इमान्दार र भरोसायोग्य उम्मेदवार छनोट गर्न नागरिक अगुवाको आग्रह
आगामी निर्वाचनका लागि इमान्दार र भरोसायोग्य उम्मेदवार छनोट गर्न नागरिक समाजका अगुवाले राजनीतिक दललाई आग्रह गरेका छन्।
शुक्रबार समाजका ११ जना अगुवाले संयुक्त विज्ञप्ति जारी गरी आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ध्यान दिन राजनीतिक दललाई आग्रह गरेका छन्। उनीहरूले भनेका छन्, “उम्मेदवार छनोटको सम्मुखमा रहेका दलहरूले मापदण्ड बनाई एक्काईसौं शताब्दीको चुनौतीलाई सामना गर्न सक्षम, इमान्दार र भरोसायोग्य उम्मेदवार छनोट गर्न हाम्रो आग्रह छ।”
उनीहरूले संसद्लाई बलियो बनाउन त्यसमा प्रतिनिधित्व गर्ने व्यक्तिको शाख, योग्यता, क्षमता, कार्यकुशलता, दृष्टिकोण र विज्ञता जस्ता विषयले प्रभाव पार्ने कुरा स्मरण गराएका छन्।