साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी शुरूआत
काठमाडौंको दशरथ रङ्गशालामा आजदेखि शुरू भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनशिपमा नेपालले विजयी शुरूआत गरेको छ।
उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालको जितका लागि सावित्रा भण्डारी र अनिता बस्नेत समान दुई-दुई गोल गर्न सफल भए।
खेलको १२औं मिनेटमा अमिशा कार्कीको पासमा सावित्राले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिइन्। त्यसै गरी दोस्रो हाफमा खेलको ६७ मिनेटमा सावित्राले नै गोल गर्दै टीमलाई २–० गोलको अग्रता दिलाइन्। ७२ र ८४ मिनेटमा अनिताले दुई गोल गरिन्। सावित्राले ४०औं खेलबाट ४०औं गोल गरेकी छन्।
भुटानले पनि केही सुन्दर अवसर पाए पनि गोलमा परिणत गर्न भने सकेन। नेपालका मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले यस खेलबाट नै सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्।
साफ महिला च्याम्पियनशिपको पछिल्लो पाँच संस्करणमध्ये चार वटामा फाइनल खेलेको नेपाल उपाधिको प्रमुख दाबेदार टीम हो। नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन। नेपालले दोस्रो खेल श्रीलंकासँग भदौ २७ मा खेल्नेछ।