पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत
नेपाल पत्रकार महासङ्घले सङ्घीय संसदमा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरूमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
‘क्लिन फिड’ ले नेपाली सञ्चार माध्यमको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने पनि महासङ्घले विश्वास व्यक्त गरेको छ ।
विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्था गरी लागू गर्ने दृढता प्रदर्शन गरेकामा महासङ्घले सरकारलाई धन्यवाद व्यक्त गरेको हो ।
मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालासँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन पनि महासङ्घले सरकारलाई अनुरोध गरेको छ ।
महासङ्घले बुधबार वसन्तपुरमा चर्चित कविहरूको कविता वाचन र ख्यातिप्राप्त काटुर्निष्टहरूका कार्टुन चित्र प्रदर्शनी आयोजना गर्दैछ । महासङ्घले आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सरकारसँग पुनःआग्रह गरेको छ ।