प्रकृति दोहन: महिला झनै मारमा
प्राकृतिक स्रोतको अभाव वा उपलब्धताले विशेष गरी ग्रामीण भेगका महिलाको समग्र जीवन प्रभावित हुने भएकाले यस्ता स्रोतको उपयोग, व्यवस्थापन, स्वामित्व र निर्णयमा उनीहरूकै अग्राधिकार हुनुपर्छ।
महिलाहरू प्राकृतिक स्रोतमा परम्परादेखि नै तुलनात्मक रूपमा बढी निर्भर छन्। यसको कारण हो, लैङ्गिकतामा आधारित हाम्रो सामाजिक संरचना। आर्थिक/शैक्षिक क्षेत्रमा धेरै परिवर्तन आइसके पनि महिलाको भूमिका उत्पादनमूलकभन्दा पुनरुत्पादनमूलक काममा सीमित गरिंदा प्राकृतिक स्रोतप्रतिको निर्भरता बढेको हो। यस अर्थमा प्राकृतिक स्रोतले महिलाहरूको श्रम र समय समेत निर्धारण गरिरहेको हुन्छ।
वन, जङ्गल, माटो, पानी, खेतीपाती जस्ता प्राकृतिक स्रोतसँग निकट रहने उनीहरू तीबाट प्राप्त वस्तु र सेवा परिवारसम्म पुर्याउँछन्। जस्तै- पशुपालनका लागि स्याउला, सोत्तर, पत्कर, डालेघाँस; खानका लागि कन्दमूल, च्याउ, निगुरो लगायत तरकारी तथा फलफूल; औषधिमूलोका लागि विभिन्न वनस्पतिका भाग; सानातिना कृषि औजारका लागि चाहिने काठ; पिउन, सरसफाइ, पशुपालन तथा कृषिका लागि आवश्यक पानी; दैनिक खाना बनाउन आवश्यक अन्नपात लगायत चिज प्रकृतिकै देन हुन्। यस्ता स्रोतको उपलब्धता वा अभावले महिलाको दैनन्दिनी प्रत्यक्ष प्रभावित पारिरहेको हुन्छ।
प्राकृतिक स्रोतको दैनिक आवश्यकताको मात्रा, सङ्कलनमा पहुँच वा सहजता, यसका लागि तय गर्नुपर्ने दूरी र समयले महिलाको कार्यबोझ निर्धारण गरेको हुन्छ। तसर्थ, यस्ता स्रोतको खोजीमा धेरै समय लगाउनुपर्दा महिलाको कार्यबोझ बढ्छ। उनीहरूले अन्य उत्पादनमूलक तथा सामाजिक काममा लाग्ने समय नै पाउँदैनन्।
हाम्रो मुलुकमा प्राकृतिक स्रोतको अभाव बढ्नुमा विभिन्न कारण छन्। स्रोतको अत्यधिक दोहनले प्राकृतिक विपद् बढाएको छ। जलवायु परिवर्तनले जमीनको उपयोगमा असर पुर्याएको छ। प्राकृतिक स्रोतबाट पाइने वस्तु तथा सेवाको गुणस्तर र उपलब्धतामा कमी आएको छ। यसबाट महिलाले भोगेका समस्या बहुआयामिक छन्।
वन विनाश र क्षयीकरण
बढ्दो शहरीकरणसँगै भौतिक पूर्वाधारका लागि वन क्षेत्रको अतिक्रमण, मिचाहा प्रजातिको वृद्धि, डढेलो आदिका कारण वन पैदावरको उपलब्धता र गुणस्तर खस्किएको छ। यसै कारण महिलाले वन पैदावार सङ्कलनका लागि पनि धेरै समय र श्रम खर्चनुपरिरहेको छ। वन्य उत्पादनको प्रयोग पुरुषको तुलनामा महिलाले धेरै गर्छन्। जस्तो- पुरुषले हलो, जुवा र अन्य सामग्रीका लागि वनबाट काठ ल्याउँछन् भने महिलाले घरायसी प्रयोगका घाँस, दाउरा, स्याउला, सोत्तर, पत्कर, जडीबुटी, फलफूल, तरकारीसम्म वनबाटै जुटाउँछन्। यसको अर्थ महिलाहरू पुरुषको तुलनामा धेरै वन जान्छन्।
वन क्षेत्रमा उपभोग्य वस्तुको उपलब्धतामा हुने कमीले वन पैदावारमा आश्रित समुदायको खाद्य सुरक्षामा समेत असर पार्छ। त्यसै गरी धार्मिक/सांस्कृतिक कार्यका लागि चाहिने वन्य सामग्रीको उपलब्धता वा कमीले सांस्कृतिक पक्ष पनि प्रभावित हुन्छ। यी दुइटैको आकस्मिक प्रभाव भोग्ने चाहिं महिला नै हुन्छन्।
पुरुषले हलो, जुवा र अन्य सामग्रीका लागि वनबाट काठ ल्याउँछन् भने महिलाले घरायसी प्रयोगका घाँस, दाउरा, स्याउला, सोत्तर, पत्कर, जडीबुटी, फलफूल, तरकारीसम्म वनबाटै जुटाउँछन्।
जलवायु परिवर्तन र कृषि
जलवायु परिवर्तनका कारण सिर्जित मौसमजन्य घटना जस्तै- अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, भूक्षयका कारण कृषि क्षेत्र प्रभावित छ। यो पनि महिलासँग सोझै जोडिएको क्षेत्र हो। बालीचक्रमा परिवर्तन, बाली तथा फलफूलको स्थानान्तरण, बालीको क्षति, रोग-कीरा र मिचाहा प्रजातिको वृद्धि, माटोको गुणस्तर र मलिलोपनामा क्षय, खडेरी, अत्यधिक वर्षाको कारण पानी जम्नु, बाढीपहिरो आउनु- यी समस्या कृषिको प्रतिकूल छन्।
त्यस्तै, हिमाली क्षेत्रमा हिउँ पर्न कम हुनुका साथै परेको हिउँ पनि चाँडै पग्लिँदा समग्र खेती प्रणाली नै बिथोलिएको छ। बालीमा रोग-कीरा बढेकाले विषादी प्रयोग विना उत्पादन बढाउन मुश्किल छ। विषादीको असुरक्षित प्रयोगका कारण कैयौं महिलालाई रोग लागेका दृष्टान्त पनि धेरै छन्। बालीनालीमा झार र मिचाहा प्रजाति बढ्दै गएकाले गोडमेलमा महिलाको अतिरिक्त समय र श्रम गएको छ। पछिल्ला वर्ष बाँदर लगायत वन्यजन्तुले बालीनाली खाने समस्या बढेकाले महिलाहरू बारीमै पहरा दिन बाध्य छन्।
यसै क्रममा बाँदरको आक्रमणमा समेत पर्छन्। समग्रमा कृषि स्रोतमा परेको प्रभाव अन्त्यमा खाद्य सुरक्षासँग जोडिन्छ। आफैं पकाएर सबैलाई खुवाएपछि खाने महिलाहरूले उस्तै परे पेटभरि खान समेत नपाउने अवस्था हुन्छ। यसले पोषण अभाव हुँदा खास गरी गर्भवती अनि बच्चालाई दूध चुसाउने आमाहरूलाई शारीरिक र मानसिक असर पर्छ। शिशुको शारीरिक विकास समेत रोकिन्छ।
पानीका स्रोत
पानीका स्रोत सुक्नुमा प्राकृतिक र मानवीय दुवै कारण छन्। हिमाली, पहाडी र चुरे क्षेत्रमा मूलकै पानीको भर छ भने तराई र काठमाडौं उपत्यकाका केही भागमा जमीनमुनिको पानी ‘बोरिङ’ गरेर प्रयोगमा ल्याइन्छ। नेपालका धेरै नदी र खोलानाला वर्षैभरि बगिरहनुमा प्राकृतिक मुहानकै योगदान छ।
केही वर्षयता पानीका मूल प्राकृतिक रूपमा र केही भौतिक पूर्वाधार निर्माणका कारण सुक्दै छन्। मुहान संरक्षणका लागि गरिने परम्परागत काम, आहाल, पोखरी निर्माण लगायत पानी पुनर्भरणका प्रयास हुन छोडेका छन्। पानीको अभाव पूर्ति गर्न अपनाइएका बोरिङ, लिफ्टिङ जस्ता विकल्प पनि समयक्रममा मूल सुकाउने कारक बन्ने गरेको पाइन्छ।
पानी अभावको प्रत्यक्ष मार महिला तथा किशोरीहरूलाई परेको छ। परिवारका लागि पानी जोहो गर्नै घण्टौं हिंड्नुपर्दा कैयौं किशोरीले पढाइ र महिलाले सामाजिक सहभागिताका कामबाट वञ्चित हुनुपरेको छ। त्यसै गरी गहु्रँगो भारी बोकेर लामो बाटो हिंड्नुपर्दा महिलाको प्रजनन स्वास्थ्यमा असर पर्छ।
अर्कातिर, लामो बाटो एक्लै हिंड्नुपर्दा उनीहरूले विभिन्न असुरक्षा सामना गर्नुपर्छ। कतिपय पहाडी ग्रामीण भेगमा पानीका मुहान सुकेकाले बसाइँसराइ समेत तीव्र छ। बसाइँसराइमा पनि बढी पीडित महिला नै हुन्छन्।
पानीको अभाव पूर्ति गर्न अपनाइएका बोरिङ, लिफ्टिङ जस्ता विकल्प पनि समयक्रममा मूल सुकाउने कारक बन्ने गरेको पाइन्छ।
स्रोतको विनाशसँगै विपद्
हरेक वर्ष बर्खा शुरू भएसँगै देशैभर बाढीपहिरोको घटना हुन थाल्छन्। गत वर्ष पनि सिन्धुपाल्चोक, मुस्ताङ लगायत देशका विभिन्न भागमा बाढीपहिरोले क्षति पुर्याएको थियो। मनसुन सकिएपछि भएको वर्षाले समेत धानबाली नष्ट पारेको थियो। यस्ता घटनाले समग्रमा पारिवारिक, आर्थिक, मनोवैज्ञानिक प्रभाव पार्ने भए पनि महिला र पुरुषले भोग्ने असर केही फरक हुन्छन्। पूर्णतया स्रोतमाथिको निर्भरता र भूमिकाकै कारण महिलाहरू बढी प्रभावित हुन्छन्।
विपद्को अवस्थामा तत्काल स्वच्छ खानेपानी, औषधिमूलो, खाद्यान्न, इन्धनको अभाव हुने हुँदा त्यसको जुगाडमा महिला नै अघि सर्नुपर्छ। साथमा बच्चा भएका, गर्भवती अनि महीनावारी भएका महिला तथा किशोरीलाई यो काम सहज हुँदैन। विपद्को घडीमा यस प्रकारको लैङ्गिक संवेदनशीलता विचार नगरी तय गरिएका राहतमुखी कार्यक्रमले महिलाहरू लाभान्वित हँुदैनन्। नेपालमा विपद्का वेला र त्यसकै कारण उत्पन्न परिस्थितिमा महिला/किशोरीमा हिंसाका घटना बढेको पाइएको छ।
समस्याको सम्बोधन
प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनमा महिला जसरी अग्रणी भूमिकामा छन्, स्रोतको स्वामित्व र निर्णयमा पनि उनीहरूकै अग्राधिकार स्थापित हुनुपर्छ। जलवायु परिवर्तनका कारण सिर्जना हुने समस्यासँग जुध्न महिलाको अनुकूलन क्षमता र पुनरुत्थानशीलता बढाउन आवश्यक तालीम, प्रविधि र वित्तीय स्रोतमा उनीहरूको
पहुँच बढाइनुपर्छ।
महिलाहरू पनि एउटै वर्गका हुँदैनन्। यस अर्थमा समुदाय, भूगोल, पहिचान, शारीरिक अवस्थाका आधारमा प्राकृतिक स्रोत दोहनले महिलामा पार्ने असर पनि फरक फरक हुन सक्छ। त्यस्ता प्रभाव आकलन गरी सम्बोधन गर्न सरकारी, गैरसरकारी, सामुदायिक, शैक्षिक, अनुसन्धानमूलक सबै संस्थाको प्रयास हुनुपर्छ। नीति, योजना, संस्थागत व्यवस्था, कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन तथा अनुसन्धान लैङ्गिक संवेदनशीलता र समावेशिताको मर्म अनुकूल हुनुपर्छ।
सामुदायिक वन जस्ता सफल कार्यक्रमहरूमा महिलाको नेतृत्व र लाभ अझ बढी सुनिश्चित गरिनुपर्छ। समाजमा व्याप्त लैङ्गिक चरित्र महिलालाई सधैं विना वेतनको शारीरिक श्रम र घरायसी भूमिकामा सीमित पार्न उद्यत छ। समाजको यस्तो चरित्र बदलिनुपर्छ, यसका लागि पुरुषको तत्परता पनि जरुरी छ।
(वन तथा वातावरण मन्त्रालयकी सहसचिव वाग्ले सरकारको जलवायु ‘फोकल पर्सन’ हुन्। हिमालको २०७९ भदौ अङ्कबाट।)