शहरलाई नै बगैंचा बनाउने धुन
बनेपालाई हराभरा बनाउने अभियानमा लागेका रसिल पलाञ्चोकीको प्रयासलाई बनेपावासीले भरथेग गरिदिए भने अबको पाँच वर्षमा बनेपा लोभलाग्दो शहर बन्नेछ।
काठमाडौंबाट २५ किमीको दूरीमा रहेको शहर काभ्रेपलाञ्चोकको बनेपा बसपार्कमा हरियाली छाएको छ। स्थानीय चण्डेश्वरी मन्दिर सफा र चिटिक्क छ। राजमार्गबाट मन्दिर पुग्ने बाटोमा लहरै रूख छन्। रसिल पलाञ्चोकीले १० वर्षअघिदेखि चलाएको अभियानले बनेपा हरियाली उन्मुख हुँदै गएको हो।
मूलघर बनेपा भएका रसिलको परिवार व्यापारका लागि काठमाडौंको केन्द्र महाबौद्धमा बस्थे। महाबौद्धबाट दैनिक मीनभवनको इपीएस स्कूल आउँदा–जाँदा रसिलले टुँडिखेल वरिपरि रहेका अग्ला लहेर पिपल लगायतको रुख देख्थे। २०४८/५० सालतिर ती रुखका प्रजातिगत नाम नेपाली र अंग्रेजीमा टाँसिएको थियो। जरा धेरै नफैलिने लहरे पिपल ढलेर मान्छे हताहत हुने भएकाले रुखका हाँगाबिगा छाँटिए।
पछि काठमाडौं नगरपालिका महानगर भयो। बाटा फराकिलो बनाउन थालियो। यही वेला टुँडिखेल वरपरको ठूला रुख काटिए। फूटपाथ साँघुरिए।
बनेपामा सामाजिक अभियन्ताको छवि बनाएका रसिललाई सामाजिक कामको अनुभव छैन। काठमाडौंको इन्द्रचोकमा डाक्टर शुद्धएस रौनियारले बाल भोजन गराउँथे। उनी वेलावेला त्यहाँ सहयोग गर्न पुग्थे। बाल भोजनमा आउने केही बालकहरूलाई इटुम्बहालको सरकारी स्कूलमा पढाउन पहल गरेका थिए। “सामाजिक काम गरेको भनेको त्यत्ति नै हो,” उनले सुनाए।
रसिलले कुनै वेला महाबौद्धको घरको छानामा विभिन्न प्रजातिका विरुवा रोपेका थिए। गड्यौंलाको मल लगायतको जोहो गरेर विरुवा जोगाएका थिए। एक पटक बालबालिकालाई संलग्न गराएर कीर्तिपुरमा वृक्षरोपण गराएको उनी सम्झन्छन्। त्यस बाहेक वनस्पति र विरुवा प्रति आफ्नो उग्र प्रेम नरहेको उनको अनुभव छ। विरुवामा लगाव हुनुको खास कारण केही भए जस्तो उनलाई लाग्दैन।
एक दशकअघिदेखि उनको बसोबास बनेपामा हुन थाल्यो। उनी वनस्पतिको संसारमा सरिक भइरहेका छन्। उनको एउटै धुन छ, बनेपालाई हरियालीमय बनाउने। बनेपामा बसोबास थाल्नुअघि उनमा संगीतको धुन गाढा थियो। उनले २०५२ सालमा एसएलसी दिंदा नेपालमा पप संगीतको दबदबा थियो। त्यो वेला पश्चिमा आधुनिक अंग्रेजी गीत बजाउने विदेशी च्यानल एम टीभी एशिया क्षेत्रमा विस्तार हुँदै थियो। नेपाली शहरी युवा अंग्रेजी संगीत समूहबाट प्रभावित थिए। रसिल पनि त्यसबाट अछुत थिएनन्। स्कूल छँदै सिकेको गीतारलाई निरन्तरता दिँदै महाबौद्धको पसलबाट फुर्सद निकालेर गाना बजानामा लागिरहन्थे।
संगीतमा लाग्दै गर्दा उनलाई सारङ्गीले मोहित पार्यो। प्रख्यात सारङ्गीवादक श्याम नेपालीलाई भनेर अलि ठूलो खालको सारङ्गी बनाए। त्यतिखेरको चर्चित संगीत प्रशिक्षण केन्द्र मधुरिमा कला केन्द्र, पुतलीसडकमा दुर्गाबहादुर गन्धर्वसँग सारङ्गी सिके। सारङ्गीलाई प्रयोगात्मक बनाउने धुनमा कलानिधि संगीत पाठशालाका शास्त्रीय भायोलिन प्रशिक्षक मिलन तण्डुकारसँग भायोलिन पनि सिके। साथीहरूले ब्याण्ड बनाउने कुरा गरे। केही नयाँ र बेग्लै स्वाद दिने उनीहरूको प्रयाश रह्यो। अनि मौलिक नेपाली बाजाहरूको ब्याण्डका रुपमा ‘कुटुम्ब’को स्थापना भयो।
त्यसअघि श्याम नेपालीले सारङ्गीलाई प्रवर्द्धन गरिरहेका थिए भने सुरसुधाले सितार, तबला र बाँसुरीको मिश्रणलाई पस्कने गरेको थियो। उनीहरूको कुटुम्ब ब्याण्डले शुक्रबार–शुक्रबार पाटन संग्रहालयमा एक वर्षसम्म सांगीतिक प्रस्तुति दियो। “नेपाली मौलिक बाजाको संख्या नै २०० भन्दा बढी छ। परम्परागत नेवारी बाजा अनेकौं छन्। मादल र बाँसुरी पनि अनेक खालका छन्,” उनी भन्छन्, “हाम्रै रैथाने बाजाहरूको मात्र समूह किन हुन सक्दैन भनेर कुटुम्ब शुरू गरिएको थियो।”
उनी सात वर्षसम्म कुटुम्बमा रहे। घर व्यवहार सम्हाल्न बनेपा बुस्नुपर्ने भयो। बनेपा बस्न थालेपछि संगीतलाई माया मारेझैं भएको रसिल बताउँछन्।
मल्लकालमै राजनीतिक रुपमा शक्तिशाली बनेपा व्यापारीहरूको वस्ती हो। नेपाल भाषामा ‘बने’ भनेको व्यापारी र ‘पा’ भनेको वस्ती हो। साँगा भन्ज्याङले काठमाडौं उपत्यकासँग छुट्याएको बनेपाको मौसम र माटो काठमाडौंसँग मिल्छ। समुद्री सतहबाट ४८ सय फिटमा रहेको बनेपा नगरपालिकामा १४ वटा वडा छन् भने पालिकाको क्षेत्रफल ५४.५९ वर्ग किलोमिटर छ।
वरिपरि जंगलले घेरिएको बनेपाको पूर्वमा ‘रक्तचन्दन’ भनिने चण्डेश्वरीको जंगल, उत्तरमा नेपाल भाषामा माथिल्लोपट्टिको अर्थ लाग्ने थागुको जंगल र दक्षिणमा तल्लोपट्टिको अर्थ लाग्ने क्वःगुको जंगल छ। चण्डेश्वरी जंगलबाट चण्डेश्वरी खोला बगेको छ भने पुण्यमाता खोला दक्षिण हुँदै पूर्व बगेको छ।
चीन सरकारको सहयोगमा काठमाडौं–कोदारी जोड्ने ११३ किलोमिटर लामो अरनिको राजमार्ग बनेपछि काठमाडौं र बनेपाको सम्पर्क बाक्लियो। कलाकार अरनिको घोडेटो बाटोबाट बनेपा हुँदै चीन–तीब्बत पुगेको भएर अरनिको राजमार्ग नामकरण गरिएको हो। विगतमा पूर्वी नेपालबाट ‘नेपाल खाल्डो’ छिर्नुअघिको बिसौनी बनेपामा पूर्वी भेगका मान्छेले घर घडेरी जोर्न थाले। भरतपुर–नारायणघाट, बुटलव–भैरहवा जस्तै धुलिखेल र बनेपा पनि जोडियो। काभ्रेको सानो नगरपालिका भए पनि सबैभन्दा बढी जनंसंख्या बनेपामै छ। अहिले त पूरै बनेपा शहर बनेको छ।
साँगा, नाला, धुलिखेल, श्रीखरापुर, चौकोट र पनौतीले घेरिएको बनेपालाई एउटा बगैंचा बनाउने सोच छ रसिलको। २०७८ को राष्ट्रिय जनगणनामा १२ हजार ५४५ घर धुरी रहेको बनेपाका एक तिहाईले मात्रै आफ्नो प्रयासलाई सकारात्मक रुपमा लिने हो भने अबको पाँच वर्षमा बनेपा अर्कै भइसक्ने आत्मविश्वास रसिलको छ।
रसिल बनेपामा स्थायी रूपले बस्न शुरू गर्दा त्यहाँ सडक विस्तार भइरहेको थियो। सडक छेउमा ग्रीन बेल्टका लागि ठाउँ छुट्याइएको रहेछ‚ ग्रीन बेल्टमा के गर्ने योजना छ भनेर नगरपालिका र ठेकेदारसँग बुझ्न जाँदा केही गर्ने योजना नरहेको थाहा पाए। अनि साथीहरूसँग ग्रीन बेल्टलाई हरियाली बनाउने सरसल्लाहमा जुटे रसिल।
पाँच–सात जना साथीभाइको मन मिल्यो। ‘ल गर्ने भए गरौं न त’ भनेर हरियाली अभियान थाले। सबैले पाँच–दश हजार गरेर पैसा जम्मा गरे। एक जना साथीले हरियाली अभियानलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेपछि सबै उत्साहित भए। यसले उनीहरूमा जिम्मेवारी बढ्यो। काम गर्दै जाँदा भोलिका दिनमा यस्ता सहयोग गर्ने अरु पनि भेटिएलान् भन्ने भयो। “तर सँगै डर पनि रह्यो। यदि कसैले तिमीहरूलाई सहयोग गरेको थिएँ खै तिमीहरूले के गर्यौ भनिदिए भने?” रसिल भन्छन्।
उनीहरूले बनेपाको मूल सडकको दुई किमीको दायाँबायाँ धमाधम विरुवा रोप्न थाले। विरुवा जोगाउन दुई जनालाई बार लगाउने जिम्मेवारी दिइयो। उनीहरू बेतका फिर्निचर बनाउनमा पोख्त थिए। दुई जनालाई पहिलो खेपमा रोपिएका विरुवा घेराबारा गर्नै सात महीना लाग्यो।
“हाम्रो योजना एक दिने वृक्षरोपण कार्यक्रम गर्ने होइन। हामीले त शहरलाई नै हरियाली बनाउने सोच राखेका छौं,” रसिल भन्छन्, “यो त हामीले देखेको सपना हो। यसलाई विपना बनाउन पनि हामी नै लाग्नुपर्छ भन्नेमा हामी स्पष्ट थियौं।”
उनीहरूले वन कार्यालयबाट निःशुल्क पाइने साना विरुवालाई प्राथमिकतामा राखेनन्। बरु हुर्किसकेको विरुवा नर्सरीबाट किन्न थाले। अनुभवले पनि सिकाउँदै गयो। कति ठाउँमा विरुवा मरे‚ कति ठाउँमा मान्छेले उखेलिदिए। कति ठाउँमा बटुवाले कमलो विरुवा भाँच्दै हिँडे। तिनका ठाउँमा नयाँ विरुवा लगाइयो। “त्यतिन्जेलसम्म विरुवा लगाइयो जतिन्जेलसम्म मान्छेले तिनलाई हानि नोक्सानी गर्दैनन्,” रसिल भन्छन्, “विरुवाको सबैभन्दा ठूलो दुश्मन मान्छे नै हुन्।”
तर, उनलाई कसैप्रति रिसराग छैन। एक उमेरमा मान्छेले चकचक गर्छन्। यसो गर्नु हुँदैन भनेर सिकाइए उसले बुझ्थे। किनकि‚ शहरमा विरुवा हुर्काइएको अनुभव नेपालीलाई छैन। जब कसैले नयाँ काम थाल्छ‚ त्यसको हानि नोक्सानीबारे बुझाउने काम पनि उसैको हुन्छ। त्यसैले कामसँगै सचेतना पनि चलाउनुपर्ने रहेछ भन्ने रसिलले बुझेका छन्। “केही नपाए कमलो विरुवा पटपट भाँचेर हिँडिदिन्छन्। गाडीले ब्याक गर्दा किचिदिन्छन्। निर्माण सामग्री थुपार्दा पेलिदिन्छन्। बाटो बनाउँदा मासिदिन्छन्,” उनी सुनाउँछन्।
उनीहरूले २०७२ सालदेखि निरन्तर विरुवा लगाउँदै आएका छन्। सडक विस्तार र विकासको पहिलो निसाना नै बाटो छेउका विरुवा हुन थालेपछि पछिल्ला चरण शहरका भित्री बाटो र सार्वजनिक जग्गामा विरुवा लगाउने क्रमले निरन्तरता पाएको छ। अहिलेसम्म बनेपामा उनीहरूले सात हजार विरुवा रोपेका छन्। ती सबै सप्रेका छन्? “हामीले रोपेका सात हजार विरुवामा तीन हजार जति रूख नै बनिसके,” रसिल भन्छन्, “अरु केही सप्रिंदैछन्।”
शुरुआती चरणमा ज्याकाराण्डा, कल्की, कपूरजस्ता चाँडै बढ्ने र गाईवस्तुले नखाने विरुवा लगाइए। पछिल्ला चरणमा आलुबखडा, अम्बा, लप्सी, एभोकाडो, मधेशी बदाम, तेजपात लगायत फलफूल लगाइएको रसिल बताउँछन्। विरुवाहरू निजी नर्सरीबाट किनिएका हुन्। शुरूताका नर्सरीमा ३–४ फीटसम्मका विरुवा पाउन मुस्किल भए पनि अहिले जेनतेन खोजेजस्तो विरुवा पाउन थालिएको उनी बताउँछन्।
१० वर्षको अन्तरालमा बनेपावासीले ‘रसिलले विरुवा रोप्छ‚ हरियाली बनाउँछ’ भन्ने बुझ्न थालेका छन्। त्यसैले त कसैले सय, कसैले ५० वटा विरुवा किनेर सहयोग गर्छन्।
उनीहरूले करीब १० वर्षअघि बनेपा मूलसडक र चण्डेश्वरी मन्दिर जाने बाटोमा लगाएका विरुवा अहिले २० फीट अग्ला भएका छन्। रुखमुनि विरुवाकै पर्खालको ‘हेज’ बनाइएको छ। “हामीले के गरेका छौं भनेर देखाउन मिल्ने काम भएको छ,” उनी भन्छन्, “अब धेरै बोलिरहन पर्दैन, जुन शुरूका दिनमा गर्नुपर्थ्यो।”
रसिलको हरियाली अभियानलाई लक्ष्मी ब्यांक र लभ ग्रीन जापानले केही अंशमा सघाएको छ। यद्यपि‚ उनीहरू सहयोग चाहियो भन्दै चाहर्दैनन्। धेरैले सोध्छन्– संस्था होला, सहयोग पनि आइरहेका होलान्। तर‚ त्यस्तो केही नभएको उनको भनाइ छ। “अनौपचारिक ढंगमा काम गर्दै आइरहेका छौं,” रसिल भन्छन्, “साथीभाइकै सहयोगले चलिरहेका छौं।”
उनीहरूसँग कुन वर्ष कति विरुवा रोप्ने भन्ने योजना पनि छैन। “यो वर्ष यति रोपियो अर्को वर्ष यति रोप्ने भन्ने योजना पनि छैन,” रसिल भन्छन्, “यो काम एक वा दुई वर्ष गरेर हुने पनि होइन‚ निरन्तर लागिरहनुपर्छ। एक चरणको काम पूरा भएपछि अर्को चरणको काम गर्नुपर्ने हुँदो रहेछ।”
विरुवा रोप्न उनीहरू पहिला ठाउँ खोज्छन्। स्थानीयवासीसँग छलफल गर्छन्। विरुवा छान्छन् अनि रोप्छन्। रसिल भन्छन्‚ “मुख्य कुरा त विरुवा बचाउन सकिन्छ कि सकिंदैन त्यो हेर्नुपर्छ।”
अभियानको क्रममा कतिपय ठाउँमा स्थानीय सकारात्मक नभएको ननिको अनुभव पनि उनीहरूसँग छ। आज विरुवा रोप्यो १० दिनमा विरुवा मरेको, उखेलिएको देखिन्छ। अर्को पटक ती ठाउँमा फेरि रोपिन्छ। केही ठाउँमा त्यो क्रम अलि बढी नै दोहोर्याइरहनुपर्ने हुन्छ। यसो गर्नुको विकल्प छैन।
अचेल विरुवा रोपिएको ठाउँलाई कसरी हरियाली बनाइराख्न सकिन्छ, ती ठाउँ कसरी सार्वजनिक उपयोगमैत्री बनाउन सकिन्छ भन्ने काम अघि बढेको छ। घोकेचौरको उकालोमा रहेको हिमालय माविअगाडि बगैंचा सहितको पार्क बनेको छ। पार्क झण्डै दुई सातामै बनेको रसिलले बताए। पार्कको अवधारणा र परिकल्पना पनि उनकै। पार्क बनाउन राष्ट्रिय वाणिज्य ब्यांक लगायत संघ संस्थाको सहयोग छ।
बनेपाको परिचय चण्डेश्वरी मानिन्छ। तर‚ त्यही मन्दिर फाहोर फाल्ने डम्पिङ साइट बनेको थियो। उनीहरूको समूहले चण्डेश्वरी मन्दिर सरसफाइ, उग्रेश्वरघाट सौन्दर्यीकरणको काम गर्यो। खोला सफा गर्न दुई हप्ता निरन्तर खटिँदा २६ सय बोरा फोहोर जम्मा गरे। त्यसबाहेक फोहोर फाल्ने ठाउँ भइरहेका सार्वजनिक ठाउँहरूलाई उनले उपयोग गर्दै आएका छन्।
पछिल्ला दिनमा सरकारी कार्यालय परिसर लगायत सार्वजनिक ठाउँमा पनि वृक्षरोपणलाई निरन्तरता दिइएको छ। उनले बनेपामा चीन सरकारले बनाइदिएको सीटीईभीटी कलेज परिसर, खानेपानी कार्यालय‚ घेराबारा गरिएको सरकारी विद्यालयहरूमा पनि वृक्षरोपण गर्दै आइरहेका छन्। “अचेल संघ संस्थाले वृक्षरोपणका लागि बोलाउँछन्,” उनी भन्छन्, “यसलाई पनि हामीले सकारात्मक रुपमा लिएका छौं।”
सरकारले वेला वेला तिलस्मी घोषणा गर्छ। यस्तै तिलस्मी घोषणा थियो- एउटा शहर‚ एउटा पार्क। सायद यो घोषणाको तयारी गर्ने‚ घोषणा गर्ने/गराउने सबैलाई थाहा छ, जे गर्ने भनिन्छ, त्यो गर्नु पर्दैन। कागजी रुपमा केही भइरहेको होला तर फिल्डमा कहीं केही भइरहेको देखिंदैन। रसिलसँग भने कुनै तिलस्मी योजना छैन। पार्कहरू बनाउने योजनाभन्दा पनि शहरलाई नै पार्क बनाउने उनको सोच छ।
“शहरमा पार्क बनाउनेभन्दा पनि शहरलाई नै पार्कको ढाँचामा विकास गरौं न,” उनको प्रस्ताव छ, “भएको सार्वजनिक स्थललाई अलिकति हराभरा, सरसफाइ, व्यायाममैत्री बनाउन समस्या के छ?” समस्या केही छ भने मान्छेको सोचमा छ। नयाँ केही शुरुआत गर्न हिच्किचाउने स्वभावमा छ। नयाँ केही नगर्ने हो भने पनि भएका सम्पदा र संस्कृति संरक्षण नगर्ने प्रवृत्ति छ।
“विगतको चौतारो मासियो, पँधेरो मासियो, तीनलाई नयाँ ढंगले पुनर्जीवन दिनुपर्छ भन्ने हाम्रो प्रयास हो,” उनी भन्छन्, “हामीले यो गरेको केही पाउनलाई होइन। आफ्नो ठाउँलाई केही राम्रो बनाउन सकिन्छ कि भन्ने प्रयास हो। हामी यहाँ बस्छौं, यो हाम्रो शहर हो। हामीले यसलाई राम्रो बनाउन अलिकति पनि प्रयाश किन नगर्ने?”
आफूहरूले गरेको काम नयाँ पुस्तालाई देखाउन सकिए उक्त कामले निरन्तर पाउने उनको अपेक्षा छ। बनेपाको स्थानीय बासिन्दा हुनु र निरन्तर लागिरहनु उनको पुँजी हो। तर, लगाइएको विरुवाको स्वामित्व ग्रहण गर्ने बासिन्दा वा निकाय नहुनु उनीहरूले सामाना गर्नुपर्ने चुनौती हो। त्यस्तै, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर शहरको स्वार्थलाई ध्यानमा राखेर काम गर्ने लगाव उनीहरूका लागि अवसर हो। उनले थालेको अभियानलाई संस्थागत नगर्ने हो भने आगामी दिनमा त्यसले निरन्तरता पाउन गाह्रो छ। संस्थागत निरन्तरता पाए दिगो हुनेछ।
बनेपामै होम-स्टे चलाइरहेका रसिलको आफ्नो व्यावसाय भने कोरोनाले गर्दा सुस्तायो। तर‚ विरुवा रोपेर रुख बनाउने काम भने सुस्ताएको छैन। एक दशकको वृक्षरोपण अभियानमा रसिलले के बुझे भने रोपिएका विरुवाले केही माग्दैन। ती आफैं बाँच्छन्। जब रुख ठूलो बन्छन्, तिनले दिने प्रतिफल अनेकौं हुन्छ। “यो कुरा जनसाधारण जो कोहीलाई थाहा छ तर आत्मसात् गर्न सकेको देखिँदैन,” रसिल भन्छन्, “हामीले जनसाधारणलाई सो कुरा आत्मसात् गराउनुपर्ने देखिन्छ।”
उनको मान्यता छ, सिद्धान्त पढ्नु र काम गर्दै जाँदा सिद्धान्त बनाउनुमा फरक छ। जब काम गरिन्छ तब काममा संलग्न भइन्छ। आरोह, अवरोह देखिन्छ। रसिल त्यो फरकपन मान्छेले महसुस गर्ने दिनको पर्खाइमा छन्। त्यो दिन नआउन्जेल उनी विरुवा रोप्ने, स्याहार्ने काममा व्यस्त हुन चाहन्छन्।