विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौं: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह राखेर शैक्षिक वातावरण खलबलाउन नहुने बताएका छन्।
भूकम्पले क्षतिग्रस्त बनाएको शङ्करदेव क्याम्पसको पुनःनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संवादबाट त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताए। “त्रिभुवन विश्वविद्यालयमा रहेको समस्या संवादका माध्यमबाट समाधान गरिनुपर्छ, तालाबन्दीले समस्या समाधान हुँदैन, विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौँ,” प्रधानमन्त्री देउवाले भने।
दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताए। नवनिर्मित भवनले विद्यार्थीको चाप थेग्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भवन पुनःनिर्मााणका लागि पूर्वविद्यार्थी समाजले गरेको सहयोगको प्रशंसा पनि गरे।
क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पुर्याएका छन् भन्दै उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।
शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षामा यस क्याम्पसले इज्जत जोगाएको बताए। त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउन सबै क्याम्पस प्रमुख र विश्वविद्यालयका पदाधिकारीसँग हालै मन्त्रालयमा छलफल गरिएको र यस्ता प्रयासलाई जारी राख्ने उनको भनाइ थियो।
क्याम्पस प्रमुख प्रा. केशवराज जोशीले तोकिएको कोटाभन्दा ३० गुणाबढी विद्यार्थी पढ्न आउने गरेकाले ठाउँको अभाव हुने गरेको बताए। थप भवन बनाउने ठाउँ पाए पढ्न आउने सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने उनको भनाइ थियो। अहिले क्याम्पसमा १० हजार विद्यार्थी अध्ययन गरिरहका छन्।