राष्ट्रिय सभाका चार समितिमा चार जनाको उम्मेदवारी
राष्ट्रिय सभा अन्तर्गतका चार वटा विषयगत समितिका सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ।
समितिको सभापतिका लागि बुधबार चार जनाले उम्मेदवारी दिएका हुन्। दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभा अन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चार जना सांसदहरूको उम्मेदवारी परेको हो।
सभापतिको निर्वाचन बिहीबार दिउँसो १ बजे हुने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बताए।