सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टीमबाट निलम्बित
बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को कार्यसम्पादन समितिको बैठकले उनलाई निलम्बन गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जनाएका छन्। प्रहरीले अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेपछि क्यानले निलम्बन गरेको हो।
क्यानले भनेको छ, ‘नेपाल राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसूरमा मिति २०७९ भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थमा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीमबाट निलम्बन गरिएको छ।’
नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरीमा लामिछानेले नाबालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।
त्यसका आधारमा प्रहरीले अनुसन्धान शुरू गरेको थियो। प्रहरीले भदौ २२ गते गौशालाको होटल र नगरकोटका होटलबाट सीसीटीभी फुटेज सङ्कलन गरेको थियो।
त्यसपछि आज काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्न अनुमति लिएको हो।
अहिले लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि सेन्ट लुसियामा छन्। त्यसअघि उनी भदौ ६ गते राष्ट्रिय टोलीसँगै केन्या गएका थिए। केन्यासँग टी-२० शृङ्खला खेलेपछि उनी सीपीएल खेल्न सेन्ट लुसिया गएका हुन्।