सांसद अमरेशकुमार सिंहलाई कारबाही, उम्मेदवार सिफारिश पनि भएनन्
नेपाली कांग्रेसका नेता एवं सांसद अमरेशकुमार सिंहलाई पार्टीबाट निलम्बन गरिएको छ भने उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश गरिएको छैन।
स्थानीय तहको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरू विरुद्ध अन्तर्घात एवं असहयोग गरेको जनाउँदै कांग्रेस सर्लाहीको जिल्ला अनुशासन समितिले उनलाई निलम्बन गरेको हो। उनलाई कांग्रेसबाट निलम्बन गरिएको जानकारी जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई दिएको छ।
उनी २०७४ सालको निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित भएका हुन्। स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै विरोध हुँदै आएको थियो।
निलम्बनमा परेका कारण उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश गरिएको छैन। उनको निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमितिले गगन थापाको नाम सिफारिश गरेको छ।
त्यसपछि सर्लाही जिल्ला कार्यसमितिले उपसभापति सरोज कुमारको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो। छानबिनमा सांसद सिंहले अन्तर्घात गरेको जनाउँदै समितिले निलम्बन गरेको हो।
सांसद सिंहलाई कारबाही गरेको निर्णय सम्बन्धी पत्र असार ४ गते नै प्रदेश कार्यसमितिलाई पठाइएको थियो।
कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको बताए। अनुशासन समितिका संयोजक सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा पनि कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख छ।
कांग्रेस विधानको धारा ३४ (अनुशासन सम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने लेखिएको छ।
प्रदेश कार्यसमितिलाई पठाएको पत्र बोधार्थ केन्द्रीय कार्यसमिति र केन्द्रीय अनुशासन समितिलाई पनि पठाइएको छ।