राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित
नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको भदौ १७ गतेको बैठकले पुनः पारित गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरे।
यो विधेयक प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ।
राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो।
सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने छ। राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।