ठेकेदारको विवादले झरनामा पूर्वाधार निर्माण अनिश्चित
ठेकेदार कम्पनीबीचको विवादले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रहेको धिप्लुङ झरनामा पूर्वाधार निर्माण योजना अनिश्चित बनेको छ।
आशीर्वाद पीआर जेभी र स्काई सगरमाथा जेभीबीचको विवादले वडा नं ७ टेम्मा र वडा नं ६ छितापोखरीको सिमानामा रहेको १६७ मिटर अग्लो झरनामा पूर्वाधार निर्माण अनिश्चित बनेको हो। प्राविधिक मूल्याङ्कनमा देखिएको त्रुटिका कारण दुवै निर्माण कम्पनी एकअर्का विरुद्ध सार्वजनिक खरीद अनुगमन कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुगेका छन्।
पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा झरना आसपासमा भौतिक संरचना निर्माणका लागि २०७७ चैत १ मा पाँच करोड रुपैयाँको ठेक्का आह्वान गरिएको थियो। मन्त्रालयको तीन करोड ५० लाख र गाउँपालिकाको एक करोड ५० लाख खर्च हुने भनिएको योजनाका लागि आशीर्वाद पीआर र स्काई सगरमाथा जेभीले टेन्डर हालेका थिए। २०७८ जेठ २८ मा गरिएको प्राविधिक मूल्याङ्कनमा ‘इन्जिनीयर नभएको’ भन्दै स्काई सगरमाथा जेभीलाई ठेक्का प्रक्रियामा अयोग्य ठहर गरियो र आशीर्वाद पीआर जेभीलाई ठेक्का पर्यो।
तर‚ मिलेमतोमा ठेक्का पारिएको भन्दै स्काई सगरमाथा जेभीले सार्वजनिक खरीद अनुगमनको कार्यालयमा २०७८ असार ९ मा माग दाबी दर्ता गर्यो। कार्यालयले स्काई सगरमाथा जेभीलाई पनि प्राविधिक मूल्याङ्कनमा पास गराउनुपर्ने भन्दै २०७८ साउन ५ मा निर्णय गर्यो। त्यस विरुद्ध आशीर्वाद पीआर जेभीले सर्वोच्चमा रिट दायर गर्यो। सर्वोच्चले २०७८ चैत २९ मा उक्त रिट खारेज गरिदियो। सर्वोच्चले स्काई सगरमाथालाई प्राविधिक मूल्याङ्कनमा योग्य भने पनि बाँकी अवधिभित्र पुनः टेन्डर आह्वान गर्दा पर्यटन पूर्वाधारको काम सम्पन्न हुने अवस्था नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई बताउँछन्।
प्राविधिक मूल्याङ्कनका लागि एक इन्जिनीयरको डकुमेन्ट राखेको तर उसले ‘काम गर्दिनँ’ भनेपछि स्काई सगरमाथा जेभीको प्राविधिक प्रस्ताव फेल भएको थियो। तर‚ पछि ती इन्जिनीयर काम गर्न तयार भएको जनाइएको छ।
धिप्लुङ झरनाको पर्यटन प्रवर्द्धनका लागि आवश्यक संरचना निर्माण गर्न गाउँपालिका र मन्त्रालयबीच २०७७ फागुन १४ मा सम्झौता भएको थियो। सम्झौता अनुसार‚ पूर्वाधार निर्माण आगामी फागुनमा सम्पन्न गरिसक्नुपर्ने हुन्छ।
बजेटको छैन टुङ्गो
पूर्वाधार निर्माणका लागि बजेट आउने/नआउने निश्चित गर्न गाउँपालिकाले गत वैशाख ११ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो। पहिलो पत्रको जवाफ नआएपछि साउन १९ मा पुनः पत्र पठाइएको र त्यसको पनि जवाफ नआएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए।
सम्झौता अनुसार‚ २०७८ असार मसान्त २० प्रतिशत पेश्की झिकिनुपर्थ्यो। उक्त पेश्की नझिकिएकाले बजेट अनिश्चित बनेको हो।
धिप्लुङ झरनाको सिरानमा गेट, गेटभित्र पार्किङ स्थल, झरनासम्म झर्ने सिंढी, प्रतीक्षालय, सार्वजनिक शौचालय, झरनाभन्दा माथि खोला वारपार गर्ने पुल तथा झरनाको दृश्यावलोकनका लागि झरनाकै बीचमा वारिपारि जोड्ने पुल लगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ। झरना पुग्नका लागि गाउँपालिकाले छितापोखरी गोगने हुँदै तल्लोखर्क र टेम्माको डाँडाखर्कसम्म पुग्ने सडक बनाइसकेको छ।
रेलिङ सहितको ढलान बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि पार्क, फलैंचा, झरनाको माथिल्लो भाग हेर्न जाने रेलिङ सहितको फलामे भर्याङ बनाएपछि झरनामा आन्तरिक पर्यटकहरू आउन थालेका छन्।