बेलायतको नयाँ प्रधानमन्त्रीमा ४७ वर्षीया लिज ट्रस
कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छन्। सोमबार भएको आन्तरिक निर्वाचनमा उनी पार्टीको नेता चयन भएकी छन्।
उनी प्रतिस्पर्धी ऋषि सुनकलाई पराजित गर्दै पार्टी नेता चयन भएकी हुन्। लिजले ८१ हजार ३२६ मत पाइन् भने सुनकले ६० हजार ३९९ मत पाएको बीबीसीले जनाएको छ।
उनले ५७ प्रतिशत मत पाइन्। कन्जर्भेटिभ पार्टीका ८२.६ प्रतिशत सदस्यले मतदान गरेका थिए।
यसअघि सन् २०१९ मा बोरिस जोनसनले ६४.४ प्रतिशत, सन् २००५ मा डेभिड क्यामरुनले ६७.६ प्रतिशत मत पाएका थिए।
गत जुलाईमा बोरिस जोनसनले राजीनामा दिएपछि पार्टी नेता चयनका लागि लामो आन्तरिक प्रतिस्पर्धा चलेको थियो। अब मंगलबार बेलायती महारानीले उनलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन्।
उनी बेलायतकी तेस्री महिला प्रधानमन्त्री हुनेछिन्। यसअघि मार्गरेट थ्याचर र थेरेसा मे प्रधानमन्त्री भएका थिए।
पार्टी नेता चयन भएकोमा उनले धन्यवाद दिएकी छन्। यसलाई उनले सम्मानका रूपमा लिएको उल्लेख गरेकी छन्।