प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र तोकेरै सीट बाँडफाँट हुन्छः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा क्षेत्र तोकेरै सीट बाँडफाँट हुने बताएका छन्।
गठबन्धनभित्र कुनै असहमति नभएको बताउँदै छिटै सीट बाँडफाँटको अन्तिम टुङ्गो लाग्ने उनको भनाइ छ। दाहाल माओवादी केन्द्र कर्णाली प्रदेश समितिले सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि सुर्खेत पुगेका छन्।
“यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ‚” पत्रकार सम्मेलनमा दाहालले भने‚ “तर नेकपा (एमाले) सँग तालमेलको कुनै सम्भावना छैन। सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौं।”
दाहालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताए। यस्तै‚ नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको र निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको बताए। -रासस