दरबारी रवाफ
भाषाको प्रयोगबाट सामाजिक तहबीचका सीमा भत्काउने प्रयास दुई भिन्न धारबाट तर उस्तै प्रयोजनले भएका थिए।
नेपाली भाषाको विकास प्रवाहमा देखिएका अनेक पक्षमध्ये आदरार्थी प्रयोग रोचक र यदाकदा बहसको विषय पनि रहिआएको छ। मैले समाज बुझ्ने समयको शुरूतिर नेपालमा सक्रिय राजतन्त्र थियो। भर्खर समाज बुझ्ने हुँदा यहाँ संवैधानिक राजतन्त्र आयो। अहिले लोकतान्त्रिक गणतन्त्र भनिने राजारहित व्यवस्था छ। उक्त आदरार्थी प्रयोगका उतारचढावलाई मूलतः यिनै तीन राजनीतिक व्यवस्थाको सापेक्षतामा यहाँ चर्चा गरिँदै छ।
नेपाली भाषामा अति उच्च आदरार्थी, दरबारी आदरार्थी र दरबारी भाषिका जस्ता नामले चिनिने विशिष्ट खाले रूपको प्रयोग हुन्छ। यसमा पनि दुई तह देखिन्छन्, पहिलो राजा वा राजपरिवारका सदस्यका लागि मात्र प्रयोग हुने ‘मौसुफ’ वा ‘सरकार’ सर्वनाम र ‘दर्शन गर्नु’, ‘सुकला हुनु’, ‘नजर हुनु’, ‘सवारी हुनु’ जस्ता जटिल क्रिया वा धातुमा ‘बक्सनु’ सहायक क्रिया जोडिएर बन्ने संयुक्त क्रिया प्रयोग भएको र दोस्रो राजा र राजपरिवारका सदस्य बाहेकका व्यक्तिका लागि प्रयोग हुने ‘हजुर’ सर्वनाम र धातुमा ‘बक्सनु’ (वा यसैको छोटो रूप ‘सनु/सिनु’) जोडिएर बन्ने संयुक्त क्रिया प्रयोग भएको। ‘श्री ५’, ‘महाराज’, ‘महारानी’, ‘बुबा हजुर’, ‘मुमा’, ‘दर्शन’, ‘भुजा’ (भात भन्ने अर्थमा) ‘ज्युनार’ आदि विशेष शब्द पनि यिनै दुई तहसँग सम्बन्धित थप उदाहरण हुन्।
‘श्री ५ बाट दर्शन भेट बक्स भयो’, ‘महाराजको सवारी भयो’, ‘सरकारबाट नजर भयो’, ‘मौसुफको सवारी हुन्छ’ जस्ता वाक्य पहिलो वा सबैभन्दा उच्च तहको प्रयोगका उदाहरण हुन् भने ‘बुबाले खाइबक्स्यो’, ‘मुमा आइबक्सन्छ’, ‘हजुरले हेरिबक्स्यो’ जस्ता वाक्य दोस्रो तहको प्रयोगका उदाहरण हुन्। यीमध्ये ‘दर्शन गर्नु’ र ‘सवारी हुनु’ बाहेक पहिलो तहका अरू रूप राजतन्त्रको अन्त्यसँगै प्रयोगबाट हराइसकेका छन्, तर दोस्रो तहका रूपको प्रयोग नेपाली समाजमा अझ फैलँदो छ।
यसरी फैलने क्रममा अचेल ‘भुजा खाइस्यो’ मात्र होइन ‘घिच्न आइस्यो’, ‘कुटाइ खाइस्यो’ जस्ता प्रयोगकर्ताको मानसिक दरिद्रता छर्लङ्ङ हुने टीठलाग्दा प्रयोग समेत सुन्न पाइन्छ। यीभन्दा तल्ला तहका क्रमशः ‘तपाईं जानुभयो’, ‘तिमी गयौ’ र ‘तँ गइस्’ जस्ता रूप भने दरबारी आदरार्थी होइनन्।
नेपाली भाषामा यस्तो प्रयोग राणाकालमा बाहिरबाट आएको र शुरूआती चरणमा राणा तथा राजाका दरबारमा सीमित रहेको केसरीराज पाण्डेले उल्लेख गरेका छन्।
नेपाली भाषामा यस्तो प्रयोग राणाकालमा बाहिरबाट आएको र शुरूआती चरणमा राणा तथा राजाका दरबारमा सीमित रहेको केसरीराज पाण्डेले उल्लेख गरेका छन्। तत्कालीन बडागुरु पाण्डेले २०५६ सालको जगदम्बाश्री तथा मदन पुरस्कार समर्पण गर्ने समारोहको दीक्षान्त प्रवचनमा यस्तो जानकारी दिएका हुन्। उनले कतिपय सन्दर्भमा राजपरिवारमा भन्दा राणा परिवारमा यस्तो प्रयोगको कृत्रिमता बढी देखिने गरेको समेत उल्लेख गरेका छन्।
आजको प्रबुद्ध समाजमा फैलिंदै र झन् झन् जटिल बन्दै गएको यस्तो भाषिक विषमता शालीनताको छद्म भेषमा सामन्तवादको नयाँ संस्करण भएको हुनाले प्रजातन्त्रमा लागेको कालो दाग हो भन्ने उनको ठहर छ। यस्तो भाषिक रूपको विकासक्रमलाई दरबारकै सङ्गतमा रहेर नियालिरहेका दरबारिया (राजगुरु भएको हुनाले) बाटै व्यक्त भएको यो धारणा विशेष महत्त्वपूर्ण छ।
रमेश खकुरेलले २०५३ सालमै सुनकोशी पत्रिकाको दोस्रो अङ्कमा ‘नेपाली भाषाः दरबारिया शैली’ शीर्षक लेखमा आफूलाई सम्भ्रान्त परिवारका भन्न रुचाउनेहरूका बीच यो शैली प्रयोग हुने, आफूभन्दा माथिकालाई मक्खनबाजी गर्ने वा साँच्चै आदर गर्नेहरूले पनि यस शैलीको प्रयोग फैलाउँदै लगेका, यो शैली दरबारबाट बाहिर निस्केर फैलिँदै गएको, धेरैजसो समाजवादी नेताहरूकै घरपरिवारमा पनि बोलचाल गरिने गरेको आफूले देखेको उल्लेख गरेका छन्।
सक्रिय राजतन्त्र रहँदा राजपरिवारका लागि सार्वजनिक रूपमा ‘बक्सनु’ वा त्यसभन्दा माथिल्लो तहको (नजर हुनु, सवारी हुनु, हुकुम हुनु आदि) आदरार्थी रूप मात्र प्रयोग गर्न मिल्थ्यो। राणाकालपछिका प्रधानमन्त्री, मन्त्री र समाजको उपरी हिस्साका अन्य सदस्यका लागि भने ‘हजुर’ सँगै बोलचालमा ‘बक्सनु’ प्रयोग भए पनि लेखनमा त्यसभन्दा तल्लो तहको (हेर्नुभयो, जानुभयो, भन्नुभयो आदि) आदरार्थीको प्रयोग हुन्थ्यो।
मैले संवैधानिक राजतन्त्रकालको शुरूमा दुई घटना देखें। तीमध्ये एउटा त्यस वेलाको नेकपा (एमाले)का नेता मदन भण्डारीले आफ्नो चुनावी भाषणमा राजाका लागि ‘तिमी’ तहको आदरार्थी प्रयोग गरेको घटना (यसरी भाषण गर्दथे मदन भण्डारी (२४औं मदन-आश्रित स्मृति दिवस विशेष, कान्तिपुर एचडी टिभी, मे १७, २०१७) हो। यसै भाषणमा ‘बक्सनु’ पनि छ तापनि मदन भण्डारीको राजनीतिक पृष्ठभूमिको कारण ‘तिमी’को प्रयोगलाई जिब्रो चिप्लेको मात्र मान्नु उपयुक्त नहोला।
अर्को चाहिं सञ्चार माध्यममा राजपरिवार बाहेकका संवैधानिक पदाधिकारीका लागि ‘तिमी’ तहको आदरार्थी प्रयोग गरेको घटना हो। भाषाको प्रयोगबाट सामाजिक तहबीचका सीमा भत्काउने यी प्रयास दुई भिन्न धारबाट तर उस्तै प्रयोजनले भएका थिए।
पहिलो आर्थिक दृष्टिले वर्गविहीन समाजको स्थापना गर्ने चाहनाबाट प्रेरित थियो भने दोस्रो आर्थिक, लैङ्गिक, जातीय आदि बहुआयामिक दृष्टिले वर्गविहीन समाजको स्थापना गर्ने चाहनाबाट। पहिलोको आड समाजलाई केन्द्रमा राख्ने कम्युनिष्ट विचारधारा र दोस्रोको आड व्यक्तिलाई केन्द्रमा राख्ने उदारवादी विचारधारा थियो।
अहिले मुलुकमा निर्वाचित मानार्थ राष्ट्रपति छन् भने सरकारको नेतृत्वमा संवैधानिक राजतन्त्रकालकै अधिकांश राजनीतिकर्मीको आलोपालो चलिरहेको छ। नितान्त व्यक्तिगत पारिवारिक टिप्पणी ठहरिने तर यस सन्दर्भमा उल्लेख गर्नै पर्ने केही घटना यसबीचमा भएका छन्। मदन भण्डारीको दुःखद अवसान भइसकेको छ र वर्तमान राजनीतिको सर्वोच्च पद (राष्ट्रपति)मा उनकी पत्नी विद्यादेवी भण्डारी आसीन छिन्।
उही समयमा सत्तामा देखा परेका शेरबहादुर देउवाको विवाह राणा परिवारमा भएको छ र उनी पटक पटक प्रधानमन्त्री भएका छन्। आफूलाई भण्डारीकै विचारका संवाहक मान्ने खड्गप्रसाद ओली त्यसै दलको नेतृत्व गर्दै छन् र पटक पटक प्रधानमन्त्री भएका छन्।
यसबीचमा एउटा रमाइलो प्रसङ्ग अगाडि आएको छ। दोस्रो कार्यकालमा करीब दुई तिहाइ मत सहित प्रधानमन्त्री भएका ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले दोस्रो पटक संसद् विघटन गरेपछि प्रमुख विपक्षी दलका नेता देउवाले राष्ट्रपतिको लागि ‘तिमी’ तहको आदरार्थीको प्रयोग गरेर विज्ञप्ति जारी गरे। विज्ञप्तिमा राष्ट्रपतिका लागि आदरार्थी भाषाको प्रयोग नगरिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति प्रकट गरे (देउवाको विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री ओलीको आपत्ति, सेतोपाटी, २०७८ जेठ ९, आइतबार)।
मैले दरबारी नेपाली भाषिकाः वर्णनात्मक अध्ययन, २०६० मा दरबारी भाषिकालाई राजा वा राणा परिवार र तिनका सम्बन्धी, आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा प्राप्त तथा सामाजिक, राजनीतिक वा प्रशासनिक उच्च हैसियत भएका र मूल थलो छाडेर शहर पसेका नेपालीहरूबीच प्रयोग हुने भाषिका भनेको छु। यस क्रममा ‘दरबार’ शब्द अन्तर्गत राजदरबार र राणा दरबारका साथै ‘टेकु दरबार’ (नेपाली कांग्रेसको तत्कालीन केन्द्रीय कार्यालय) र ‘बल्खु दरबार’ (नेकपा एमालेको तत्कालीन केन्द्रीय कार्यालय) समेत समेटेको छु। पेरिसडाँडामा चाहिं त्यस वेला दरबारी हुने चाहना सार्वजनिक भइसकेको थिएन।
यसरी हेर्दा दरबारी आदरार्थी मूलतः सत्ता र शक्तिको भाषा रहेछ। त्यसैले त तत्काल सत्तामा नरहेका मदन भण्डारीले सत्ताको केन्द्रमा रहेका राजा (वीरेन्द्र)का लागि अनि तत्काल सत्तामा नरहेका शेरबहादुर देउवाले सत्ताको केन्द्रमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ‘तिमी’ तहको आदरार्थी प्रयोग गरेका रहेछन्। तत्कालीन सत्ता (राजा वीरेन्द्र, राष्ट्रपति भण्डारी वा प्रधानमन्त्री ओली) को अपेक्षा भने ‘बक्सनु’ वा त्यसभन्दा माथिल्लो आदरार्थीकै रहेछ भन्ने कुरा छर्लङ्ग देखिँदो रहेछ।
(रेग्मी त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन्। हिमालको २०७९ भदौ अङ्कबाट।)