यस्तो छ प्रत्यक्षतर्फ चुनावी कार्यक्रम, असोज २३ मा उम्मेदवारी दर्ता
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।
आयोगको बैठकले प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भने यसअघि नै स्वीकृत गरिसकेको छ।
आयोगले तय गरेको कार्यतालिका अनुसार, आगामी असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुनेछ। बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
त्यस्तै, असोज २३ गते साँझ ७ बजेभित्र उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। आयोगले असोज २४ गते उम्मेदवारको विरुद्ध उजुरी आह्वान गर्नेछ भने असोज २५ गते उजुरीमाथि छानबिन गर्ने कार्यतालिका रहेको छ।
यसै गरी असोज २५ गते साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ भने असोज २६ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको छ। असोज २७ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ।
मंसीर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मतगणना शुरू हुने आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए।
यससँगै आयोगले समानुपातिकमा नाम भएको व्यक्तिले प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाउने जनाएको छ। त्यस्तै, प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिकतर्फ बन्द सूचीमा समावेश गर्न नपाइने भएको छ।
समानुपातिकतर्फ भने असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने समय तोकिएको छ। त्यस्तै, आयोगले कात्तिक ९ गते समानुपातिक उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने तय गरिएको छ।