लोकसेवाको विज्ञापन विरुद्धकाे रिटमा आइतबार सुनुवाइ हुने
सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी रिटको सुनुवाइ पुनः १५ असारमा हुने भएको छ ।
आज भएको सुनुवाइमा विपक्षीमध्येको एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको हो ।
रिट निवेदनमाथि न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ भएको थियो ।
रिट निवेदनमाथि यही ८ असारदेखि सुनुवाइ शुरु गरिएकामा बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।
यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै रिटलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।