यँयाः र इन्द्रजात्राको विरोधाभास
यँयाः र इन्द्रजात्राको कुनै सम्बन्ध देखिंदैन, बरु नेवार समाजमा जीवित सांस्कृतिक एवं मौलिक पर्वका रूपमा यँयाःलाई लिनुपर्छ।
सयौं वर्षदेखि नेवार समाजमा प्रख्यात सांस्कृतिक पर्व ‘यँयाः’ लाई हिजोआज इन्द्रजात्रा हो भनेर बुझ्ने र बुझाइने गरिएको पाइन्छ। यँयाः शब्दकै अनुवाद इन्द्रजात्रा भनेर बुझाउने गरिन्छ। सांस्कृतिक चाडपर्वहरूको मौलिक नामहरूलाई अनुवाद गर्दै लानु ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले गलत अभ्यास वा संस्कृतिमाथिको हस्तक्षेप हो।
मौलिक नाम ‘यँयाः’ लाई नै प्रचलनमा ल्याइनुपर्छ भन्ने आवाज बुलन्द बन्दै आएको छ। इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रप्रमुख, उच्चपदाधिकारी तथा विदेशी पाहुनाहरू आउने हनुमानढोकास्थित गद्दीबैठकको सामुन्नेको मन्दिर पुनर्निर्माणकै क्रममा हुनाले आकर्षक देखिन्न। यो दृष्यलाई छोप्न प्रयोग गरिएको एउटा सामग्री यही पर्व सम्बन्धी ठूलो ब्यानर हो। त्यसमा ‘यँयाः’ लेखेर ‘ब्राकेट’ भित्र इन्द्रजात्रा राखिएको छ।
हिजोका दिनमा नेवार समुदायको सांस्कृतिक जीवनमा यँयाः जीवन्त रहे पनि राज्यको पहुँच रहेको ठाउँमा भने यो शब्द प्रतिबन्धित जस्तै थियो। जसले गर्दा यँयाः नभनेर इन्द्रजात्रा मात्रै भनिने गरिएको थियो। हाल यो शब्द प्रयोग हुनु र इन्द्रजात्रा ‘ब्राकेट’ भित्र राख्नुलाई सांस्कृतिक सचेतना भन्न सकिन्छ र यस अवस्थामा यँयाः र इन्द्रजात्रा दुई शब्दमा छलफल गर्नु नितान्त जरुरी देखिन्छ।
यँयाः शब्दको अनुवाद इन्द्रजात्रा होइन। यँयाः एउटा बहुआयामिक र लामो परम्परा रहेको सांस्कृतिक पर्व हो। इन्द्रजात्रा नामैले केवल इन्द्र नामका एक वैदिक देवता वा पात्रलाई मात्र प्रमुखता दिन्छ। यँयाः भनेकै इन्द्रजात्रा हो भन्ने भाष्य अनुकूल हुने गरी गरिएका व्याख्या विश्लेषणहरूमा इन्द्रजात्रालाई वैदिक देवता इन्द्रसँग जोड्ने गरिन्छ। तर, यँयाः वैदिक संस्कृति होइन भन्ने कुरा ध्यानमा राख्नु नितान्त जरुरी छ।
इन्द्रजात्राको उल्लेख न ऋग्वेदमा पाइन्छ न त वेदलाई प्रमुखता दिने समाजमा नै। वेदमा ‘इन्द्रध्वजोत्थान’ र ‘इन्द्र महोत्सव’को उल्लेख पाइए पनि त्यो बेग्लै प्रसङ्गमा आएको हो। त्यसलाई काठमाडौंमा प्रचलित यँयाःसँग जबर्जस्ती जोड्न खोजेको मात्रै देखिन्छ।
यँयाःलाई हिजोआज इन्द्रजात्रा हो भनेर बुझ्ने र बुझाइने गरिएको पाइन्छ। सांस्कृतिक चाडपर्वहरूको मौलिक नामहरूलाई अनुवाद गर्दै लानु ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले गलत अभ्यास वा संस्कृतिमाथिको हस्तक्षेप हो।
हनुमानढोका दरबार परिसरमा ‘यःसिँ’ भनेर जुन लिङ्गो ठड्याइन्छ, त्यसैलाई ‘इन्द्रध्वजोत्थान’ भनेर भाष्य बनाउनु स्थानीय संस्कृति सम्बन्धी अनभिज्ञता हो। नेवार समाजमा यःसिँ अन्य अवसरहरूमा पनि विभिन्न ठाउँहरूमा ठड्याइन्छ। भक्तपुरमा विस्केट जात्राको अवसरमा ठड्याइने लिङ्गोलाई पनि यःसिं नै भनिन्छ। तर‚ यो इन्द्रसँग सम्बन्धित पर्व होइन। यँयाःको अवसरमा हनुमानढोका परिसरमा भक्तपुरबाट ल्याइने ठूलो रूखलाई यःसिँको रूपमा विधिवत् पूजा गरेर ठड्याउने कुरा त प्रख्यात नै छ।
यःसिँ नै भनेर वरिपरि र भक्तपुर तथा अन्य नेवार बस्तीमा यस वेला ठूलासाना यःसिँहरूलाई ‘यँःमांद्यः’ भनिन्छ। यसको स्पष्ट अर्थ हो, यति वेलाको यःसिँ साधारण लिङ्गो मात्र नभएर ‘यँःमांद्यः’ को प्रतीक हो। यँमांद्यःलाई ठड्याएर विभिन्न उत्सव मनाउनु नै ‘यँयाः’ पर्व हो।
यँयाःको अवसरमा हुने अनेक उत्सवहरूमा कुमारी रथयात्राको छुट्टै आकर्षण छ। कतिपयका लागि इन्द्रजात्राको पर्याय कुमारी रथयात्रा हुने गरेको पाइन्छ। यस अवसरमा अनेक नाचगान तथा सांस्कृतिक महत्त्वका गतिविधिहरू हुने गर्छन्। तर, यसमा इन्द्र देवता सम्बन्धी कुनै पनि गतिविधि पाइँदैन। कुमारी रथयात्रा पनि समाजमा महत्त्वपूर्ण स्थान पाएकी कुमारीलाई यँयाः पर्व देखाउन लगिएको मात्र हो।
यँयाःलाई ऋग्वेदमा उल्लिखित देवता इन्द्रसँग जोड्दा एउटा विरोधाभास पनि पाइन्छ, जुन स्वयं वैदिकहरूलाई नै पनि आपत्ति लाग्न सक्छ। यस अनुसार, वैदिक देवता इन्द्रलाई चोरको रूपमा प्रस्तुत गरी उनलाई चोरीको आरोपमा स्थानीय जनताले समातेर बीच बाटोमा हुर्मत लिएको भन्ने किंवदन्ती छ।
हनुमानढोका दरबार परिसरमा ‘यःसिँ’ भनेर जुन लिङ्गो ठड्याइन्छ, त्यसैलाई ‘इन्द्रध्वजोत्थान’ भनेर भाष्य बनाउनु स्थानीय संस्कृति सम्बन्धी अनभिज्ञता हो।
किंवदन्ती अनुसार, स्वर्गमा इन्द्रकी आमालाई वसुन्धरा व्रत बस्न पारिजातको फूल चाहियो। स्वर्गमा फूल नभएकाले चोर्न काठमाडौं पठाइएको थियो। फूल चोर्दै गर्दा इन्द्र समातिए। सबै कुरा पाइने स्वर्गमा पारिजातको फूल मात्रै नपाइएला र भन्ने प्रश्न गर्न सकिन्छ।
यसरी नै कसैले फूल टिप्न आएकालाई चोर भनेर समात्ने र बीच सडकमा डोरीले बाँधेर हुर्मत लिएको मात्रै नभएर त्यत्रो जात्रा नै चलाउने कुराले नेवारहरू अनुदार र सङ्कीर्ण रहेछन् भनेर पनि गलत अर्थ दिन्छ। यस्ता तर्कहीन कुराले ऐतिहासिक महत्त्व राख्दैन र ऐतिहासिक तथा सांस्कृतिक अध्ययनमा सहयोग पनि गर्दैन।
यसै पनि वैदिक इन्द्रकी आमा वसुन्धरा होइनन्। वसुन्धरा व्रतको प्रसङ्ग वेदमा पाइँदैन पनि। यस अनुसार यँयाः नै इन्द्रजात्रा हो भन्ने भाष्यलाई समाजमा स्थापित गर्न अनेक कथाकहानीको सिर्जना गरिएको वा पात्र परिवर्तन गरेको भनेर बुझ्न गाह्रो भएन। यस्ता कथाकहानी तथा गलत भाष्य तथा प्रवृत्तिबाट स्थानीय संस्कृतिको मौलिकता खतरामा पर्छ।
यँयाः पर्वलाई सीमित भूगोलमा राखेर बुझ्ने अचम्मको बुझाइ पनि पाइन्छ। ‘येँ’ शब्दले काठमाडौंको भूगोललाई बुझाउँछ र काठमाडौंको जात्रा भएका कारण ‘यँयाः’ भनिएको हो भन्ने भाष्य पनि तर्कसङ्गत छैन। ‘येँ’ शब्दले पूरै काठमाडौंलाई समेट्दैन। हिजोआज काठमाडौं एउटा जिल्ला हो। यो जिल्लाभित्र थुप्रै नेवार बस्तीहरू छन्, जसको आआफ्नै नाम र पहिचान छ।
ऐतिहासिक तथा सांस्कृतिक रूपमा जिल्लाभित्रकै कतिपय नेवार बस्तीको ‘येँ’सँग गहिरो सम्बन्ध पाइँदैन पनि। अरू त अरू, काठमाडौं महानगरपालिकाले चर्चेको सम्पूर्ण प्रशासनिक भूभाग पनि ‘येँ’ होइन। बरु काठमाडौं महानगरभित्रको एउटा सानो तर महत्त्वपूर्ण भूक्षेत्र मात्रै ‘येँ’ हो जसलाई परम्परागत र पुरानो बस्ती भन्न सकिन्छ। हनुमानढोका दरबार परिसर वरिपरि र येँ शब्दले चर्चेको भूभागमा इन्द्रजात्रा भनेर अनेकौं गतिविधि सहित भव्य रूपमा उत्सव मनाइने भएका कारण यँयाः भनेको येँभित्रको मात्रै जात्रा भन्ने भ्रम देखिन्छ।
यँयाः पर्वमा सम्पन्न गरिने विभिन्न गतिविधिलाई सूक्ष्म रूपमा नियाल्दा यसमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित क्रियाकलाप धेरैपछि मात्र जोडिएको पाइन्छ।
यँयाः पर्वमा सम्पन्न गरिने विभिन्न गतिविधिलाई सूक्ष्म रूपमा नियाल्दा यसमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित क्रियाकलाप धेरैपछि मात्र जोडिएको पाइन्छ। यो छुट्टै अस्तित्व बोकेको मौलिक स्थानीय सांस्कृतिक पर्व भन्ने बुझिन्छ। यँमाःद्यःलाई प्रधान देवताको रूपमा लिई उत्सव मनाइने गरिएको बतान्छ। तर, यो यँमाःद्यः नै को हुन् भन्ने प्रश्न उठ्छ। यँमाःद्यःको प्रसङ्ग कुनै शास्त्रग्रन्थमा उल्लेख भएको पाइँदैन। तर‚ नेवार समाजमा यँमाःद्यः र यँयाः नै स्थापित भएको मात्रै होइन, यो आफ्नो जीवनको अभिन्न अङ्गका रूपमा रहेको पाइन्छ।
यँयाः पर्व येँ (काठमाडौं)मा मात्रै सीमित छैन। भक्तपुर र ललितपुरमा पनि यँयाः मनाइन्छ। काठमाडौंमा हिजोआज इन्द्रजात्राको नाममा राजकीय संरक्षणका साथ भव्य रूपमा मनाइँदा भक्तपुरको यँयाः ओझेलमा परेको छ। भक्तपुरको परम्परागत मल्लकालीन नेवार बस्ती २४ वटा टोलमा विभाजित थियो भने त्यति वेला सबै टोलमा यँमाःद्यः भनेर यःसिँ ठड्याइन्थ्यो। भक्तपुरको सुकुलढोकास्थित विनायक परिसरमा भने दुई वटा यःसिँ ठड्याउने चलन छ। तर, भक्तपुरमा यःसिँ ठड्याउने परम्परामा हिजोआज ह्रास आएको छ।
अहिले १५-१६ वटा टोलमा मात्रै यःसिँ ठड्याइन्छ। केही वर्षअघिसम्म ठड्याउँदै आइरहेका टोलहरूले पनि यसलाई निरन्तरता दिन छाडेका छन्। यःसिँ ठड्याउन खर्चबर्चका लागि व्यवस्था गरिएको जग्गाजमीन रैतानीमा परिणत भएपछि सम्बन्धित पक्षमा नैराश्यले ठाउँ पाएको छ भने यसको असर संस्कृतिमा परेको छ।
यःसिँलाई यँमाःद्यःको प्रतीकका रूपमा ठड्याई यँयाः पर्व मनाउने चलन प्राचीनकालमा काठमाडौं, भक्तपुर, ललितपुर लगायत प्रायः सबै नेवार बस्तीमा रहेको साझा पर्व भनी बुझ्न सकिन्छ। यसमा समयक्रममा विभिन्न सांस्कृतिक अवयवहरू थपिने वा बन्द हुने क्रमहरू चल्दै आए। सम्भवतः भक्तपुर दरबार क्षेत्रमा पनि ठूलो रूखको यःसिँ ठड्याउने चलन थियो र त्यसैको अनुकरण हनुमानढोका दरबार क्षेत्रमा भएको पाइन्छ।
स्मरणीय के छ भने, पहिला यो यःसिँ ठड्याउने काम हनुमानढोका परिसरमा नभएर नजिकै चिकंमुगल टोलमा हुन्थ्यो। पृथ्वीनारायण शाहको दखलपछि मात्र स्थानान्तरण गरी हनुमानढोकामा ल्याइएको हो। यँयाः मनाउने परम्परा पुरानै भए पनि रत्न मल्लले कान्तिपुरलाई छुट्टै राज्यको रूपमा स्थापना गरेपछि यसले अझ व्यापकता पाएको अनुमान गर्न सकिन्छ ।
यँमाःद्यः वैदिक देवता इन्द्र होइनन् भन्ने वेदबाट नै पुष्टि भइसकेपछि अब नेवार समाजमा जीवित सांस्कृतिक जीवनको एक मौलिक पात्र भनेर बुझ्नुपर्छ।
यँमाःद्यः र यँयाःका सम्बन्धमा प्रचलित कतिपय कुरा भक्तपुरबाटै ल्याइएको पनि प्रतीत हुन्छ। स्वर्गबाट फूल चोर्न आएको, समातेर राखेको लगायतका कथा भक्तपुरमा पनि सुनिन्छ। तर, यहाँ इन्द्र नभएर इन्द्रको छोरा जयन्तलाई प्रस्तुत गरिएको छ। पुलुकिसि लगायतका प्रसङ्ग भक्तपुरमा पनि पाइन्छन्। काठमाडौंमै पनि यँमाःद्यःको प्रतीकका रूपमा यःसिँ ठड्याउने चलन किलागल लगायतका पुराना बस्तीहरूमा देखिन्छ। हनुमानढोका परिसरमा यस्तो क्रियाकलाप त धेरै पछिको कुरा हो।
काठमाडौं र भक्तपुरमा जस्तो अन्यत्र नेवार बस्तीमा यँयाः भनेर भव्य रूपमा नमनाइए पनि यँयाःकै प्रसङ्गमा पूर्णिमाको दिनलाई परम्परागत रूपमा ‘समेबजि पुन्हि’ भनेर मनाउने परम्परा पाइन्छ। यो दिन हनुमानढोका क्षेत्रका विभिन्न टोलमा धेरै समेबजि बनाएर बाँड्ने गरिन्छ भने अन्यत्र घरघरमा बनाइएको समेबजि बेलुका छरछिमेकीलाई दिएर आफैंले पनि खाने गरिन्छ। अहिले पनि घरघरमा समेबजि तयार पारिन्छ र घरपरिवारभित्रै खाने चलन यथावत् छ। चिउरा, स्याःबजि, कालो भटमास, छ्वयेला, बोडी आदि मिसाएर बनाइने नेवार परिकार नै समेबजि हो।
यँयाः वा इन्द्रजात्रा हिजोआज नेपालमा मात्रै सीमित छैन। भारतको सिक्किममा नेवार समाजले यसलाई सामूहिक रूपमा विभिन्न गतिविधिको आयोजना गरेर नगर परिक्रमा गरी मनाउने गरेको छ। यसरी नै अमेरिका लगायतका नेवार समाजमा पनि यो पर्व मनाउन थालिएको छ। तर, यँयाःलाई इन्द्रजात्रा भन्ने तथा यँमाःद्यःको प्रतीक यःसिँलाई इन्द्रध्वज वा लिङ्गो मात्रै भनेर गरिएको भाष्यले यसको मौलिकताका सम्बन्धमा अध्ययन नै हुन पाएन।
यँमाःद्यः वैदिक देवता इन्द्र होइनन् भन्ने वेदबाट नै पुष्टि भइसकेपछि अब नेवार समाजमा जीवित सांस्कृतिक जीवनको एक मौलिक पात्र भनेर बुझ्नुपर्छ। यँमाःद्यः को हुन्, यसको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि के कस्तो रहेछ, तथा यँयाःको विकासक्रमबारे अध्ययन अनुसन्धान गर्नु अब संस्कृति अध्येताहरूका लागि चुनौती छ।