यसरी गरिंदै छ बञ्चरेडाँडामा फोहोर व्यवस्थापन (भिडिओ)
झण्डै दुई महीनाको विवादपछि स्थानीय बासिन्दासँग भएको सहमतिसँगै काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा बञ्चरेडाँडामा व्यवस्थापन हुन थालेको छ।
काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले भदौ १ गते स्थानीय बासिन्दासँग सहमति गरेका थिए। त्यसयता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कुनै समस्या नभएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। उनका अनुसार, अहिले दैनिक करीब २७५ ट्रकले उपत्यकाको फोहोर बञ्चरेडाँडा लग्ने गरेका छन्।
उपत्यकाका सडकमा थुप्रिएको फोहोर लगभग उठाइसकिएको छ। केही दिनभित्रै सबै ठाउँको फोहोर उठिसक्ने उनको भनाइ छ।
झण्डै डेढ दशक फोहोर व्यवस्थापन गरिंदै आएको ल्यान्डफिल साइट सिसडोल भरिएपछि बञ्चरेडाँडा प्रयोगमा आएको हो। नयाँ ल्यान्डफिल साइट बञ्चरेडाँडामा भने व्यवस्थित रूपमा फोहोर व्यवस्थापन हुँदै आएको महानगरले जनाएको छ।