राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन्। “चुनावको घोषणापछि अब म संसद्मा आउँदिनँ, भत्ता पकाउनकै लागि आउँदिनँ भन्ने सोचेको थिएँ,” उनले भने, “चुनावी तयारीमै व्यस्त हुन खोजेको थिएँ। तर, म्याद बढाउन खोजेपछि बोल्नकै लागि आएको हुँ।”
उनले प्रतिनिधि सभाको म्याद लम्ब्याउने तयारीको विरोधमा सांसद पद त्यागको घोषणा गरेका हुन्। चुनाव घोषणा भएसँगै प्रतिनिधि सभाको कार्यकाल सकिने उल्लेख गर्दै अब तलब, भत्ता र सुविधाका लागि संसद् लम्ब्याइराख्नु उचित नभएको उनको भनाइ थियो।
“यहींबाट घोषणा गर्न चाहन्छु, म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन। समामुखलाई आग्रह गर्न चाहन्छु, मेरो नाममा आउने तलबभत्ता सुविधा रोकियोस्,” उनले भने, “यस्तो अनैतिक काममा लाग्न मेरो अन्तरआत्माले मानेनन्।”
उनी २०७४ सालको निर्वाचनमा झापा ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले ४४ हजार ६१४ मत पाएका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३१ हजार १७१ मत पाएका थिए। उनी यस पटक पनि झापा ३ बाट चुनाव लड्ने तयारीमा छन्।