‘रविन्द्र अधिकारी–हेलिकोप्टर दुर्घटनाः खराब मौसम मात्र कारक थिएन’
१५ फागुनमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुनुमा खराब मौसम मात्र कारक नरहेको जनाइएको छ ।
दुर्घटना जाँच आयोगले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा खराब मौसमकै कारण दुर्घटना भएको तर अन्य कारण पनि जिम्मेवार रहेको भनिएको छ ।
तेह्रथुमको चुहानडाँडा विमानस्थलबारे सम्भाव्यता अध्ययन गर्न गएका मन्त्री अधिकारी सहित ७ जना सवार एअर डाइनेष्टीको ९–एन एएमआई (मोडल एएस–३५० बी–३–ई) हेलिकप्टर ताप्लेजुङ फुङलिङ नगरपालिकास्थित तारेढुंगा सिस्नेभीरमा दुर्घटना हुँदा टुर्घटनास्थलमै सबैको निधन भएको थियो ।
मौसम खराब हुँदाहुँदै पाइलटले उडानको जोखिम लिनु, भारवहन क्षमताका आधारमा विमानमा सन्तुलनमा नहुनु र उचाईमा अपनाइनु पर्ने सतर्कता वेवास्ता गरिनुलाई प्रतिवेदनले औंल्याएको छ ।
“हेलिकोप्टरले भारवहन क्षमता अनुसार नै तौल बोकेको थियो । तर अगाडिको सिटमा पाइटल सहित तीन जना हुँदा र पछाडि चार जना बस्दा बीच भागमा हुनुपर्ने गुरुत्वाकर्षण केन्द्र अगाडि पर्यो”, जाँच आयोगका एक सदस्य भन्छन्, “विमानले सन्तुलन गुमाउन यो पनि सहायक बनेको देखिन्छ।”
पाथीभरा मन्दिर परिसरमा हिउँ परेपछि ३० मिनेटभन्दा बढी समय चालकसहित यात्रु विमानभित्रै बसेका कारण बाहिर र भित्रको तापक्रम फरक हुनाले भिजिबिलिटीमा समस्या देखिएको पनि प्रतिवेदनमा भनिएको छ ।
“एक त हेलिकप्टरका सिसामा हिउँ थियो, त्यसलाई सफा नै नगरी उडान गरिएको थियो”, ति सदस्य भन्छन्, “त्यसमाथि उडानको क्षणभरमा आएको हिउँसहितको हावाहुरीका कारण भिजिबिलिटीमा थप समस्या परेको देखिन्छ ।”
४५ मिनेट भन्दा बढी समय ३८०० मीटर उचाईमा बस्दा १४०० मिटरको उचाईबाट गएका पाइलटले अक्सिजन माक्स प्रयोग नगर्नुलाई पनि दुर्घटनाको कारण मानिएको छ । “लामो समय कम उचाईबाट गएका पाइलट अक्सिजन माक्स नलगाई बस्दा अक्सिजनको कमी हुनसक्छ, यसतर्फ पनि ध्यान नपु¥याइएको देखिन्छ”, ति सदस्य भन्छन् ।
पूर्वनिर्धारित कार्यक्रम नभएपनि ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली फर्कदा तारेभीरमा दुर्घटनामा परेको थियो ।
हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रबहादुर श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, यती एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे र पाइलट क्याप्टेन प्रभाकर केसी थिए ।
दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने, सहायकरथी दीपकप्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य रहेको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो ।