पूर्व राष्ट्रपतिले भने- कांग्रेसलाई जनतामा जान अंशबण्डा, राम! राम! राम!
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसलाई ‘राम, राम’ भन्नु परिरहेको बताएका छन्।
काठमाडौंमा बिहीबार बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले जनतामा जान कांग्रेसले गठबन्धनसँग तालमेल गरिरहेकोमा असन्तुष्टि जनाए। बीपी, गणेशमानको उदाहरण दिंदै डा. यादवले भने, “कांग्रेसी पुर्खा त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छन्। जनताको बीचमा जानका लागि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेका छन्, राम! राम! राम!”
उनले फ्लोरबाट ताली बजेपछि थप प्रस्ट्याउन खोजे। डा. यादवले हाँस्दै भने, “जनकपुरको मान्छे, राम राम भन्नै आउँछ। कांग्रेसको बारेमा राम राम भन्नुपरेको छ।”
उनले कांग्रेसले टिकट बेचिरहेको समेत आरोप लगाए। “कांग्रेसले टिकट बेचिरहेको छ। सुन्नुभएको होला, समानुपातिकमा पैसा लिन्छ,” पूर्व राष्ट्रपति डा. यादवले स्थानीय चुनावको प्रसङ्ग निकाल्दै भने, “वार्डको समेत टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ।”
अहिले कांग्रेसमा चिन्तन गर्ने परिपाटी नभएको बताए। “बीपीका बारेमा चिन्तन गरिरहेका छौं। चारै आना भए पनि बीपीको गुण त हुनुपर्ने हो। कांग्रेसीमा त हुनैपर्ने हो,” उनले भने, “कसैलाई सल्लाह लिने जरुरी छैन।”