ताेकेकाे ज्याला दिनुपरे चिया उद्योग नै बन्द गर्ने चेतावनी
श्रमिकलाई नगरपालिकाले तोकेको ज्याला दिनुपरे चिया उद्योग नै बन्द गर्ने इलामको सूर्योदय नगरपालिकाका उद्योगीले चेतावनी दिएका छन् ।
नयाँ श्रमजीवी ऐनअनुसार न्यूनतम ज्याला कार्यान्वयन गर्दा उद्योग नै डुब्ने भन्दै उनीहरुले उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् ।
सूर्योदय टी एशोशिएसनमा आबद्ध उद्योगीले विज्ञप्ति निकालेर सरकारी पक्षबाट सहयोग नपाएको र आफैं मात्रै लगानी गरेर तोकेको ज्याला दिन नसक्ने बताए ।
एसोसिएसनमा ६२ भन्दाबढी उद्योग आबद्ध छन् । उनीहरुले भारतीय बजारमा बिक्री हुने चियाले लागत मूल्य धान्न नसकेको, उद्योगमा तोकिएको मापदण्डको पत्ती नआएको, ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्नेजस्ता कारणले आफूहरू समस्यामा परेको उल्लेख गरेका छन् ।
सरकारले चिया उत्पादक किसान र आफैं उद्योग सञ्चालन गरेका साना किसानलाई उत्पादन र बजारीकरणमा सहुलियत नदिएसम्म चिया क्षेत्र माथि उठ्न नसक्ने उद्योगीको भनाइ छ ।