६० प्रतिशत सीट नदिए गठबन्धन स्वीकार नगर्ने कांग्रेस मधेश प्रदेशको निर्णय
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन सीट बाँडफाँड टुङ्ग्याउने तयारीमा रहेका वेला नेपाली कांग्रेस मधेश प्रदेशले भने ६० प्रतिशत सीट लिने निर्णय गरेको छ।
मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेशमा विगतको तुलनामा बढी सीट पाउनुपर्ने माग गरिरहेको वेला कांग्रेस प्रदेश कार्यसमितिले ६० प्रतिशत सीट पाउनुपर्ने निर्णय गरेको हो। कांग्रेसको मधेश प्रदेश कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सीट नछोड्ने निर्णय गरेको प्रदेश सभापति श्रीकृष्ण यादवले बताए।
“हामीले ६० प्रतिशत सीट पाउनुपर्ने माग सहितको निर्णय गरेर केन्द्रीय कार्यसमितिलाई पठाएका छौं,” सभापति यादवले हिमालखबरसँग भने।
मधेश प्रदेशमा प्रतिनिधि सभाका ३२ क्षेत्र छन्। २०७४ सालको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ मधेशमा ६ सीट मात्रै जितेको थियो।
त्यस्तै, मधेश प्रदेश सभाका ६४ क्षेत्र छन्। २०७४ सालमा कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश सभाका आठ सीट जितेको थियो।
यससँगै प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिशलाई केन्द्रमा पठाउने निर्णय पनि गरेको छ। यससँगै जिल्लाबाट सिफारिशमा नपरेका तर प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षीको नाम पनि राय सहित केन्द्रमा पठाइने यादवले बताए।