मरिणमा माओवादीबाट एमाले प्रवेशको सङ्केत
सिन्धुलीको मरिणमा माओवादी केन्द्रीय सदस्य सहितको टोली एमाले प्रवेश गर्नुलाई बागमतीसँगै मधेश प्रदेशमा पनि असर पर्ने आकलन गर्न थालिएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणापछि देशैभरि एक पार्टीबाट अर्काे पार्टीमा नेता तथा कार्यकर्ता अदलबदल भइरहेका समाचारको बाढी नै आइरहेको छ। सिन्धुलीको मरिणमा भदौ १५ गते नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मिथिला फुयाँल, सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल, जिल्ला सदस्य युवराज श्रेष्ठ र मरिण गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकी सहित नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेशलाई पनि त्यस्तै एउटा समाचारका रूपमा लिएँ। तर, नजिकबाट जान्नेहरू भने यसलाई माओवादीमा आउन लागेको ठूलो पहिरोका रूपमा अर्थ्याउँछन्।
फुयाँल, पौडेल र बुढाथोकीको समूह तत्कालीन नेकपा चौथो महाधिवेशनका नेता निर्मल लामा, त्यसपछि निर्मित एकता केन्द्र र अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग निरन्तर नजिक थियो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल समूहले ‘बन्दूक बोक्ने र नबोक्ने’ भन्दै हरेक अवसरमा आफूहरूलाई अवहेलना गरेको महसूस गरिरहेको यो समूहले श्रेष्ठ, नेता लीलामणि पोखरेल लगायतसँग यस्तै व्यवहार रहे पार्टीमा बस्न नसकिने गुनासो धेरै पटक गरेको थियो।
तर, सुनुवाइ नभएपछि श्रेष्ठसँगको लामो निकटता छाडेर एमालेमा समाहित भएको उनीहरू बताउँछन्। “बन्दुक बोक्नेहरूको पेलाइले हामीलाई एमालेमा समाहित हुन बाध्य बनायो। नेकपाको निरन्तरताका रूपमा हामी एमालेमा समाहित भएका हौं,” कार्यक्रममा रामकुमार पौडेलको भनाइ थियो।
नेकपा निरन्तरताको मनोविज्ञान
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा आएको विभाजन तथा सर्वाेच्च अदालतले एमाले र माओवादीलाई छुट्याएपछि पनि ओली पक्षले नेकपाको निरन्तरताको मनोविज्ञानलाई आफ्नो पक्षमा पार्ने निरन्तर प्रयास गरेको थियो। भदौ १५ गते मरिणमा भएको ‘पुनर्मिलन’ कार्यक्रमका प्रमुख वक्ता एमाले महासचिव शंकर पोखरेलले नेकपा विभाजनपछि बनेका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमध्ये एमालेमा मात्रै नेकपाको निरन्तरता देख्न पाइने तर्क राखेका थिए।
केन्द्रीय नेतृत्वमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट सहितलाई राखेर मात्रै होइन, पहिले ‘जनयुद्ध’ लाई हिंसात्मक गतिविधि मात्रै भन्ने गरेको एमालेले अहिले मुलुकको राजनीतिक परिवर्तन गर्ने आन्दोलनमा ‘जनयुद्ध’ लाई पनि समावेश गरेर ‘नेकपा निरन्तरता’को मनोविज्ञानलाई आफ्नो पक्षमा पार्न खोजेको छ। एमालेले माओवादी केन्द्रबाट आउनेहरूलाई नेकपाका वेला रहेको जिम्मेवारीमै राख्ने व्यवस्था गरेर नेता तथा कार्यकर्ताको व्यवस्थापनमा आउन सक्ने समस्याको पनि समाधान निकालेको छ। माओवादी केन्द्रबाट अहिले एमालेमा नेता तथा कार्यकर्ता प्रवेश गर्ने लहर चल्नुमा यो पनि एउटा महत्त्वपूर्ण कारण रहेको देखिन्छ।
सिन्धुलीमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पक्षीय नेता तथा कार्यकर्ताको एमाले प्रवेशले बागमती र मधेश प्रदेशमा रहेको श्रेष्ठ निकट समूहलाई प्रभावित पार्ने देखिन्छ। फुयाँल र पौडेल समूहले माओवादी केन्द्रमा आफूहरू अवहेलित महसूस गरेपछि बागमती र मधेश प्रदेशका आफू निकटहरूसँग छुट्टै पार्टी निर्माण गर्ने योजना बनाएर राजनीतिक दस्तावेज पनि तयार पारिसकेको थियो।
त्यस क्रममा उनीहरूले एउटा खुकुलो प्रकारको संयोजन समिति पनि निर्माण गरेका थिए। तर, नेता श्रेष्ठ माओवादी केन्द्रबाट फुटेर नेतृत्व लिन तयार नभएपछि उनीहरूले अरू जिल्लाका सहकर्मीसँग छुट्टै पार्टी बनाउनुभन्दा एमालेमा समाहित हुने विकल्प रोजे। “अन्य जिल्लाका साथीहरूले सल्लाह गर्न अझै समय चाहिने बताउनुभयो। हामीले नपर्खेका हौं,” पौडेल भन्छन्।
नेकपा विभाजनपछि एमाले नेतृत्वले महत्त्वाकांक्षा व्यवस्थापन गर्न कठिन हुने प्रमुख नेताहरूलाई भन्दा दोस्रो तहका नेता तथा कार्यकर्तालाई समावेश गराउने नीति लिएको छ। त्यस्तै, माओवादी केन्द्रमा अध्यक्ष दाहालको एकल संगठन सञ्चालन गर्ने कार्यशैलीले नेता-कार्यकर्तामा आफ्नो राजनीतिक भविष्य अलपत्र पर्ने मनोविज्ञान निर्माण भएको छ। योसँगै ‘जनयुद्ध’ शुरू गर्नुअघि ४० बुँदे ज्ञापनपत्र बुझाउँदाका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सरकारको नेतृत्व सुम्पेर तथा चुनावमा पनि उनलाई नै अगुवा मानेर गठबन्धन अघि बढाउने कार्यले माओवादी केन्द्रका नेता-कार्यकर्ताको एउटा पंक्तिलाई निराश बनाएको तथा आफ्नो पार्टीको भविष्यप्रति विश्वास टुट्दै गएको देखिन्छ।
मरिणको कार्यक्रममा एमाले महासचिव पोखरेलले ‘१७ हजारको बलिदान देउवालाई प्रधानमन्त्री बनाउनका लागि थियो त’ भन्दै माओवादी नेतृत्वप्रति प्रश्न उठाए। पोखरेलले पछिल्ला कार्यक्रममा कांग्रेस र शेरबहादुरलाई अगुवा मानेर समाजवाद ल्याउन नसकिने तथा कांग्रेसको नेतृत्वमा चुनाव लड्दै समाजवाद ल्याउँछु भन्नु बेइमानी भएको बताउँदै आएका छन्। त्यस्तै, एमाले अध्यक्ष ओलीले पनि यही प्रश्न उठाउँदै माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका कार्यकर्तालाई उद्वेलित र नेतृत्वप्रति आक्रोशित पार्ने प्रयास गरिरहेका छन्।
एमाले नेताहरूका यी प्रश्नहरूले तथा माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको कांग्रेस नेतृत्वको गठबन्धन नभई हलचल गर्न नसक्ने स्वीकारोक्तिले वाम जनमतलाई एमालेतर्फ आकर्षित गर्दै लगेको एमाले नेताहरूको बुझाइ छ। केही जिल्लामा त्यस्तो देखिएको पनि छ। निर्वाचन नजिकिंदै जाँदा यो क्रम अझ तीव्र हुने तथा त्यसले स्थानीय निर्वाचनभन्दा प्रदेश र संघको निर्वाचनमा फरक परिणाम ल्याउने एमाले नेतृत्वको विश्वास छ।
ओलीप्रति एमालेको विश्वास
स्थानीय चुनाव स्थानीय मुद्दा र स्थानीय उम्मेदवारलाई अघि सारेर लडिने तथा संघ र प्रदेशको निर्वाचन राष्ट्रिय मुद्दा र प्रधानमन्त्रीको उम्मेदवारका आधारमा लडिने हो। मंसीर ४ मा हुन लागेको संघ र प्रदेशको निर्वाचनको नतीजा स्थानीय चुनावभन्दा फरक आउने विश्वास एमाले नेताहरूको छ। त्यसैले भदौ १० र ११ गते काठमाडौंमा भएको केन्द्रीय कमिटीको बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारमा पार्टी अध्यक्ष ओलीलाई अघि सारेको हो।
कांग्रेसका सभापति देउवा र माओवादी अध्यक्ष दाहालभन्दा हिजो दुई पटक प्रधानमन्त्री हुँदा गरेका काम र भविष्यको बाटोबारे स्पष्ट दृष्टिकोण भएकाले अध्यक्ष ओलीले बढी मत बटुल्न सक्ने एमाले नेतृत्वको बुझाइ छ। जातीय संघीयता बन्नबाट रोक्ने सफलता पाएको, भारतीय नाकाबन्दीलाई डटेर असफल बनाएको, चीनसँग पारवहन तथा व्यापार सम्झौता गरेर समुद्री मार्गमा भारतीय निर्भरता हटाएको, लिपुलेक–लिम्पियाधुरा–कालापानी समावेश नक्शा निकालेको जस्ता विषयले मतदातालाई प्रभावित पार्नेमा एमाले नेताहरू ढुक्क छन्।
यससँगै एमसीसी सम्झौता गरेर दाहाल र नेपाल बदनाम भएको, एसपीपी सम्झौता गर्ने प्रयासले देउवा सहित गठबन्धनको छवि बिगारेको तथा नागरिकता विधेयकले गठबन्धनलाई झनै कमजोर बनाएको उनीहरूको विश्वास छ। यस्तो वेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा देउवा र दाहाल ओलीका अघि कमजोर देखिने एमाले नेतृत्वको बुझाइ छ।
यता, माधव तथा झलनाथ खनाल समूह फुटेर पाँच दलीय गठबन्धनसँग लड्दा पनि सबैभन्दा बढी लोकप्रिय मत पाउँदै स्थानीय तहमा दोस्रो स्थान ल्याउन सक्नुले केही मत बढाउने हो भने गठबन्धनलाई पराजित गर्न सकिने विश्वास एमाले नेतृत्वको छ। स्थानीय तह चुनावमा पनि ५०० भन्दा कम मतान्तरमा ९२ पालिकाको प्रमुखमा पराजित भएकाले ६ प्रतिशत मत थप्न सक्दा गठबन्धन विरुद्ध बहुमत जुटाउन सकिने एमाले केन्द्रीय कमिटी बैठकले निष्कर्ष निकालेको छ। त्यसैले एमालेको अहिले सम्पूर्ण ध्यान पुरानो मत संरक्षण गर्दै ६ प्रतिशत मत थप्न कार्यकर्तालाई विशेष जिम्मेवारी दिने तथा यसै गरी अन्य पार्टीबाट नेता-कार्यकर्ता प्रवेश गराउनेमा छ।
यस्तो अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता-कार्यकर्तामा देखिएको निराशाले एमालेलाई सहयोग पुर्याउँदै छ। सिन्धुलीको मरिणमा भएको कार्यक्रमबाट एमालेमा समाहित भएका नेता रामकुमार पौडेल र एमाले महासचिव पोखरेलले उस्तै शब्दमा भने, ‘यो घटना अन्त्य नभएर शुरूआत मात्र हो, बलियो कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया यसपछि अरू तीव्र हुनेछ।’
(देवकोटा एमाले केन्द्रीय सदस्य हुन्।)