प्रसाईंको ‘धेरैको धपेडी’ सार्वजनिक
जीवनकुमार प्रसाईंको पुस्तक धरैको धपेडी सार्वजनिक भएको छ।
बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई पुस्तकमा प्रसाईंले सरल भाषामा व्याख्या गरेका छन्।
संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान र अध्यापनमा संलग्न प्रसाईंले अढाई दशकभन्दा बढी समय जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सर लगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। उनले अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआइएच)बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदान समेत प्राप्त गरेका छन्। उनका आलेख साइन्स लगायत जर्नलहरूमा प्रकाशित छन्।
मानव समाज यति वेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको प्रसाईं बताउँछन्। उनका अनुसार, यो प्रवृत्तिले नै आज मानिस र वातावरणबीचको सन्तुलन पनि खलबल्याउँदै लगेको छ। यसको परिणाम मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घरोगहरू दिनप्रतिदिन महामारीका रूपमा फैलँदै छन्।
सम्पदाको दोहन गरेर भए पनि बढीभन्दा बढी सुविधाको जीवन जिउने लालसा बढ्दो छ। खाद्य सुरक्षा बढेकाले मानिसलाई अधिक सेवन गर्न सम्भव पनि भएको छ। तर, जतिसुकै धेरै सेवन गरे पनि हाम्रो शरीरभित्रको प्रणालीले थोरैलाई मात्र ग्रहण गर्ने सामर्थ्य राख्छ। ग्रहण गरेको पनि खर्च नहुने हो भने त्यसले गुणभन्दा बैगुन बढी गर्छ भन्ने बुझ्न जरुरी छ।
पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय कम हुँदैन थोरै, जीवनको जतन, शरीरको सामर्थ्य र परम्परा, सम्पदा र स्वास्थ्य मार्फत पस्किने प्रयत्न गरिएको छ ।
“प्रकृतिमा धेरै अमूल्य कुरा थोरैमा अभिव्यक्त भएको पाइन्छ,” लेखक प्रसाईं अगाडि भन्छन्, “त्यसैले थोरैलाई हेला गर्ने वा कम सम्झनु हुँदैन। थोरै नै सार हो जसमा अंकुरण अनि प्रस्फुरण हुने तत्त्वहरू लुकेका हुन्छन्। जब हामी अनावश्यकबाट मुक्त हुन्छौं, हाम्रो भौतिक अनि आत्मिक उन्नति शुरू हुन्छ।”
उनका जीवन जिउने काइदा, सधैं तन्नेरी र वरिपरि नै सर्वोपरि गरेर तीन वटा पुस्तक यस अगावै पब्लिकेशन नेपालयबाट प्रकाशित भइसकेका छन्।
२२८ पृष्ठको धेरैको धपेडी पुस्तकको मूल्य ४२५ रुपैयाँ छ। पुस्तक देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ। साथै‚ ईबूकको प्रतिलिपि www.thuprai.com बाट पनि किन्न सकिन्छ। यो पुस्तक विश्वव्यापी रूपमा भने अमेजन मार्फत उपलब्ध हुनेछ।