बताउँछन्। “नेपालमा भारतबाट करीब ८० प्रतिशत धान, चामल र कनिका आयात हुन्छन्। भारतले कर लगाउँदा नेपाली उद्योग समस्यामा पर्छन,” गुप्ता भन्छन्।
सबै कुरामा भारतमै निर्भर भएकाले खाद्यान्नमा रोक लगाउँदै जाँदा नेपाली उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउने उनको भनाइ छ। ”कनिका निर्यातमा प्रतिबन्ध लगाउँदा बियर, हुस्की उद्योग समस्यामा पर्छन्,” अध्यक्ष गुप्ता भन्छन्। भारतले १५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ।
भारतको यस निर्णयले नेपाली खाद्यान्न उद्योग समस्यामा पर्ने वीरगञ्जका व्यवसायीले जनाएका छन्। भारतबाट उपभोग्य सामान आयात हुने वीरगञ्ज मुख्य नाका हो। वीरगञ्ज उद्योग वाणिज्य संघले पनि विज्ञप्ति जारी गरी केही समयअघि भारतले गहुँ निर्यातमा रोक लगाएको र अहिले धान, चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा नेपाली खाद्यान्न उद्योगी झन् समस्यामा परेको जनाएको छ।
यससँगै कनिका निर्यातमा भारतले लगाएको प्रतिबन्धले नेपाली उद्योगी, व्यवसायी प्रभावित हुने संघले जनाएको छ। नेपालको लागि धान शून्य भन्सार शुल्कमा निर्यात गर्न भारत सरकार समक्ष यथाशीघ्र पहल गर्न संघले नेपाल सरकारलाई आग्रह गरेको छ।
कनिका निर्यातमा लगाएको प्रतिबन्ध मदिरा उत्पादनमा भने असर नपर्ने मदिरा व्यवसायीको भनाइ छ। यतीले उत्पादन गर्दै आएको सबै ब्रान्डमा कनिका प्रयोग नगरेको असर नपर्ने यती डिस्टिलरीका प्रबन्ध निर्देशक रवि केशीको भनाइ छ। “मलाई लाग्छ, नेपालमा कुनै पनि बियर उत्पादन कम्पनीले कनिका प्रयोग गर्दैन होला। हामीले ८८४८, ओल्ड दरबार र बाह्राहिंगे वियर उत्पादन गर्छाै। यसका लागि चाहिने सबै कच्चा पदार्थ जमर्नबाट आयात गर्छाै,” उनी भन्छन्।
भारतबाट नेपालमा वार्षिक ५० अर्बको धान, चामल र कनिका आयात हुँदै आएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार, गतवर्ष भने ४७ अर्ब ५७ करोड ३६ लाख ८३ हजार रुपैयाँको आयात भएको थियो। जसमध्ये १६ अर्ब ९९ करोड सात लाख २६ हजारको धान, २९ अर्ब चार करोड ६४ लाख ६१ हजारको चामल र एक अर्ब ५३ करोड ६४ लाख ९५ हजारको कनिका रहेको थियो।
नेपालमा १५ लाख चार हजार ४८८.४२ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। नेपालमा उत्पादन हुने धानले करीब ६ महीनासम्म पुग्ने गरेको छ। तर, चालु आर्थिक वर्षमा नेपालमा पनि मनसुन ब्रेक भएका कारणले गत वर्षको तुलनामा कम रोपाइँ भएको छ। जसले गर्दा नेपालमा धान उत्पादन घट्ने आकलन गरिएको छ। यस्तो वेला भारतले कर बढाउँदा नेपालमा चामल महंगो हुने व्यवासयीको अनुमान छ।
यो समस्या सुल्झाउन प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने चामल, तेल, दाल उद्योग संघका अध्यक्ष गुप्ता बताउँछन्। “प्रधानमन्त्रीले नै यसमा पहल लिनुपर्छ,” उनी भन्छन्, “यससँगै अब नेपालमा पनि कृषि उत्पादन बढाउने उपाय खोज्नुपर्छ।”
गत पाँच वर्षमा भारतबाट आयत भएको धान, चामल र कनिका: