निर्वाचन आयोगले निर्धक्क भएर आचारसंहिता लागू गर्नुपर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
निर्वाचन आयोगले चुनावी आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित ‘निर्वाचन कानून-आचारसंहिताको सान्दर्भिकता तथा कार्यान्वयनको चुनौती’ विषयक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले निर्वाचन आयोगले निर्धक्क भएर काम गर्नुपर्नेमा जोड दिएका हुन्। “निर्वाचन आयोगले कडाइका साथ निर्धक्क भएर निर्वाचन आचारसंहिता लागू गर्नुपर्छ,” उनले भने।
चुनाव महँगो हुँदै गएकोमा पनि पूर्व प्रधानन्यायाधीश श्रेष्ठले चिन्ता जनाए। यसमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
भूगोल पार्क संस्थाले आयोजना गरेको कार्यक्रममा पूर्व न्यायाधीश, कानून व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीले आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन्।