‘व्यावसायिक घरानाले राजनीति र पत्रकारितालाई खेलाउन थालेका छन्’
संवैधानिक संस्थाहरूको क्षयीकरण हुँदै गएको छ। शक्तिको भ्रष्टीकरण बाक्लिएको छ। यता शक्तिको रापतापले पत्रकारिताको गुणस्तर खस्किँदै गएको छ।
केही पत्रकारले सपना देखे, त्यो सपना साकार गर्न सृष्टि गरे, त्यही सृष्टि संगठनको रूपमा खोज पत्रकारिता केन्द्र (खोपके) बनेर अस्तित्वमा आयो। एउटा सङ्कल्प थियो नेपाली पत्रकारितामा नवआयाम लिएर उपस्थित हुने।
उर्दूको एक पंक्ति छ, ‘देखा एक ख्वाब तो सिलसिले बने।’ खोपके त्यसै गरी एउटा सपना जो आकार लिएर आज निरन्तरता पाइरहेको छ। २५ वर्षको अवधि आफैंमा कम हुँदैन, खोपकेले २५ वर्ष पूरा गर्नु आफैंमा एउटा महत्त्वपूर्ण परिघटना त हुँदै हो कि खोज पत्रकारिताको अवधारणा फक्रिंदै, फैलिंदै पनि आएको छ।
२५ वर्ष पूरा गर्दाको क्षण खोपकेका लागि उत्सव हो, आफैंलाई आफ्नै अतीतको ऐनामा नियाल्ने मौका हो। विगत कति सार्थक रह्यो, आगतका लागि के सन्देश हुन सक्छ र वर्तमानमा कत्तिको समर्पण छ, त्यसको लेखाजोखा गर्ने उत्सव हो यो।
कुनै पनि संगठन वा भनौं अभियान, आफ्नो इतिहासको केवल गान गरेर बाँच्न सक्दैन, त्यसले वर्तमानसँग कत्तिको तादात्म्य स्थापित गरिरहेको छ, त्यसको आधारमा उसको भविष्यको आकलन हुन्छ। खोज पत्रकारिता केन्द्रको २५ वर्षे यात्रा नेपालमा खोज पत्रकारिताको दिशा र दशाबारे विवेचना गर्ने अवसर हो। उद्देश्य के थियो र कहाँ पुगियो?
यतिखेर भर्तृहरिको उक्ति ‘सर्वविदा समाजे विभूषण मौनम् पण्डितानाम्’ याद आयो। यसको आशय हो- जान्नेहरूको माझमा, जानकारहरूको सम्मुख चूप रहनु नै अपठित मान्छेहरूलाई शोभा दिन्छ। पत्रकारिता पेशाका नामूद, स्थापित एवं चिनिएकाहरूमाझ बोल्दा मलाई सङ्कोच भइराखेको छ, तर पनि विनम्रतापूर्वक केही कुराहरू राख्छु नै।
हामी पत्रकारले आफ्नो समयका प्रश्नहरू उठाउनैपर्छ, त्यसको जवाफ र निदान खोज्नैपर्छ। खोज पत्रकारिता त एउटा अन्तहीन प्रक्रिया हो, यो कहिले पनि अब आवश्यक छैन भन्न सकिंदैन। २०५३ सालमा खोपके स्थापित हुँदा यसको सान्दर्भिकता र प्रयोजन एक प्रकारको थियो, आज केही फेरिएको छ, तर यो हिजो जत्तिकै अपरिहार्य छ।
खोज पत्रकारिता भनेको मध्यराति अँध्यारो कोठाभित्र छिरेर जूनको सहरामा उज्यालो ल्याउने सङ्कल्प हो, अनुष्ठान हो। खोज पत्रकारिता हतारमा गरिने पत्रकारिता होइन। खोजमूलक रिपोर्टिङका लागि धेरै स्रोत, योजनाबद्ध प्रयास र दिनैपिच्छे गरिने रिपोर्टिङका लागि भन्दा बढी समय चाहिन्छ।
२०४६ सालको बदलावपश्चात् केही विसङ्गतिहरूले निरन्तरता पाइराखे, केही नयाँ टुसाउन थाले। माओवादीको सशस्त्र संघर्ष र राजा ज्ञानेन्द्रको ‘कू’ पश्चात् जे जसरी सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक असरहरू देखा परे, त्यो उजागर गर्न दैनिक गरिने पत्रकारिताले सम्भव थिएन। यसका लागि योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रिया अपनाउनु आवश्यक थियो। र, यसरी गरिने पत्रकारिता नै खोज पत्रकारिता हो।
हामी पत्रकारले आफ्नो समयका प्रश्नहरू उठाउनैपर्छ, त्यसको जवाफ र निदान खोज्नैपर्छ।
समाजमा बेथिति नहोस्, शक्तिको भ्रष्टीकरण नहोस्, भ्रष्टाचार नहोस्, अनैतिक रूपमा नीतिगत चलखेल नहोस्, यसका लागि वातावरण तयार गर्न जरुरी छ। तर, खोज पत्रकारले दोषीमा मात्रै ध्यान दियो र दोषीलाई अपराध गर्न दिने गलत प्रणालीबारे खोतलेन भने अँध्यारो रहिरहन्छ। एउटा दोषी दण्डित गरिए पनि अर्को त्यही गोलचक्कर छिर्न आइपुग्छ। संरचनामा कहाँनिर रिक्तता छ, कहाँ प्वाल छ, संवैधानिक उज्यालोभित्र कहाँ अँध्यारो लटपटिएको छ, त्यो मिहिन तरीकाले खोज्ने र सरोकारवालालाई सचेत बनाउने महत्त्वपूर्ण कार्य खोज पत्रकारिताभित्र पर्छ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ। बहुतहको सरकार छ। तर, अँध्यारोको सघनता बढ्दै गएको देखिन्छ। मधेशका भाषाहरूमा यस्तो निष्पट्ट अँध्यारोलाई ‘करिया कूच कूच रात’ भनिन्छ। खोज पत्रकारिताको कर्म भइराखेकै छ। कहिलेकाहीं लाग्छ, अध्याँरोप्रतिको सामान्यीकरण यतिविघ्न भइसकेको छ कि खोज पत्रकारिताको माग बढेको छ, झन् आवश्यकता देखिएको छ।
अहिले व्यावसायिक घरानाले राजनीति र पत्रकारितालाई खेलाउन थालेका छन्। बहुतहको सरकार भए पनि शक्ति सीमित घेरामा अल्झिएको छ। संवैधानिक संस्थाहरूको क्षयीकरण हुँदै गएको छ। शक्तिको भ्रष्टीकरण बाक्लिएको छ। यता शक्तिको रापतापले पत्रकारिताको गुणस्तर खस्किँदै गएको छ।
मिडिया विश्लेषकहरूका अनुसार, खोज पत्रकारिताको सबैभन्दा ठूलो शत्रु काँतर र अल्छी पत्रकार हुन्। यस्तो वर्तमान पाएर सत्ता र शक्तिमा रहेकाहरू प्रश्न गर्ने सामर्थ्यलाई निस्तेज पार्न हौसिएका छन्। बडो कठिन परिस्थिति छ, नेपाली पत्रकारिताका निमित्त।
खोपकेले तालीम, परामर्श र फेलोशिप मार्फत खोज पत्रकारलाई हौस्याइराखेकै छ। सँगसँगै अन्य मिडिया प्रतिष्ठानसँग सहकार्य गरिरहेको छ। यसकै परिणति हो- अन्यत्र पनि ‘खोज बिट’ को सोचले आकार लिएको छ। अन्तर्राष्ट्रिय स्तरका ती संस्थाहरू जो खोज पत्रकारितालाई आयाम दिइरहेका छन, तिनीहरूसँग पनि खोपकेको सहकार्य भइरहेको छ। नेपालका पत्रकारहरूलाई अध्ययन भ्रमण एवं बाहिरी विज्ञहरूबाट संवादको संयोजन समेत खोपकेले गर्दै आएको छ।
पाकिस्तानमा सिन्ध नदीमा एउटा मान्छा पाइन्छ, त्यसको नाम हो- पल्ला माछा। त्यो माछाको स्वभाव हो, पानीको गतिको विपरीत दिशामा हिंड्ने। सिन्धु नदी जहाँ समुद्रमा मिसिन ओरालो लाग्ने गरेको हुन्छ, पानीको वेग तीव्र हुन्छ, त्यही पल्ला माछा पाइन्छ। मजरूह सुल्तानपुरीको एक गीति पंक्ति छ- तू नहीं तो कोई और सही, कोई और नहीं तो कोई और सही, बहुत लम्बी है जमीं, मिलेंगे लाख हंसी।
यहाँ उल्लेख गर्नुको तात्पर्य के हो भने तमाम प्रतिकूलताका बावजूद नेपाली पत्रकारितामा पल्ला माछा प्रवृत्ति बाँचेको छ। यही नै खोज पत्रकारिताका लागि बीज हो। यसले नै खोज पत्रकारितालाई थेगेको छ, गरिमापूर्ण काँध दिएको छ। सङ्कटका माझ पत्रकारिताका हाँक र हौसला स्वीकार गर्ने पत्रकारहरूको ठूलो पंक्ति छ।
यस्तै साहसी, निर्भयी र समर्पित पत्रकारहरूलाई देखेर रोबर्ट फर्स्टको विश्वप्रसिद्ध पंक्ति सम्झिन चाहन्छु-
द वुड्स आर लभ्ली, डार्क एन्ड डीप
बट आई ह्याभ प्रोमिसेज टु कीप,
एन्ड माइल्स टु गो बिफोर आई स्लीप,
एन्ड माइल्स टु गो बिफोर आई स्लीप।
यहाँ जो ‘आई’ छ, त्यो खोपके हो। जुनसुकै सत्ता प्रश्न सुन्न चाहँदैन, प्रश्नहरू मार्फत अनावृत हुने सत्यलाई देख्न चाहँदैन। तिनका आँखा तिरमिराउँछन्। त्यसैले उनीहरू अनेकौं कानूनी र गैरकानूनी उपक्रम गर्न तम्सिन्छन्। हामी आफ्नो सङ्कल्पप्रति कृतसङ्कल्पित छौं। जनहितका हाम्रो खोजको बाटोको पथिक बन्न अटल छौं।
-खोज पत्रकारिता केन्द्रको २५औं वार्षिकोत्सव समाराेहमा अध्यक्ष चन्द्रकिशोरले राखेको मन्तव्यको सम्पादित अंश।