प्रमुख न्यायाधिवक्ताबाट राजीनामा दिएका झा भन्छन्- महोत्तरी ३ बाट चुनाव लड्छु
मधेश प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् भने महन्थ ठाकुरको क्षेत्रबाट चुनाव लड्ने बताएका छन्।
शनिबार झाले मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्। छिटै जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेर आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्ने उनको तयारी छ।
प्रमुख न्यायाधिवक्ताबाट राजीनामा दिएपछि हिमालखबरसँग कुराकानी गर्दै झाले भने, “आगामी मंसीर ४ मा महोत्तरी ३ बाट चुनाव लड्छु।” यो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको क्षेत्र हो।
२०७४ सालको चुनावमा यो क्षेत्रबाट ठाकुर निर्वाचित भएका थिए। उनले २६ हजार ८४५ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजयकुमार चौधरीले आठ हजार ६७६ मत पाएका थिए। त्यति वेला ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वका संघीय समाजवादी फोरमबीच तालमेल भएको थियो।
स्थानीय चुनावमा यो क्षेत्रमा जसपा बलियो देखिएको छ। “महोत्तरी ३ मा जसपाको संगठन बलियो छ, स्थानीय चुनावमा पनि लोसपा कमजोर देखिएको छ,” झाले भने, “स्थानीय चुनावको नतीजा हेरेर त्यही क्षेत्रबाट चुनाव लड्ने मनस्थिति बनाएर प्रमुख न्यायाधिवक्ताबाट राजीनामा दिएको हुँ।”
अन्य पार्टीले पनि टिकटका लागि ‘अफर’ गरेको उनको भनाइ छ। “चार वर्ष जसपा नेतृत्वकै सरकारमा प्रमुख न्यायाधिवक्ता भएर काम गरें, त्यसैले पनि जसपाबाटै संघीय चुनाव लड्ने मनस्थिति बनाएको छु,” झाले भने।