भदौ २४ र २५ मा किताब जात्रा
‘किताब जात्रा’को पाँचौं संस्करण भदौ २४ र २५ गते काठमाडौंस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने भएको छ। किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्राको अघिल्ला दुई संस्करण कोभिड-१९ महामारीका कारण टेलिभिजन मार्फत भएकोमा यस वर्ष भौतिक रूपमा हुन लागेको हो।
फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले किताब जात्राको पाँचौं संस्करण भौतिक रूपमा गर्न लाग्दा आफूहरू उत्साहित रहेको बताए। "यो उत्साहका साथ मिस्टिक नेपाल अवधारणामा हामीले यसपालि किताब जात्राको प्रस्तुतिमै पनि विशेष तरीकाले विविधता दिंदै छौं," उनले भने।
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कला लगायतका क्षेत्रका समसामयिक विमर्श हुनेछन्। फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालका अनुसार, जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक जस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन्। जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर सङ्गीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए।
लेखक र पाठकबीच विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, ब्यांकिङ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश हुने १४ वटा सत्र रहने क्रिएटिभ फेस्टिभल डाइरेक्टर कला अनुरागीले जानकारी दिए। जात्रामा भारतका ख्यातिप्राप्त अभिनेता, गीतकार एवं गायक पीयूष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको साङ्गीतिक प्रस्तुति पनि रहने उनले बताए।
पठन संस्कृतिलाई जनजीवनको अभिन्न अङ्ग बनाउने उद्देश्यले स्थापित फाउन्डेशनले आयोजना गर्ने ‘किताब जात्रा’ को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत विकेश भट्टराईले जानकारी दिए। पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक विक्रेता किताब यात्राले गर्दै छ। उनका अनुसार, प्रदर्शनीमा उपलब्ध हुने पुस्तकमा विशेष छूटका साथै अनलाइन पेमेन्ट गेटवे प्रभु पे मार्फत भुक्तानी गर्दा अतिरिक्त पाँच प्रतिशत छूट हुने व्यवस्था गरिएको छ।
किताब जात्रामा एक लाख ११ हजार १११ रुपैयाँ राशि सहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ। सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान गर्ने स्रष्टालाई दिइने जनाइएको छ। उक्त सम्मान गत वर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई र त्यसअघि साहित्यकार सरुभक्त र जसराज किराँतीलाई अर्पण गरिएको थियो।
जात्राका अवसरमा ‘किताब यात्रा’ ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ। गत वर्ष आख्यानकार जीवा लामिछाने लिखित ‘देश देशावर’ ले अवार्ड पाएको थियो।
किताब यात्राले स्थापनाको पाँच वर्षको अवसरमा आफ्नो प्लेटफर्मबाट गत पाँच वर्षमा सबैभन्दा बढी बिक्री भएको किताबलाई यस वर्ष ‘किताब यात्रा डेमी–डिकेड बेस्ट सेलर अवार्ड’ पनि प्रदान गर्ने किताब यात्राका प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए।