वैदेशिक रोजगारीका बाछिटा
वैदेशिक रोजगारीका बारेमा एउटै आयामबाट निष्कर्ष निकाल्न सकिन्न। यसका विविध आयाम हेर्न यो पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ।
नेपाली अर्थतन्त्र श्रम आप्रवासनबाट पालित पोषित छ। विगत दुई सय वर्षमा यसको चरित्र र प्रभावमा ठूलो परिवर्तन आएको छ। लामो समय ब्रिटिश भारत र पछि बेलायत (मलाया र हङकङ समेत) र भारत मात्र हाम्रा श्रम गन्तव्य थिए।
सन् १९८० को आसपासबाट ह्वात्तै आर्थिक फड्को मारेका र विश्व पूँजीवादका नयाँ उपकेन्द्र बनेका खाडी मुलुकहरू नेपालीहरूको गन्तव्य बनेका छन्। सन् १९८० पछि मलेशिया र दक्षिण कोरिया पनि नेपाली श्रमिकका गन्तव्य हुन्। अहिले देशको अर्थतन्त्रलाई वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणले नै चलायमान बनाएको छ।
वैदेशिक रोजगारीले अर्थतन्त्रमा त प्रभाव पारेकै छ, साथै परिवार र समाजमा ठूलो उथलपुथल पनि ल्याइदिएको छ। यसै सेरोफेरोमा परदेशिएका श्रमिकहरूका कारण नेपाली अर्थतन्त्र र समाजमा ल्याएका हेरफेरलाई यज्ञशको सम्पादनमा प्रकाशित परदेशको पसिनाले केलाउने प्रयास गरेको छ। पुस्तकमा वैदेशिक रोजगारीमा जानेहरूले पठाएको पैसाका अर्थ-सामाजिक प्रभाव तथा प्रवासनका कारण परिवार र समाजमा आएका परिवर्तनका विविध आयामबारे सात जना पत्रकार तथा लेखकका लेख छन्।
पुस्तकको शुरूआतमा सम्पादक यज्ञशले लामो परिचयात्मक टिप्पणी लेखेका छन्। उनले पुस्तकभित्र समेटिएका लेखहरूको समग्र समीक्षा गर्दै श्रमका लागि विदेशिनेहरूका अनेक आयामको प्रभावबारे आर्थिक, सामाजिक र सांस्कृतिक पाटोबाट भावुक विश्लेषण अघि सारेका छन्। रमेश कुमार लिखित ‘लाहुरको धनको अर्थराजनीति’मा नेपालीहरूको श्रम आप्रवासनको इतिहास र त्यसले आजको नेपाली अर्थतन्त्र र समाजमा पारेका प्रभावहरू विस्तारमा चर्चा गरिएको छ।
आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरू र २०५७/५८ यता वार्षिक रूपमा भित्रिएको विप्रेषणको तथ्याङ्क पनि समेटिएको यो आलेख वास्तवमा नेपाली अर्थतन्त्रसँग विप्रेषण कसरी जेलिँदै गएको छ भन्ने अनुसन्धानपरक पाठ्यसामग्री हो। विश्वका अन्य गरीब देशहरू कच्चा पदार्थ सस्तो दाममा निर्यात गरेर महँगो सामान आयात गर्दै गरीबीको चक्रमा फसिरहन्छन्, नेपाल लगायतका केही तेस्रो विश्वका देशहरू भने श्रम निर्यात गरेर हुने आयस्ताबाट गरीबीमा फसिरहेको तीतो यथार्थ पनि केलाइएको छ।
साथै, सरकारको वैदेशिक व्यापार खातामा विप्रेषणको भरथेग, सामान्य परिवारको आयस्तामा वृद्धिले गरीबी घटाउन गरेको सहयोग, ब्यांक तथा वित्तीय संस्थाहरूको विकास र शहरका अनेक वस्तु तथा सेवाको कारोबारमा आएको वृद्धि जस्ता परिवर्तनमा विप्रेषणको प्रभावबारे उनको लेखले चर्चा गरेको छ।
रामचन्द्र श्रेष्ठले ‘वैदेशिक रोजगारीः केही अवधारणाहरूमाथि प्रश्न’ शीर्षकको लेखमा नेपालको श्रम आप्रवासनको परम्परा र त्यसप्रति समाजमा स्थापित कतिपय अवधारणाबारे प्रश्न गरेका छन्। उनकोे पहिलो प्रश्न नै सरकार र अर्थशास्त्रीहरूलाई छ, जसले निकै जोखिम मोलेर विदेश जाने, थोरै कमाउने र कमाएको रकम ऋण तिर्न र उपभोगमा खर्च गर्ने गरेको आक्षेप लगाउँछन्। अर्थात्, कमाइ गर्ने श्रमिक परिवारको हातमुख जोर्न र आङ ढाक्न रकम खर्च गर्छ, तर उपभोगमा सिध्याएको या आयात बढाएको दोष पाउँछ।
यस्तै, श्रेष्ठले श्रम आप्रवासनका पूँजीवादी नियमहरूका बारेमा विस्तारमा लेखेका छन्। सन् १९९० पछि सस्तो श्रम, सस्तो कच्चा पदार्थ र नवउदारवादले सिर्जना गराएको सस्तो कर प्रणालीका आधारमा विश्वको विकसित उत्तरी क्षेत्रबाट कम विकसित र आसपासमा रहेका देशहरूतिर उद्योगको स्थानान्तरण कसरी भयो भन्ने विस्तारमा चर्चा गर्दै उनले मार्क्सवादी सैद्धान्तिक आलोकमा श्रमको विश्व बजार कसरी बहुराष्ट्रिय कम्पनीको नियन्त्रणमा पुग्यो भन्ने वैचारिक अवधारणालाई व्याख्या गरेका छन्। यो लेखमा विप्रेषणको अर्थ-राजनीतिक प्रभाव सम्बन्धी परम्परागत बहसलाई फरक कोणबाट हेर्ने प्रयास गरिएको छ।
विप्रेषणले दलितहरूको सशक्तीकरणमा पारेको प्रभावबारे तुलानारायण साहले मधेशका देहातका केही उदाहरण सहित चर्चा गरेका छन्। देहातमा लामो समयदेखि भूमिपतिहरूलाई सस्तोमा श्रम आपूर्ति गरिरहेका र तिनको राजनीतिक शक्तिको दासत्वमा पिसिएका मुसहर लगायतका दलितहरूलाई विप्रेषणले कसरी सशक्तीकरण गरेको छ, र त्यसले कसरी ग्रामीण समाजको शक्ति सम्बन्धमा परिवर्तन आएको छ भन्नेबारे साहले तस्वीर देखाएका छन्।
सजना बरालले आप्रवासी महिला श्रमिकका समस्याबारे लेखेकी छन्। यसमा महिलाहरूलाई वैदेशिक रोजगारमा जान दिने या नदिने भन्ने विषयमा बदलिरहने सरकारी नीतिले महिलालाई कसरी विभेद गरेको छ भन्ने सन्दर्भसँगै वैदेशिक रोजगारीमा जाँदा महिलाले भोगेका हिंसा र शोषण, उनीहरूले परिवार र देशको अर्थतन्त्रमा पुर्याएको योगदानबारे पनि विवेचना गरिएको छ। वैदेशिक रोजगारीले परिवार र समाजमा पारेका प्रभावको विश्लेषण गर्दा पुरुष केन्द्रित मानसिकतामा आधारित रहेर स्थापित गरिएको भाष्यलाई लेखले खण्डन गरेको छ।
मैना धितालले ‘फेरिएको धर्ती नफेरिएको नियति’ शीर्षकको लेख अध्ययन तथा कामका लागि विदेशिने नेपालीहरूले भोगेका हन्डरको कथा हो। यूरोप, अमेरिका, जापान र अस्ट्रेलिया गएका नेपालीले भोगेका कठिनाइमा देखिने सपना र वास्तविकताबीचको अन्तर्विरोध केलाइएको छ।
राजाराम गौतमको लेख श्रमिकको पेशागत सुरक्षा र रोजगारीमा जाँदा अपनाइने प्रक्रियामा हुने ठगी तथा झन्झट रोक्न गरिएका नीतिगत र संस्थागत सुधारका विषयमा केन्द्रित छ। सरकारले वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी ऐन र कानूनहरूको निर्माण, दूतावासमा श्रम सहचारीको व्यवस्था, वैदेशिक रोजगार विभाग र बीमा सम्बन्धी प्रावधान लगायत व्यवस्था गर्नुका साथै वैदेशिक रोजगार व्यवसायीहरूमाथि नियमनको प्रयास पनि गर्छ। साथै, गन्तव्य मुलुकहरूसँग श्रमिकको आपूर्ति र सुरक्षा सम्बन्धी सम्झौता भए पनि श्रमिकको पेशागत सुरक्षा हुन नसकेको गौतमको निष्कर्ष छ।
आप्रवासी श्रमको साढे दुई सय वर्षको परम्परा केलाउँदै पत्रकार जनकराज सापकोटाले आप्रवासनको इतिहास र वर्तमानका अर्थ-सामाजिक प्रभाव केलाएका छन्। यसअघि नै वैदेशिक रोजगारीको अँध्यारो पक्षबारे कहर पुस्तक लेखेका उनको यो लेख आप्रवासनको विकासक्रम हेर्ने आँखीझ्याल हो।
वैदेशिक रोजगारीलाई अनेक पाटोबाट हेर्न सकिन्छः मुलुकको अर्थतन्त्रको टेको, वैदेशिक व्यापार सन्तुलनमा योगदान, देशभित्रको कृषि र उद्योगमा श्रमको अभाव, राष्ट्रिय उत्पादकत्व वृद्धिमा परेको नकारात्मक प्रभाव, परिवारको आर्थिक व्यवस्थापन, पालनपोषण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच वृद्धि, पारिवारिक विखण्डन या युवा उमेरका पतिपत्नीमा देखिएको मनोवैज्ञानिक समस्या, बाबु या आमा विना हुर्कंदै गरेका सन्तान। त्यसैले वैदेशिक रोजगारीका बारेमा एउटै आयामबाट निष्कर्ष निकाल्न सकिन्न। यसका विविध आयाम हेर्न यो पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ।
पुस्तक: परदेशको पसिना: वैदेशिक रोजगारीका अर्थ-सामाजिक आयाम,
सम्पादक: यज्ञश, प्रकाशक: किताब पब्लिसर्स, पृष्ठ: ३४४, मूल्य: रु.५२०/-