एकदिवसीय शृङ्खलामा नेपालको ‘क्लिन स्विप’
नेपालले केन्यासँगको एकदिवसीय शृङ्खला ‘क्लिन स्विप’ गरेको छ।
केन्या भ्रमणमा रहेको नेपाली टोलीले सोमबार तेस्रो एकदिवसीय खेल पनि जित्दै शृङ्खला ‘क्लिन स्विप’ गरेको हो। नेपालले तेस्रो खेल ६ विकेटले जितेको छ।
केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि प्रारम्भिक ब्याटर अर्जुन साउँद र आसिफ शेखले अर्धशतक प्रहार गरे। साउँदले ९० बलमा ५८ र शेखले ४३ बलमा ५६ रन बनाए।
त्यस्तै, नेपालका लागि बसिर अहमदले ४९ बलमा ५२ रन प्रहार गरे। यसै गरी रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए।
केन्याका लागि व्रज पटेलले दुई, शेम नोचे र यस टलाटीले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको केन्याले नौ विकेट गुमाएर २५५ रन बनाएको थियो। केन्याका लागि कलिन ओबुयाले ८४, ओलुचले ५९ र सुकदेव सिंहले ३७ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई-दुई तथा बसिर अहमद र शहाब आलमले एक-एक विकेट लिएका थिए।
यसअघि नेपालले टी-२० शृङ्खला पनि जितेको थियो। पाँच खेलको शृङ्खला ३-२ ले जितेको थियो।